|

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रपूर्वक संघीय गठबन्धनको नाम दुरुपयोग गरेको आरोप लगाएका छन्।

यादवका तर्फबाट प्रेस संयोजक महेश चौरासियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,' मधेश विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले यस्तो षड्यन्त्र गरेको छ। मधेस आन्दोलन र संविधान संशोधनलाई कमजोर पार्न यस्तो सुनियोजित षड्यन्त्र रचिएको हाम्रो ठहर छ।'

यसअघि महन्थ ठाकुरको अध्यक्षतामा बसेको संघीय गठबन्धनको बैठकले गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई हटाउने निर्णय गरेको थियो। बैठकले  महन्थ ठाकुरलाई गठबन्धनको संयोजक तोकेको थियो। तर यादवका तर्फबाट जारी गरिएको विज्ञप्तिमा यस विषयको खण्डन गर्दै ठाकुरको अध्यक्षतामा बसेको बैठक आधिकारीक हुन नसक्ने उल्लेख छ।

'संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ। राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हाँस्यास्पद छ। उक्त विज्ञप्ति संघीय गठबन्धनको आधिकारिक हुनै सक्दैन,' विज्ञप्तिमा भनिएको छ।

यस्तो छ उपेन्द्र यादवका प्रेस संयोजकले निकालेको विज्ञप्ति :

महन्थ ठाकुरजी, संघीय गठबन्धनलाई किन दुरुपयोग गर्नुभयो ?
संघीय गठबन्धनको बैठक नै नबसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ। राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हास्यास्पद छ। उक्त विज्ञप्ति संघीय गठबन्धनको आधिकारिक हुनै सक्दैन।
ठाकुरजीको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरुबीचको भावी सम्बन्ध कस्तो हुनेछ अनुमान गर्नु भएको छ ? मधेशका जनताले यसलाई कुन रुपमा लिनेछन् ? राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन् । जसको जवाफ राजपा अध्यक्ष महन्थ ठाकुरले दिन जरुरी छ। गठबन्धनमा आबद्ध घटक दल, प्रादेशिक र जातीय मोर्चालाई खबर नै नगरी राजपा अध्यक्ष ठाकुरले कुन नैतिकताले विज्ञप्ति जारी गरेका हुन् ? आखिर संघीय गठबन्धनको बैठक बोलाउँछ कसले ? राजपा अध्यक्ष ठाकुरलाई गठबन्धनको बैठक बोलाउने अधिकार कसले दियो ? संघीय गठबन्धनको नाममा विज्ञप्ति निकाल्ने अधिकार उनलाई कसले दियो ? पर्दा पछाडि यसभित्र गम्भीर डिजाइनले काम गरेको हाम्रो ठम्याई छ।
जसले संघीय गठबन्धनको आन्दोलनलाई सँधै बहिष्कार गर्यो, आन्दोलनको कार्यक्रममा गएन, बैठकमा सहभागी भएन, उसलाई आज गठबन्धनको याद कसरी आयो ? उसलाई गठबन्धनको आवश्यकता किन पर्यो ? राजपा अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्ति राजपाको निर्णय हो, गठबन्धनको निर्णय होइन। गठबन्धनको निर्णय भन्दै राजपाले सुनियोजित रुपले जनतामा भ्रम सिर्जना गर्न खोजेको छ। मोर्चा सम्मिलित संघीय गठबन्धनले गएको बैशाख ९ गते एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।
तर, वालुवाटारमा सहमति गरेर राजपा नेताहरुले आन्दोलन किन फिर्ता लिए ? आन्दोलन स्थगित गरेर राजपाले चुनाव चिन्ह माग्न निर्वाचन आयोग किन गएको थियो ? पार्टी दर्ता नभएकोले आयोगले चुनाव चिन्ह अस्वीकार गर्यो। स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रदेश नं. ३, ४ र ६ नं. प्रदेशमा राजपाको कुनै अस्तित्व नै छैन। त्यहाँ राजपाको न मतदाता छन्, न उम्मेदबार ? अनि केका लागि उम्मेदबारी देऊन् ? तसर्थ, पहिलो चरणको चुनावमा राजपाले भाग लिनु वा नलिनुको कुनै अर्थ नै भए।
पार्टी एकीकरण ताका संघीय समाजवादी फोरम नेपालसँग कुनै सल्लाह वा परामर्श गरिएन। अनि फोरम नेपाल एकीकरण प्रक्रियामा आएन भनेर किन झूठा प्रचार गरिँदैछ ? चुनावमा भाग लिने वा नलिने बारे निर्णय गर्न हरेक पार्टी स्वतन्त्र छन्। फोरम नेपालले मधेशी मोर्चा वा संघीय गठबन्धनको तर्फबाट चुनावमा गएको होइन। मोर्चा र गठबन्धनको संयुक्त निर्णयका आधारमा सरकारबाट समर्थन फिर्ता लिइएको थियो।
तर, अहिले मोर्चा र गठबन्धनमा छलफल नै नगरी राजपाले कुन नैतिकताको आधारमा प्रचण्ड सरकारलाई समर्थन दिने निर्णय गर्यो ? फिर्ता लिई सकेको समर्थन फेरि किन दिइनु पर्यो ? जसले सँधै गठबन्धनलाई अपमान गर्यो, बहिष्कार गर्यो, उसलाई गठबन्धनको नाम दुरुपयोग गर्ने अधिकार कसले दियो ? राजपाको एकलौटी निर्णयले मधेशी मोर्चालाई किन भंंग गरियो ? मोर्चा विघटन हुनुअघि छलफल हुनु पर्थेन ? मधेशमा ऐतिहासिक आन्दोलनको अगुवाई गरेको मोर्चालाई भंग गर्ने राजपाको निर्णय कसरी सही हुन सक्छ ? संघीय समाजवादी फोरम नेपाल चुनावमा गएको मोर्चा छोपेर राजपाका नेताहरु दुईचार दिनका लागि क्रान्तिकारी बन्ने लहडमा लागेकोले यस्तो विज्ञप्ति आएको प्रष्ट छ।
मधेश आन्दोलन, माग, सवाल र संविधान संशोधनलाई कमजोर गर्न अन्तैबाट परिचालित भई राजपाले यस्तो हर्कत गरेको हाम्रो बुझाई हो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार हुँदैछ। राजपाको ताजा विज्ञप्ति पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कमजोर बनाउन खोजिएको एउटा कदम मात्र हो। मधेश विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले यस्तो षड्यन्त्र गरेको छ। मधेश आन्दोलन र संविधान संशोधनलाई कमजोर पार्न यस्तो सुनियोजित षड्यन्त्र रचिएको हाम्रो ठहर छ।
महेश चौरसिया प्रेस संयोजक उपेन्द्र यादव– अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.