|

चितवन : खैरहनी नगरपालिका वडा नं १ की ६८ वर्षीय महिला गएको साउन १३ गते आफ्नी छोरीलाई भेटेर घर फर्किदै थिइन्।

खैरहनी–८ मा बस्ने छोरीलाई भेटेर पैदल हिँड्दै घर फर्किने क्रममा खैरहनी–६, खैरहनी चोकमा साइकलमा आएका झ्याउरा भन्ने रामजी महतोले वृद्धा महिलालाई घरसम्म पुर्‍याइदिने आश्वासन दिए।

चिनेजानेकै भएपनि शुरूमा ती वृद्धा साइकलमा बस्न मानिनन्। त्यतिबेला साँझको ८ बजेर ५० मिनेट गएको थियो। महतोले कहर गरेपछि साइकलको पछाडि महिला बसिन्।

महिला साइकलमा बसिसकेपछि महतोले उनलाई घर पुर्‍याउनुको साटो अन्यत्रै लगे। महिलाले 'मेरो घर यता होइन रोक्नुस्' भन्दा महतोले झन् तीव्र गतिमा साइकल हुइँक्याए।

​रातिको करिब ९ बजेतिर खैरहनी–६ स्थित राममणि उप्रेती भन्ने व्यक्तिको खेतको छेउमा पुगेपछि ती महिला साइकलबाट झरेर भाग्न खोजिन्। भाग्न खोज्दा महतोले ती महिलालाई काँधमा बोकेर खेततर्फ लगे। 

त्यसपछि महिलाले चिच्याउँदै हारगुहार गर्न खोजिन्। उत्तिखेरै महतोले महिलाको मुख सलले बेरे, अनि फेरि काँधमा बोकेर हिँडे। खेतमा लडाएर महतोले महिलाको कपडा खोले र आफ्नो पनि खोलेर बलात्कार प्रयास गरे।

महिलाले पुनः ठूलो स्वरमा चिच्याएर गुहार मागेपछि नजिक भएका मान्छेहरू आए। मान्छे आएको भेउ पाएपछि महतो त्यहाँबाट फरार भए। सोही दिन महतोलाई पक्राउ गर्न प्रहरी सफल भयो।

यो घटनाक्रम जिल्ला अदालतमा पीडित महिलाले दिएको बयानमा उल्लेख छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टमा महिलाको योनीको स्वाब परिक्षण गर्दा योनिमा शुक्रकीट फेला नपरेको उल्लेख छ। त्यस्तै, पीडित महिलाले पीडकले बलात्कार गर्न खोजेको भनि चिकित्सकलाई दिएको बयानका आभारमा पीडक महतोलाई जिल्ला अदालतले साढे तीन वर्ष कैद सजाय हुने फैसला गरेको छ।

अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीले महतोलाई साढे तीन वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने मंगलबार फैसला भएको अदालतका शाखा अधिकृत नवराज सिम्खडाले जानकारी दिए। ‘पीडितले जबरजस्ती करणी सम्बन्धि मुद्धा दायर गरेको भएपनि आंशिक अभियोग दाबी पुगेकाले पीडकलाई जबरजस्ती करणी उद्योगमा कारबाही गर्न फैसला भएको छ’, उनले भने।

त्यस्तै, पीडित राहत कोषमा ८०० रुपैयाँ भुक्तानी गर्न पनि आदेश भएको उनले बताए। कुनै घटनामा पीडकबाट क्षतिपुर्ति भराउन सक्ने स्थिति नरहेको अवस्थामा पीडितलाई यहि कोषबाट क्षतिपुर्ति दिने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.