|

पर्वत : गत जेठ ३१ गते पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीस्थित काउलेमा बस्तीमाथिबाट आएको पहिरोमा ज्यान गुमाएकामध्ये दुई जनाको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ।

दुर्लुङ माइतीघर भई बागलुङको जैमिनी नगरपालिकामा विवाह गरेकी दीर्पा थापा र उनका छोरा विवेकको सम्झनामा १५ लाखको अक्षयकोष स्थापना गरिएको हो। दुई आमा छोराको सोही पहिरोमा मृत्यु भएको थियो। माइती आएको बेलामा दुःखद घट्नामा परेको भन्दै उनीहरूको स्मृतिमा देशभित्र र बाहिर रहेका दुर्लुङबासी तथा पर्वतेलीहरूको सहयोगमा १५ लाख रुपैयाँको ‘दिर्पा विवेक अजर अमर अक्षयकोष’ स्थापना गरिएको हो।

अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्राकृतिक वा अन्य दुर्घटनामा परी मृत्यु भएका, घाइते बनेका लगायत त्यसबाट पीडितहरूलाई राहत दिने लक्ष्य रहेको अभियानका संयोजक विरोधविक्रम गुरुङले बताए। ‘त्यो पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो। उहाँहरूको निधनले अझैं पनि कसैका आँखा ओभाना छैनन्। आकाशमा बादल मडारिएको दिनमा यहाँका नागरिकको सातो जान्छ।’ उनले भने, ‘माइती आएको बेलामा चेली र भान्जाले ज्यान गुमाउनुपरेको कुरा झनै डरलाग्दो छ। त्यसैले उहाँहरूको स्मृतिमा कोष निर्माण गरिएको हो।’

सामाजिक सञ्जालबाट कोष निर्माण गर्ने अभियान थालेपछि त्यसमा सबैले सहकार्य गरेको उनले बताए। कोषका लागि हालसम्म दुई सय १५ जनाले चन्दा सहयोग गरेर आजीवन सदस्य बनेका छन्। कोषबाट प्राप्त हुने ब्याजबाट सुरुवाती चरणमा दुर्लुङ र आसपासका पीडितहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको भए पनि यसमा रकम बढाउँदै जाने र क्षेत्र पनि फराकिलो बनाउने योजना उनले सुनाए।

कोषको शनिबार गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औपचारिक शुभारम्भ गरेका छन्। आर्थिक अवस्था कमजोर रहेको र दीर्घ रोगबाट पीडित रहेका दुर्लुङकै तीन जना टिका शर्मा, राजेश नेपाली र सबिना गुरुङको परिवारलाई उनीहरूको उपचारमा रकम खर्चिन जनही पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ।

सो अवसरमा बोल्दै मन्त्री लम्सालले प्राकृतिक विपत्ति कसैको नियन्त्रणमा नहुने भएकोले यसलाई सहन गर्नुको विकल्प नहुने बताए। विपदमा परेको बेलालाई स्मरण गरेर दुर्लुङबासीले थालेको अभियानले अब यस्तै दुर्घटनामा पर्ने धेरैलाई राहत दिन तथा उद्धारमा सघाउन सजिलो हुने उनको भनाई थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.