|

पाँचथर : जिल्लाका राजनीतिक दलहरुले महिला नेताहरुलाई स्थानीय तहको उपप्रमुख र उपाध्यक्ष पदमा मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। निर्वाचन जित्न नसक्ने र जिते पनि जनतासँग नजिकिएर काम गर्न नसक्ने भन्दै निष्क्रिय जस्तै पद उपप्रमुख र उपाध्यक्षमा सीमित गर्न खोजिएको महिला नेत्रीहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।

जागरण नेपालको सहयोगमा हुकोडेक नेपालले स्मार्को परियोजनाअन्तरगत फिदिममा आयोजना गरेको महिला अधिकार,निर्णायक तह,निर्वाचन र राजनीतिमा महिला सहभागिता विषयक कार्यक्रममा बोल्ने महिला नेताहरुले जिल्लास्थित दलहरुले एकजना पनि महिलालाई नगरपालिकाको प्रमुख र गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउन नचाहेको भन्दै महिलामाथि पार्टीले विभेद गरेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसकी नेता मधु जवेगूले आफूले फिदिम नगरपालिकाको प्रमुखमा दाबी गरिरहे पनि उम्मेदवारी पाउने सम्भावना न्यून भएको बताइन्। ‘२० वर्षमा हुन लागेको नगरपालिकाको निर्वाचनमा दाबी प्रमुखकै हो।’ उनले भनिन्, ‘तर मलाई उम्मेद्वार बनाउने सम्भावना न्यून छ।’ जिल्लामा १ नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तह रहेको छ। एमाले जिल्ला कमिटी सदस्य कमला योङहाङले पार्टीभित्रै महिला नेतामाथि अवसरमा विभेद हुने गरेको बताएकी छन्।

अवसर पाए जनप्रतिनीधि भएर महिलाले निर्णायक भूमिका निर्वाह गर्न सक्ने भन्दै पार्टी नेतृत्वले अविश्वास गरेर हतोत्साहित गरेको उनले बताइन्। ‘पार्टीले अवसरमा लैंगिक विभेद गर्दैछ। जुनै तहमा पनि पुरुष नेता मात्रै उठाउने तयारी छ।’ आक्रोशित हुँदै उनले भनिन् ‘महिलाले पनि जनप्रतिनीधि भएर जनताको काम गर्न सक्छन्। हतोत्साहित र अविश्वास नगरियोस्।’ नेता योङहाङले हिलिहाङ तहमा नेकपा एमालेबाट प्रमुखमा दाबी गरेकी छिन्।

माओवादी केन्द्रकी जिल्ला सम्मेलन आयोजक समिति सदस्य सानु थापामगरले पनि चुनावी माहोल तातिएको बेलामा कुनै पनि राजनीतिक पार्टीहरुले प्रमुख पदमा महिला नेताहरुलाई उठाउन नचाहनुलाई पार्टीहरुले महिला सहभागिताको सवाल नारा मात्रै बनाएको टिप्पणी गरिन्। पार्टीमा निष्ठापूर्वक र कर्तव्यनिष्ठ भएर योगदान दिँदै आएका  महिला नेताहरुका अन्याय भएको उनको भनाइ छ। राप्रपा नेता सविता राउतले भने दलहरुले स्थानीय तहको प्रमुख र अध्यक्ष पदमा उम्मेद्वार घोषणा गरिनसकेकाले दावी गर्न छाड्न नहुने बताएकी छन्।

जिल्लाको सबै स्थानीय तहमा पुरुष नेता मात्रै उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ। निर्वाचन कार्यालय पाँचथरमा दर्ता भएका १३ वटा राजनीतिक दल र दर्ता नभए पनि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका राजनीतिक दलहरुले महिला नेताहरुको निर्णायक भूमिका मानिएको प्रमुख र अध्यक्षमा नाम चर्चामा लिएका छैनन्। यसले गर्दा महिला नेताहरु नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्षमै उम्मेदवार बन्ने अवस्था देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.