|

काठमाडौं : नेपाली कांग्रेसका सांसदहरूले नेकपाको प्रचण्ड–माधव समूहसँग सत्ता सहकार्य गर्न सकिने बताएका छन्। शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा धारणा राख्ने कांग्रेस अधिकांश सांसदहरूले प्रचण्ड–माधवसंग सत्ता सहकार्य गर्न सकिने धारणा राखेका हुन्।

कांग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीले राजनीतिक, नैतिक र संवैधानिक सम्मानको खातिर पनि केपी ओली सरकारलाई समर्थन गर्न नसकिनेमा जोड दिएको थाहा खबरलाई जानकारी दिइन्।

सांसदहरूले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड–माधवलाई साथ दिनुपर्ने तर्क गरे। नेता गगन थापाले पार्टीलाई संस्थागत रुपमा ओलीविरुद्धको अविश्वासको पक्षमा उभ्याउनुपर्ने तर्क राखे। बैठकमा पछिल्लो राजनीतिक गतिविधि, संसद पुनःस्थापनापछि पार्टीको कदम, लगायतका बिषयमा के हुने भन्नेबारे गम्भीर छलफल भएको जनाइएको छ।

बैठकमा सांसदहरूले नेपाली कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ भएकोले सरकारमा जाँदा श्वेतपत्र जारी गरेर मात्र जानुपर्ने सुझाव दिएको पनि बताइएको छ। यस्तै आजको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरेको फैसलाको स्वागत गर्ने निर्णय पनि गरेको छ।

यस्तै कोरोना भाइरसविरुद्धको खोप नागरिकका लागि उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको सचेतक भुसालले जानकारी दिइन्। कोरोना माहामारी पछि बन्द गरिएका सीमानाकामा नागरिकको सहज आवत–जावतको वातावरण बनाउन पनि सरकारसंग माग गरिएको सचेतक भुसालले जानकारी दिइन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.