|

काठमाडौँ: युवाकवि एवं समालोचक डा. देवी नेपालका दुई कृतिमाथि सोमबार राजधानी काठमाडौँमा परिचर्चा गरिएको छ।

नेपाली गजलको विकास, बिस्तार र परिष्कारका लागि सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा छन्द अलङ्कार अनलाइन टेलिभिजनद्वारा आयोजित कार्यक्रममा समालोचक डा. रामप्रसाद ज्ञवालीले डा. नेपालको व्यक्तित्वमाथि प्रकाश पारेका थिए। प्रा.डा. महादेव अवस्थी र प्रा. हेमचन्द्र नेपालले डा. नेपालका कृतिहरू शास्त्रीय छन्दको लक्षणशास्त्र 'छन्द पराग' र छन्दकविताको सीडी 'छन्द तरङ्ग'बारे चर्चा गरेका थिए।

कार्यक्रममा साहित्यकार दाहाल यज्ञनिधिले कवि नेपालको व्यक्तित्व र कृतित्वबारे बाेलेका थिए। 

२०६२ सालमा प्रथम पटक प्रकाशित 'छन्द पराग'को दोस्रो संस्करण निकै परिमार्जित, बिस्तृत र परिपक्व रहेको वक्ताहरूको भनाइ थियो। झण्डै चार सय प्रचलित, अप्रचलित छन्दबारे उदाहरणसहित, अझ ती छन्दका लक्षणसमेत दिएर अत्यन्तै मिहिनेतपूर्वक डा. नेपालले पुस्तक तयार पारेको वक्ताहरूकाे धारणा थियो।

यसरी नै 'छन्द तरङ्ग'मा छोटादेखि लामा अायामका विभिन्न १७ वटा छन्दमा रचिएका २१ कविता संकलित छन्। कवि स्वयंको आवाजमा रहेका कविताहरूमा अशोक राईले संगीत भरेका छन्।

लेखनकला र गला दुवैका धनी डा. नेपालका विभिन्न विषयका साहित्यिक कृति र समालोचना प्रकाशित छन्। प्राध्यापनमा संलग्न उनका विद्यालयदेखि विश्वविद्यालयसम्मका विभिन्न तहका पाठ्यपुस्तक पनि प्रकाशित छन्।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको सभापतित्व र नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कवि, गजलकार, गायक, समालोचक डा. विजय सुब्बा, प्रभाती किरण, गजलकारहरू जय गौडेल, सरोज घिमिरे, जीत कार्कीलगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.