|
फाइल फोटो

हरेक वर्षजस्तै पुरानोलाई धकेलेर विक्रम सम्वत् २०७४ हाम्रो आगनमा आएको छ। नयाँ वर्षको आगमनसँगै हामी फेरि एकपटक उत्साही बनेका छौँ। इतिहास नभएको भए वर्तमान हुने थिएन। जे जस्तो भए पनि इतिहासमा सबैको जिम्मेवारी र भूमिका हुन्छ, त्यसैले अधिकार पनि निहित हुन्छ। २०७३ मा राम्रा/नराम्रा, असल/कमसल जे जति काम भए, ती हाम्रो गौरवपूर्ण इतिहास हुन्। अब २०७४ को पहिलो पाइलो त्यहींबाट सुरु हुनेछ, जहाँ २०७३ ले छाडेर गएको छ।

सामान्यतया विगतलाई सराप्ने र आगतप्रति बढी आशावादी हुने गरिन्छ। यसपटक हामी विगतका उपलब्धिप्रति गौरव गर्दै आगतप्रति थप आशावादी हुन चाहन्छौँ। विगतमा गर्न नसकेका कामहरु पूरा गर्ने, अझ पूरा मात्र होइन थप एक फड्को मार्ने प्रयाश गर्ने छौं भन्यौँ भने बढी जिम्मेवार बन्ने छौँ। अबको युग वैज्ञानिक चमत्कार सभ्यता र सुसंस्कृत समृद्धिको युग हो। हामी नेपाली दुई विशाल जनसंख्या भिन्न राजनीति फरक अर्थव्यवस्था भएका छिमेकीका बीचमा छौँ। दुवै देश यी भिन्नताका बीच एकताको खोजी गर्दै विकासको तीव्र गतिमा पाइला हाल्दैछन्। एसिया महादेशबाट आउँदो युगको नेतृत्व लिने दिशातर्फ उन्मुख छ। जसका लागि नेपालका छिमेकी नैँ अग्रपंक्तिमा देखिएका छन्। यस महान अवसरमा नेपालले रमिते मात्र भएर बस्न मिल्दैन र हुँदैन।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित अपार जलस्रोत, प्राकृतिक सम्पदा र जैविक विविधताले परिपूर्ण मात्र होइन बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथजस्ता हिन्दूहरुका प्रख्यात र पवित्र तीर्थस्थलको पनि यसैमा छ। हामीसँग गौरव गर्ने अथाह स्रोत साधन निहित हुँदाहुँदै पनि विश्वका गरिब राष्ट्रका अग्रपंक्तिमा हामी उभिएका छौँ।

आफ्नो भविष्य आफ्नै मुलुकमा नदेखेर बाहिरिने नेपालीको संख्या बढिरहेको छ। राजनीतिक नेतृत्वले आशा जगाउनेभन्दा निराशा बढाउने  काम  गरिरहेको छ। आफू फेरिन नसक्ने तर, पटक-पटक राजनीतिक व्यवस्था र संविधान फेरेर हामी परिवर्तनको आशा गरिरहेका छौँ। आशा मात्र होइन विश्वास गरौँ आउँदो वर्ष २०७४ ले हामीलाई समृद्ध नेपाल दिनेछ। शब्दमा होइन यथार्थमा परिवर्तन दिनेछ। नेपाली सीमा भित्रैबाट सबैलाई समेट्ने राजनीतिको संस्कारयुक्त कुशल व्यवस्थापन र नेपालीले आफ्नैं आँगनमा सन्ततिको सुन्दर भविष्य देख्न पाउने वातावरण दिनेछ। यही विश्वासका साथ नयाँ वर्ष २०७४ लाई स्वागत,  सबै नेपालीलाई शुभकामना !!!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.