२०७९ बाट मात्रै नियमित

|

काठमाडौं : कोभिड-१९ कहरका कारण चैत ११ गतेदेखि देशमा लकडाउन भयो। जसले गर्दा करिब ९ महिना शैक्षिक गतिविधिका क्रियाकलाप सबै ठप्प भए। कोभिडकै कारण विद्यार्थीको पढाइ प्रभावित भयो भने, शैक्षिक सत्रसमेत बिथोलियो।

तर, सरकारले शैक्षिक सत्रलाई व्यवस्थित पार्न पहलकदमी चालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार यस वर्षको शैक्षिक सत्रलाई लम्ब्याइएको छ। वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएकाे छ। 

कोभिड-१९ का कारण यसरी शैक्षिक सत्र व्यवस्थापन गरिएको केन्द्रका निर्देशक पौडेलले बताए। ‘कोभिडका कारण पढाइसँगै शैक्षिक सत्रमाथि समेत धेरै क्षति पुग्यो,’ उनले भने, ‘त्यसैले शैक्षिक सत्रको मोडालिटी परिवर्तन गर्नुपर्ने अवस्था आयो।’

२०७८ सालको शैक्षिक सत्र १० महिनामात्रै

२०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरिएको उनले जानकारी दिए। उनका अनुसार २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तमा सकिने छ। 

१० महिनाभित्रमा पाठ्यक्रम अनुसारको पढाइ सकिन्छ भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘२०७९ को शैक्षिक सत्रलाई व्यवस्थित गर्न १० महिना तोकिएको हो। यहीँभित्र कसरी पाठ्यक्रम सकाउने भन्ने विषयमा हामी छलफल गरेर शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै जानकारी गराउँछौँ।’ विभिन्न बिदाहरुलाई समेत कटौती गर्न सकिने उनको भनाइ छ। 

उनले थपे, 'यही शैक्षिक सत्र निजी स्कुलमा पनि लागु हुने जानकारी दिए। उनले भने, ‘हामीले शैक्षिक सत्र सरकारी विद्यालयका लागि मात्रै बनाएको होइन। निजीलगायत सबैका लागि हो’ 

२०७९ बाट भने १२ महिना नै शैक्षिक सत्र कायम हुने

आगामी २०७८ सालको शैक्षिक सत्र चैत मसान्तमा पूरा भएपछि २०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट सुरु भई १२ महिना नै कायम गरिने छ। 

‘२०७९ बाट पुरानै शैलीमा शैक्षिक सत्र फर्किने छ,’ पाैडेलले भने, ‘यसैका लागि शैक्षिक सत्र घटाइएको हो। यसरी नै हामी कोरोनाले असर पुर्‍याएकाे पढाइ र शैक्षिक सत्रलाई व्यवस्थित गर्दै जाने छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.