|

कञ्चनपुर : बेलौरी नगरपालिका–७ टेडुवामा भारतीय लागुऔषधका तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा मृत्यु हुनेको पहिचान खुलेको छ। ती व्यक्ति भारतको उत्तर प्रदेशको पिलिभित थाना हजारा गाव राघवपुरी टिल्ला नम्बर ४ का २६ वर्षीय गोविन्द सिंहको रहेको प्रहरीले जनाएको छ।

बिहीवार साँझ ६ बजे सीमा स्तम्भ नम्बर ३८ र ४२ को बीचमा लागुऔषधको तस्करी हुन लागेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीको टोली त्यसतर्फ गएको थियो। सीमा क्षेत्र हुँदै चारजना भारतीय नागरिक आउन लागेको अवस्थमा प्रहरीले शंका गरी पाँच मिटर वरबाटै रोक्न खोज्दा कटुवा पेस्तोलले फायरिङ गर्न थालेपछि प्रहरीले पनि जफावी फायरिङ गर्दा भारतीय नागरिकको पेटमा गोली लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।

घाइतेको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको छ। मृतकको शव स्वास्थ्य केन्द्रमै राखिएको छ। आवश्यक कानुनी प्रकृया पूरा गरी शव उनका आफन्तलाई बुझाइने बताइएको छ।

जफावी फायरिङ हुन थालेपछि अन्य तीन जना भारतीय भारत तर्फ भागेको प्रहरीले जनाएको छ। भारततर्फ भाग्नेमा पप्पु सिंह, गुरमीत सिंह रहेको प्रहरीले जनाएको छ। अर्का भाग्ने एक जनाको नाम खुल्न सकेको छैन। घटना स्थलबाट प्रहरीले नक्कली नोट बनाउने मेसिन, नक्कली नोट बनाउन प्रयुक्त हुने कागज र लागुऔषध समेत बरामद गरेको छ। टेडुवा क्षेत्र लागु औषधको तस्करी हुने ट्रन्जिट प्वाइन्टका रुपमा रहेको छ। बढी अपराधिक क्रियाकलाप हुन थालेपछि प्रहरीले त्यस क्षेत्रका सक्रियता बढाउदै लगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.