|

  • वशन्तप्रकाश उपाध्याय-

‘आखिर यही हुनु र भोग्नु रहेछ, त्यही भोगिरहेछु।’ मसिनो स्वर निकाल्दै कलाकार दीपक क्षेत्रीले भने।

विगतमा एउट दमदार आवाज, जीवन्त अभिनय र खाइलाग्दो शरीर भएका कलाकारको रुपमा मैले चिनेका दीपकसँग आजको भेटमा त्यो भन्दा छुट्टै अवस्था थियो। ५६ वर्षे शरीरसँग सेतो कपाल, चाउरिएका गाला र थकित भोगाइ मात्रै थियो।

मैले भनें, ‘थाक्नुभयो कि गल्नुभयो?’

उनले भने, ‘थोरै सुस्ताएको छु मित्र !’

चालीस सालको सेरोफेरोमा मैले चिनेको हुँ उनलाई। जतिखेर उनी पाँचतारे होटल अन्नपूर्णमा काम गर्दथे। टाई–सुटमा ‘ट्वाक्...ट्वाक्...’ हिँड्ने दीपकलाई दरबारमार्गको बैंग्लोर कफी हाउसमा कुरिरहेका हुन्थ्ये कैंयौं अहिलेका नामी र दामी कलाकारहरुले। कफी र टफीदेखि साँझपखको रमझम र चियर्सको बिल तिर्ने काम दीपकबाटै हुन्थ्यो। मैले विगत सम्झाउँदै वर्तमानको ‘समस्यामा’ सोधेँ, ‘कुरो कहाँ बिग्रियो दीपकजी?’ उनले ग्लानीपूर्ण जवाफ दिए, ‘मैले ‘पैसा र समय दुवै चिन्न सकिनँ।’

एक हजार चार सय साठी दिनभन्दा बढी भएछ दीपकले पाँच लाखको समस्या व्यहोरेको। घाँटीभित्र मासु पलाएपछि ‘अप्रेसन’ गर्नुपर्ने बाध्यतामा उनी छन्।

‘सम्भवतः त्यो क्यान्सर पनि हुन सक्छ।’ उनले भन्दै गए।

‘मैले यो चार वर्षमा हजार दिन विनानिद्रा बिताएँ। डेढ वर्षदेखि हरेक रात रुन्छु। सायद आँसु सकिएला मेरो। तर, मैले पैसा जुटाउन सकिनँ।’

साथी छन् उनका केही। संस्थाका सदस्य छन् उनी। आर्थिक सहायता बाँड्छ बेलाबखत सरकारले। तर, समाउने मान्छे नभएपछि दीपकको ‘प्रेस्किप्सन’ ले औषधि पाएको छैन। उनले सुनाए एउटा वेदना।

सञ्चारमन्त्री थिए शेरधन। उनीसँग सहयोग ‘माग्न’ सिंहदरबार पुगें। आफू मगन्तेको लघुताभासमा त्यहाँ पुगेको बखत शेरधनले झन् महामगन्ते स्वरुपमा भनेछन्, ‘सञ्चारसँग पैसा छैन, अर्थलाई लेखी पठाइदिन्छु ।’

३९ वर्षदेखि रंगकर्म, टेलिफिल्म, भिडियो फिल्म हुँदै पछिल्लो संस्करणमा ‘झोला’ चलचित्रका यी नायकले त्यसपछि आफ्नो समस्याको ‘बोरा’ बोकेर कहीँ हिँडेका छैनन्।

उनी भन्छन्, ‘अब ‘बैरो’ परिवेशलाई म मेरो कथा सुनाउँदिनँ।’

एउटा दिन थियो, उनी भएको आम्दानी खर्चेर सक्दथे। यस्तैमा एकपटक उनले सडक छेउमा ‘माग्न’ बस्नेलाई एक हजार दिएछन्। ऊ लगायत साथीहरु अचम्ममा परे। अनि दीपकले भनेछन्, ‘हामीसँग रह्यो भने त्यो अहिल्यै सकिन्छ। ऊ सँग रह्यो भने कम्तीमा उसलाई महिना दिन त पुग्छ।’

एउटा ‘विन्दास’ शैली, पृथ्वी नामक चलचित्रका दमदार ‘खलनायक’ अनि तर्क र तथ्यमा तटस्थ भोगाइ वकालत गर्ने उनको आनीबानी मैले राम्ररी बुझेको छु। उनी भन्दै थिए, ‘हुन त मैले आफैंले तय गरेको बाटा हो यो। केही पाए पनि केही नभए पनि मैले मेरो ‘साधन’ छोड्न सक्दिनँ क्यार !’

पीडाका ‘रात’ छन्। कहरका थुप्रै ‘वात’ छन्। घात–प्रतिघात र संघातका ‘साथ’ छन्। त्यसलाई कोट्याउँदैनन् उनी।

‘विधातासँग एउटै गुनासो छ, जुन दमदार–आवाजको परिचय दीपक क्षेत्रीको थियो। त्यो लुटिएको छ यतिखेर। भन्छन्, ‘मैले आफ्नो आवाज नै बिर्सिसकेँ वसन्तजी।’

झ्वाट्ट भेटको भावुक परिवेश थियो यो। मैले भने, ‘केही लेखौं है ?’

उनले भने, ‘तीसौं वर्ष भयो तपाईँहरुले लेखिरहेको। लेखेर हामीलाई केही हुन्छ र भन्या?’

‘लेखेर केही हुन्छ–हुँदैन?' यो प्रश्न मैले छाडें सबैका लागि...। 

उपाध्यायको फेसबुकबाट।


लाइक नेपालको युट्युबमा भेटिएको कलाकार दीपक क्षेत्रीको कथा हेर्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.