|

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेकमा केही परिमार्जन भए त्यसलाई स्वीकार्न सकिने बताएको छ।

सरकारसँग शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मोर्चाले भाषा, प्रदेशको सीमाङ्कन हेरफेरका लागि गठन गरिने आयोग र संविधानको धारा २७४ मा असन्तुष्टि जनाएको हो। यी तीन विषयमा आफूहरुको मागअनुसार परिमार्जन भए संशोधन विधेयक स्वीकार्न सकिने मोर्चाको संकेत छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विद्येयकमा सहमति गरेर वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए। जवाफमा मोर्चाका नेताहरुले निर्वाचनभन्दा संविधान संशोधनमा आफूहरुको चासो रहेको भन्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

प्रधानमन्त्रीले मोर्चाको प्रस्तावमा सत्तारुढ दलहरुसँग छलफल गर्ने बताएका छन्। मोर्चाको चासोलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न दिउँसो ३ बजे काँग्रेस, माओवादी र राप्रपाको बैठक बोलाइएको छ। त्यसपछि साँझ ५ बजे मोर्चासँग पुनः छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महिन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.