सेवाभन्दा पनि नाफाको स्वार्थ, बी एण्ड सीको सम्बन्धनको पनि विरोध सुरु

|

काठमाडौं : नेपालका विभिन्न स्थानमा राजनीतिक हस्तक्षेप हुने गरेको छ। शिक्षा‚ स्वास्थ्य‚ खेलकुद‚ विकास निर्माण सबै क्षेत्र राजनीतिक हस्तक्षेपबाट ग्रसित छ। हस्तक्षेपको विरोध भए पनि त्यसको सुनुवाइ कमै हुने गरेको छ।

स्वास्थ्य क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप र यस क्षेत्रको सुधारका लागि डा. गोविन्द केसी पटक-पटक अनशन बस्दै आएका छन्। उनले स्वास्थ्‍य क्षेत्रको सुधार गरी सबैको पहुँच पुर्‍याउन माग गर्दै आएका छन्। यस्तै मेडिकल कलेजको सम्बन्धनलाई पनि मुद्दा बनाउने गरेका छन्

मेडिकल कलेजलाई नयाँ सम्बन्धनको विरोध हुँदै आएको छ भने सञ्चालनमा रहेका मेडिकल कलेजहरुले मनोमानी गरेको पनि गुनासो यत्रतत्र छ। जसका कारण ठूलो रकम खर्चेर विद्यार्थीहरू चिकित्साशास्त्र अध्ययन गर्न विदेश गइरहेका छन्।

फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौं विश्वविद्यालयको कार्यकारिणी सभा (सिनेट)ले दुर्गा प्रसाईंको झापाको बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सरकारले ठाडो निर्देशनमा उक्त निर्णय भएको भन्दै काठमाडौं विश्वविद्यालयका पूर्व-उपकुलपतिहरूले विरोध जनाएका छन्।

चिकित्सा शिक्षा सम्बन्धन कसरी

कुनै पनि मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययन गराउन चिकित्सा शिक्षा अध्यापन गराइरहेका विभिन्न विश्वविद्यालयबाट अनुमति लिनुपर्ने हुन्छ।

नेपालमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले मात्र चिकित्सा शास्त्र अध्ययन गराउँदै आएका छन्। एउटा विश्वविद्यालयले पाँचवटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने व्यवस्था छ।

तर, हालसम्म दुवै विश्वविद्यालयले १० वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका छन्। एउटा विश्वविद्यालले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिँदा विद्यार्थीलाई दिने गुणस्तरको अनुगमन गर्न नसक्ने जानकारहरू बताउँछन्।

निजी क्षेत्रबाट सञ्चालित मेडिकल  कलेज सेवाभन्दा पनि नाफा आर्जन गर्न खोलिएकाले चिकित्सा शिक्षाको गुणस्तरमा कमी हुने गरेको काठमाडौं विश्वविद्यालयका पूर्व-उपकुलपति केदारभक्त माथेमा बताउँछन्। विश्वविद्यालयले सम्बन्धन दिँदा आर्थिक चलखेल हुने उनको दाबी छ। त्यसैले  त्यसको विरोध हुने गरेको माथेमा बताउँछन्।

पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वाविद्यालयलाई पनि चिकित्सा शिक्षाको अध्ययनका लागि कार्यक्रम दिनुपर्ने उनको सुझाव छ। ती दुई विश्वविद्यालयबाट मेडिकल शिक्षाको कार्यक्रम दिँदा अन्य कलेजलाई सम्बन्धन सजिलो हुने माथेमा बताउँछन्।

कुन विश्वविद्यालयबाट कति सम्बन्धन?

नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय मातहत एक आंगिक क्याम्पस र नौवटा निजी कलेज सञ्चालनमा छन्।

आंगिक क्याम्पसको रूपमा काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रहेको छ। प्राइभेटतर्फ सातवटा  (सेनाको सहित) रहेका छन्। डेन्टल मात्र पढाउने कलेज  दुईवटा रहेका छन्। तीमध्ये २० वर्ष पुराना दुई‚ १५ वर्ष पुराना दुई र १० वर्ष पुराना आठवटा छन्। 

काठमाडौं विश्वविद्यालयले सन् १९९४ मा पहिलोपटक पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई सम्बन्धन दिएको हो। यस विश्वविद्यालयको आंगिक कलेजसहित ११ वटा मेडिकल कलेज सञ्चालनमा छन्। जसमा १० वटा निजीस्तरमा सञ्चालन छन्।

यस विद्यालयको आंगिक क्याम्पस काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको स्कुल अफ मेडिकल साइन्सेज हो। प्राइभेट मेडिकल कलेज सात र विस्तारित दुई समेत गरी नौवटा रहेका छन्। डेन्टल मात्र पढाउने कलेज  एउटा रहेको छ। यस विश्वविद्यालयबाट सम्बन्धन पाउने २० वर्ष पुराना पाँच‚ १५ वर्ष पुराना पाँच‚ १० वर्ष पुराना नौवटा छन्।

यी दुवै विश्वविद्यालयबाट सम्‍बन्धन पाउने २० वर्ष पुराना सातवटा मेडिकल रहेका रहेका छन्। यस्तै‚ १५ वर्ष पुराना  सात‚ १० वर्ष पुराना   १७  वटा रहेका छन्। सञ्चालन भइरहेका मेडिकल कलेजहरू २१ र प्रतिष्ठान तीनवटा छन्।

तीमध्ये सरकारी चारवटा रहेका (महाराजगन्ज, न्याम्स वीर अस्पताल, पाटन र धरान) रहेका छन्। न्याम्स वीर अस्पतालले एमडी मात्र अध्यापन गराउँदै आएको छ। प्राइभेट मेडिकल कलेज २० वटा रहेका छन्। तीमध्ये एमबिबिएस मात्र पढाउने १७ वटा र बिडिएस मात्र पढाउने तीन‚ एमबिबिएस र बिडिएस दुवै वटा छन्।

बिडिएस मात्र पढाइने कलेजहरूमा काठमाडौं उपत्यकाभित्र त्रिविका चार (महाराजगन्ज, किष्ट, सेना र पिपुल्स डेन्टल) रहेका छन्। यस्तै‚ काठमाडौं विश्वविद्यालयको चार वटा (केएमसी सिनामंगल, एनएमसी अत्तर खेल जोरपाटी, कान्तिपुर डेन्टल कलेज, धापासी र आंगिक धुलिखेल) तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत गरी राजधानी आसपासमा नौवटा मेडिकल कलेज सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.