|

रुकुम पूर्व : पानी नभएको गाउँमा स्थानीय सरकारले विद्युतीय घट्ट निर्माणका लागि अनुदान दिएको छ। भूमे र सिस्ने गाउँपालिकाले पानी नभएको गाउँका लागि विद्युतीय घट्ट सञ्चालनका लागि अनुदान दिएको हो।

यी दुई गाउँपालिकाका अधिकांश बस्तीहरु उच्च स्थानमा छन्। पानीको अभाव भएकाले अन्न कुटापनी पिसानी गर्न बोकेर टाढाका घट्टामा लानुपर्ने बाध्यता रहेको छ। नागरिकको उक्त समस्यालाई मध्यनजर गरी भूमे र सिस्ने गाउँपालिकाले विद्युत् पहुँचमा रहेका ठाउँमा विद्युतीय घट्ट निर्माणका लागि अनुदान उपलब्ध गराएको छ। 

सिस्ने–२ दत्कुनामा हालै मात्र गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदानबाट सामुदायिक विद्युतीय घट्ट निर्माण गरिएको छ। यसअघि स्थानीयहरू घट्ट जान दिनभरको समय खर्चिन बाध्य थिए। सर्वसाधारणको सजिलोका लागि घट्ट बनाइएको वडाध्यक्ष जीवन केसीले बताए। बेँसी क्षेत्र नायगाडमा रहेका घट्टमा पुगेर पालो कुर्ने र फर्कँदा दिनभर लागे पनि अब सजिलो भएको वडाध्यक्ष केसीले बताए।

घट्टमा अन्न पिसानी गरे बापत प्रतिपाथी १० रुपैयाँ लिने गरिएको छ। त्यसको रेखदेख तथा व्यवस्थापनका लागि एक जना मान्छे राखिएको छ। दैनिक बिहान ११ देखि ३ बजेसम्म मात्रै घट्ट सञ्चालन गर्ने गरिएको छ। यस अवधिमा २ देखि ३ मुरीसम्म अन्न पिसानी हुन्छ।

भूमे–३ क्याङ्सीका एक युवा हिराबहादुर रोका मगर विद्युतीय घट्ट सञ्चालनबाट व्यावसायिक बन्दै छन्। उनले गत आर्थिक वर्ष गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा विद्युतीय घट्ट क्याङ्सीमा निर्माण गरेका हुन्। 

रोकाले मात्र नई गत आर्थिक वर्षमा भूमे–६ महतमा पनि एक युवाले गाउँपालिकाको ५० प्रतिशत अनुदानबाटै विद्युतीय घट्ट निर्माण गरेका छन्। 

सबै सिस्टम तथा अनाज पिस्ने सामग्री पानी घट्टकैभए त्यसलाई विद्युतबाट खलाइने रोकाले बताए। विद्युत खपत बापत मासिक दुई हजार ८०० रुपैयाँसम्म विद्युत् बिल आउने गरेकोमा मासिक १८/१९ हजार रुपैयाँ आम्दानी भइरहेको रोकाले जानकारी दिए। ६०÷७० घरधुरी रहेको क्याङ्सी गाउँका स्थानीय यसअघि अन्न पिसानी गर्न टाढा धाउन बाध्य थिए। 

गत आर्थिक वर्षमा गाउँपालिकाको कृषि शाखामा दुईवटा विद्युतीय घट्ट माग आएकोमा यस आर्थिक वर्ष पाँचवटा माग आएको कृषि शाखाका नाप्रास विशाल पुन मगरले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.