आगामी महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने घोषणा

|

म्याग्दी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सत्ताको घोडा चढेर मैमत्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाएर मात्रै कांग्रेसले सरकारमा जाने नजाने विषयमा निर्णय गर्ने बताएका छन्। 

नेपाल शिक्षक संघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको २३ औं जिल्ला प्रतिनिधिसभा तथा बेनी नगरस्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता गुरुङले प्रधानमन्त्रीले राजीनामा नै नदिएको अवस्थामा सरकारमा जाने नजाने भनेर निर्णय गर्नु हतार हुने बताए।

‘सत्ताको घोडामा चढेका ओलीलाई पहिले पदबाट हटाउनुपर्छ,’ उनले भने ‘संविधानको घाँटी निमोठेर जनमतको अपमान गरेको ओली सरकारलाई सत्तामा बसिरहने नैतिकता छैन। कांग्रेसले सरकारमा जानेभन्दा पनि ओलीलाई पदबाट हटाउने विषयमा सोच्नुपर्छ।’

नेपालमा कम्युनिष्ट पार्टी सरकार सञ्चालन गर्न असफल भइसकेको बताउँदै नेता गुरुङले कांग्रेसमा पनि नेतृत्वको अघिपछि गरेर चाकडीले सीमा नाघ्न थालेका भन्दै असन्तुष्टि जनाए। प्रचण्ड र ओलीको विवाद टुंगो नलागेसम्म कांग्रेसले निर्णय लिन हतार नगर्ने बताए।

नातावाद र चाकडीवादले कांग्रेसका असली नेता कार्यकर्ता अवसरबाट वञ्चित भएको भन्दै आगामी महाधिवेशनमा आफू पदाधिकारीमा उम्मेदवार बन्ने घोषणा पनि उनले गरे।

सरकारका कमजोरी र गलत क्रियाकलापलाई लिएर जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिँदै नेता गुरुङले नेतृत्वको प्रवृत्ति र कार्यशैली परिवर्तन हुनुपर्ने धारणा राखे। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्ने हिसाबले शिक्षामा आमुल परिवर्तन गर्नुपर्ने पनि गुरुङको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.