ओली बहुमतमा रहेकाले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नआउने तर्क

|

रुकुमपूर्व : नेकपा ओली समूहका स्थायी कमिटी सदस्य केशव बडालले संसदबाट अविश्वासका प्रस्ताव पारित भएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन्।

बिहीबार रुकुम पश्चिम जिल्ला पार्टी कमिटीले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा नेता बडालले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर हुँदैमा नैतिकताको प्रश्न नउठ्ने तर्क गरे।

संसद्मा पहिला दर्ता भएको अविश्वासको प्रस्ताव अघि बढ्ने वा अर्को दर्ता हुने अथवा दर्ता नै नहुने पनि हुन सक्ने भन्दै उनले अविश्वासको प्रस्ताव आइहाले पनि कांग्रेसबेगर पास नहुने ठोकुवा गरे।

अविश्वासको प्रस्ताव पास नभए एक वर्षभित्र अर्को प्रस्ताव लिन नपाइने प्रावधान रहेकाले केपी ओली नेतृत्वकै सरकार अघि बढ्ने उनले बताए। प्रधानमन्त्रीले संसदबाटै यो प्रतिनिधिसभा विघटन गर्नुका कारणबारे प्रस्ट जवाफ दिने बडालको भनाइ छ।

संसदीय दलमा केपी ओली बहुमतमा रहेको दाबी गरेका बडालले सकेसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नआउने बताए। कानुनी रुपमा पार्टी एउटै हुनु र व्यवहारमा फरक हुनका कारण संसदमा असजिलो हुन सक्ने भनाइ उनको छ।

फरक प्रसंगमा उनले पदको लोलुपताका कारण पार्टीमा समस्या आएको बताए। अध्यक्ष र प्रधानमन्त्री चाहेकाहरुले प्रक्रिया पूरा नगरेरै त्यो पदमा पुग्न प्रयास गरेपछि समस्या आउनु स्वाभाविक भएको बडालको भनाइ छ। विधि, पद्धति मिचेर माथि पुग्न लागेकाहरुलाई पार्टीको विधि र पद्धतिले रोकेको उनले बताए।

जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्नेहरु केपी ओली नेतृत्वको पार्टीमै रहेको भन्दै बडालले त्यसका विरोधीहरु मात्रै अर्कातिर लागेको बताए। पार्टीको अवस्था बिग्रनुमा वामदेव गौतमको पनि मुख्य हात रहेको आरोप बडालले लगाएका छन्। पार्टीभित्र बहुमत र अल्पमतको खेल खेलाउने मुख्य भूमिका गौतमको रहेको उनले आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.