|

पर्वत : जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गरेका दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्दै आएका ५८ वर्षीय सूर्यलाल खड्का र धादिङको गंगाजमुना गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–२५ हेम्जामा बस्दै आएका ३९ वर्षीय कमन भनिने कमानबहादुर तामाङलाई पक्राउ गरेको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार उनीहरूले जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी प्रतिवादीका आफन्तसँग एक करोड रुपैयाँ मागेका थिए। प्रहरी, वकिल र अदालतसँग सेटिङ भएको भन्दै उनीहरुले ठगी गरेको प्रहरीको भनाइ छ। उनीहरूले प्रतिवादीका आफन्तबाट १२ लाख रुपैयाँको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिइसकेको पाइएको डिएसपी हमालले बताए।

‘उनीहरूले एक करोड रुपैयाँ मागेका रहेछन्। त्यसमा १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद बुझिसकेका रहेछन्,’ डिएसपी हमालले भने, ‘मागेको रकम पाए जबरजस्ती करणीमा मुद्दा खेपिरहेका प्रतिवादीलाई छुटाउन सक्ने, रकम नपाए ती व्यक्तिले १५ वर्ष जेल सजाय पाउने भनी ठगी गरेको पाइयो।’ 

ठगी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पोखरा महानगरपालिका–१७ राष्ट्र बैंक चोकस्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको हो।  दुवैजनालाई ठगीसम्बन्धी कसुर अन्तरगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.