'कांग्रेस एमालेले जिते स्थानीय तह विघटन हुन्छन्'

|
फाइल फोटो

पोखरा : नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आसन्न स्थानीय तहको निर्वाचन माओवादीले नजिते स्थानीय तहहरू विघटन हुने दावी गरेका छन्। कास्कीको पोखरा लेखनाथ महानगरपालिकास्तरीय चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै नेता गुरुङले स्थानीय तह माओवादीको विचार भएकोले त्यसमा अरूले नेतृत्व गरे ‘बाँदरको हातमा नरिवल’ हुने टिप्पणी गरे।

‘सिंहदरबारको अधिकार गाउँ, नगरमा पुर्‍याउने विचार माओवादीको हो। एकथरिको विचार अर्कोथरिको नेतृत्व हुनै सक्दैन’, गुरुङले भने, ‘कांग्रेस, एमालेले नेतृत्व गरे स्थानीय तह विघटन हुन्छन्, स्थानीय तहमा उनीहरूले जित्नु भनेको बाँदरको हातमा नरिवल हो।‘

संसदवादी दलहरूले विगतमा स्थानीय तह टिकाउन नसकिने भन्ने गरेको स्मरण गर्दै उनले उनीहरूले भित्रैदेखि स्थानीय तहको पुनर्संरचना नस्वीकारेको दावी गरे। ‘केहीअघिसम्म उनीहरू स्थानीय तह टिकाउन सकिन्न भनिरहेका थिए। अहिले आफूले स्थानीय तहमा जित्ने र अन्त्यमा यो संरचना नै विघटन गर्ने योजनामा छन्’, उनले भने, ‘उनीहरू स्थानीय तहको अधिकार खोसेर पुनः सिंहदरबा लैजान चाहन्छन्। यो योजना विफल बनाउन जनताले माओवादीलाई जिताउन जरुरी छ।‘

सिंहदरबारमा अधिकार केन्द्रित हुँदा विदेशीको प्रभाव बढेको उनले तर्क गरे। ‘अब जनताका प्रतिनिधिकहाँ त्यो अधिकार विकेन्द्रित गर्नुपर्छ। छ हजार ६८० जनताको हातमा सिंहदरबारको अधिकार पुर्‍याएपछि विदेशीको दवाव र प्रभाव रोक्न सकिन्छ’, उनले भने।

एमाले र मधेसकेन्द्रित दलको ‘अति’

उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले निषेधको राजनीति गरिरहेको आरोप लगाए। ‘मधेसकेन्द्रित दलका कतिपय माग जायज छन्, ती माग सम्बोधन गरेर उनीहरूलाई पनि स्थानीय तहको निर्वाचनमा लैजानुपर्छ’, उनले भने, ‘तर एमाले उनीहरूलाई निषेध गर्न खोजिरहेको छ। यसले सहमतिलाई होइन, द्वन्द्वलाई प्रोत्साहन गरिरहेको छ।' एमालेले राष्ट्रवादको नाममा ‘पहाडे अहंकारवाद’ प्रस्तुत गरेको उनको आरोप छ।

उनले एमाले र मधेसकेन्द्रित दल दुवैले अतिवादलाई रक्षा गरी मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए। ‘विदेशी शक्तिहरू नेपालमा द्वन्द्व निम्त्याएर अफगानिस्तानको तहमा पुर्‍याउन खोजिरहेका छन्। एमाले र मधेसकेन्द्रित दलको व्यवहारले त्यसलाई रोक्दैन झन् सघाउँछ’, उनले भने, ‘त्यसलाई रोक्न दलहरूबीच समझदारी र एकता हुन जरुरी छ।‘

पश्चिमा शक्तिहरूले नेपाललाई ‘प्ले ग्राउन्ड’ बनाएर चीनविरुद्ध प्रयोग गर्न खोजेको दावी पनि उनले गरे। ‘नेपाललाई चीनविरुद्ध प्रयोग गरेर अन्ततः अफगानिस्तान बनाउँदै नेपालको अस्तित्व नै समाप्त पार्ने विदेशी शक्तिको योजना छ’, गुरुङले भने, ‘अफगानिस्तामा हालै बम खसाइएको छ, कोरियाली प्रायद्वीपमा सैनिक हस्तक्षेप गर्ने खोजिरहेको छ, नेपाललाई पनि त्यसैका लागि उनीहरू प्रयोग गर्न खोज्दै छन्।‘

‘पृथ्वीनारायणले नसकेको काम गर्छौँ’

पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे पनि राष्ट्र एकीकरण गर्न नसकेको दावी गर्दै उनले पृथ्वीनारायणले नसकेको काम अब माओवादीले गर्ने बताए। ‘पृथ्वीनारायणले राज्य एकीकरण त गरे तर राष्ट्र एकीकरण गर्न सकेनन्, उनले नसकेको अभिभारा अब माओवादी केन्द्रले गर्छ’, उनले भने, यो अवधारणाले मात्र नेपाल बच्छ नत्र नेपाल बच्दैन।‘

परिवर्तन उल्ट्याउन चाहने परम्परागत शक्तिले ०४७ सालकै संविधान फर्काउन कोसिस गरिरहेको दावी गर्दै तमुले त्यसो भयो भने पनि नेपाल नरहने बताए।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनले शासक नभई जनताका सेवकलाई विजयी गराउनुपर्ने बताए।

ठूला पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्र कुनैले पनि पोखरा लेखनाथ महानगरपालिकामा अझै प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न सकेका छैनन्। पोखरा लेखनाथका ३३ वडाका उम्मेदवार पनि दलहरूले औपचारिक घोषणा गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • भरतपुरकाे मत गणानाले यसलाइृ पुष्टी गरिसकेकाे छ ।यस्ताे नादानि काम कहि कतै वाट नहाेस ।

  • Parkha ani hera .

  • अब त्यै बाकी छ😃