|
फाइल फोटो ।

बैतडी : भारतसँग सीमा जोडिएका बैतडीका घाटहरू अझै खुल्न सकेका छैनन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै तल्लोस्वराडमा महाकाली नदीका घाटहरू गत चैतदेखि नै बन्द गरिएका थिए।

शिवनाथ गाउँपालिकाको नागार्जुन, कुस्मौद तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट अहिलेसम्म सञ्‍चालनमा ल्याइएको छैन।

घाट बन्द हुँदा २ दिन लगाएर झुलाघाट नाका हुँदै भारत जानुपर्ने बाध्यता कायम छ। यसका साथै दैनिक उपभोग्य सामान समेत महंगो खरिद गर्नुपरेको स्थानीय वीरेन्द्र महताले बताए। घाटहरू खुल्ला रहँदा भारतबाट सामान आउने गरेको भएपनि हाल भारतबाट आउन छोडेको हो। उनले भने, ‘भारतबाट ल्याइएको सामान सस्तो हुने गर्दथ्यो, हाल महंगोमा किन्नुपरेको छ।’

घाटहरू नखुल्दा आवत-जावतमा समेत समस्या भएको छ। भारत आउजाउ गर्न तल्लोस्वराडबासीले डुंगाको सहायता लिई महाकाली नदी तर्ने गरेका छन्‌।

डुंगामार्फत भारत ओहोरदोहोर गर्नका लागि महाकाली नदीमा निश्चित स्थान तोकिएका थिए। ती स्थानहरूमा हाल डुंगा चल्न छोडेका हुन्।

उपभोग्य सामानका लागि भारतकै भरमा रहेको स्थानीय बासिन्दा हाल समस्यामा परेका हुन्। हालै मात्रै तल्लोस्वराडमा सडक सञ्जाल विस्तार भएकोले नेपालबाट लगिएको महंगोमा सामान पुग्ने गरेको छ।

स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाटहरू खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइन्। उनले भनिन्, ‘घाटहरू खोल्न विषय अन्तरराष्ट्रिय मामिला भएकोले स्थानीय सरकारले खोल्न सक्दैन्, हामीले संघीय सरकारलाई आग्रह गरेका छौं’

घाटहरू खोल्न सरकारले नै निर्णय गर्नुपर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनले भने, ‘ हामीले घाट खोल्न लागि सरकारलाई लिखित रुपमा पठाइसकेका छौं, यस विषयमा सरकारले कुनैपनि निर्णय गरेको छैन।’

यसका साथै उनले ती घाटहरू वैधानिक नभएको समेत बताएका छन्‌। उनले भने, ‘स्थानीय तहहरूले सजिलोको लागि घाटहरू सञ्चालनमा ल्याएका हुन्, तर यी घाटहरू वैधानिक भने होइनन्।’

वैधानिक नभएपनि पुनः सञ्चालनका लागि सरकारले नै निर्णय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामात्रै हाल सञ्चालनमा रहेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सरकारले गत चैतदेखि अन्तरराष्ट्रिय नाका बन्द गरेको थियो।

सरकारले गत माघ महिनादेखि अन्तरराष्ट्रिय नाका सञ्चालन गर्ने निर्णय गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.