|

 

आज मन आत्तिइरहेछ!

 

भूकम्प आउँदा बारीतिर थिएँ
कसो बाँचेछु
तर,
घर लडेछन्, गाईवस्तु थिचिएछन्
म बाँचेर पनि खुत्रुक्क भएछु!


घरसँगै एक छोरा, आमा, बुबा...
खैर!
बाँचेका छोरा-छोरी र श्रीमानका लागि
मलाई अझै बाँच्नु थियो
दिनकै आँसु पिई
हामी अझै बलिया छौँ भनी हाँस्नु थियो!

 

हप्ता दिनमा बल्ल
एक थान पाल पाइयो
खाद्य घरकै निकालियो 
किन बढी चाहियो?
तर
हाम्रो जिन्दगी 'पाल' मात्रै बनाइयो
के हाम्रो जिन्दगी पाल मात्रै हो र?

 

जाडो आयो
हामी धेरै कठ्याङ्ग्रियौँ
पल्लाघरे साइँली र छोरी मरे
मन आत्तियो
मलाई अझै बाँच्नु थियो
छोरा-छोरीलाई देश बनाउन सिकाउनु थियोl

 

त्यो ठण्डीमा
गुन्द्री ओढी सुत्यौँ
राती सधैँ आगो बाली उठ्यौँ
पाँच/सात जना मरेपछि बल्ल
ओढ्ने-ओछ्याउने पायौँ
धन्न प्रभु!
बाँच्ने जोह गराइदिनुभयो भनी रमायौँ।


समय बित्यो, ठण्डी पनि गयो
हुरी र बतासको पालो आयो
बल्लबल्ल पाएको पाल
सबै च्यातिई गयो
मनभरि पीडा-आँसु थमायो
तर
मेरो सरकार खोइ कता हरायो?

 

अब त अति भन्दा बढी भयो
ए हजुर!
भन्छन्, अति गर्नु अत्याचार नगर्नु 
यो त उग्र अत्याचार भयो!

 

खै हाम्रो भोट? कस्तो हो यो प्रकार?
हामी पालमुनिबाटै सोध्दै छौँ
पुनर्निर्माण कहाँ पुग्यो सरकार?

(विवेकशील नेपालीका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी दर्शनाको फेसबुकबाट साभार)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.