|

काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यले आफू निर्वाचित भए १०० दिनभित्र गर्ने १०१ कामको सूची सार्वजनिक गरेका छन्। जसमा ‘मिनी असन बजार’ सञ्चालन गर्नेदेखि ‘अचम्मको सियो र गज्जबको चुलो’ घरघर पुर्‍याउने’ सम्मका प्रतिबद्धता सामेल छन्।

यसमा अचम्मको सियो भनेर वृद्धवृद्धाले समेत सजिलै धागो राख्न सक्ने खालको सियो र थोरै उर्जाबाट पनि चलाउन सकिने चुलोलाई गज्जबको चुलो भनिएको उम्मेदवार शाक्य बताउँछन्।

यसैगरी ‘कौसी खेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती’ को लागि आवश्यक वाकस, मल, प्लाष्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गर्ने, न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने, क्लिन एण्ड ग्रिन काठमाडौं अभियान चलाउने प्रतिबद्धता पनि शाक्यको छ।

हेर्नुहोस् १०१ प्रतिबद्धताको सूची :

१. हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा रु. ३००० थप गरी रु. ५००० बनाउने। ८४ वर्ष पुगिसकेकोलाई रु.१०,००० मा २००० थप गरी रु.१२ हजार बनाउने (मेयरले गर्ने प्रथम निर्णय) थप सुविधाहरु क्रमशः बढाउन अध्ययन कार्यदल बनाउने। भक्ता रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत सिधै पठाउने व्यवस्था गर्ने।

२. ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनर्स्थापनाको प्रक्रिया अघि बढाउने।

३.  मेयरको पदभार ग्रहण गर्नु अगावै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरुले मूल्यवान फल लाग्ने, रुख रोपी “ग्रिन एण्ड क्लिन काठमाण्डौ” अभियानको कार्य शुभारम्भ गर्ने।

४. महानगरपालिका भित्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरु जस्तै स्वयंम्भू, पशुपति, बौद्ध, बसन्तपुर लगायतका स्थानहरुमा द्रूत गतिको निःशुल्क वाइफाइ क्षेत्र बनाउने।

५. बाटो विस्तार पीडित समुदायसँग वार्ता गरी जनभावना अनुसार समस्या समाधान गर्ने।

६.  साईकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्ने।

७. महानगर योजना आयोग गठन गरी कामको सुरुवात गर्ने।

८. महानगरपालिकाको आफ्नै पूर्वाधार कमिटी गठन गर्ने।

९. महानगरपालिकाको आफ्नै लगानी कम्पनीको स्थापना गर्ने।

१०. महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन गर्ने।

११. महानगरपालिकाको सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली शुरु गर्ने र सम्पूर्ण कार्यकक्षहरुमा सिसिटिभी जडान गर्ने।

१२. प्रत्येक युवाहरुलाई कुनै न कुनै खेल, शारीरिक व्यायाम, व्यवसायिक तालिम, हस्तकला, ललितकला, प्रविधि लगायत बिभिन्न रचनात्मक कामहरुमा आवद्ध गराउने गरी कार्यक्रम ल्याउने।

१३. समय सापेक्ष रोजगारमूलक बातावरण सिर्जना गर्ने र युवाहरुको अनलाइन रोजगार सूचना केन्द्र सुरुवात गरिने छ।

१४. खेलकूद क्षेत्रमा विषेश प्रतिभा र योगदान पुर्‍याउने ब्यक्तिहरुलाई नियमित सहयोगको लागि पुरस्कार तथा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गर्ने।

१५. नागरिक सुरक्षाको लागि नेपाल प्रहरीसंग समन्वय गरी महानगरका संवेदनशील स्थलहरुमा सिसिटिभी जडान गर्ने कार्य प्रारम्भ गर्ने।

१६. स्वयंम्भू, बौद्ध, पशुपति र बसन्तपुर लगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्य सुभारम्भ गर्ने।

१७. सार्वजनिक–निजी साझेदारीकोे नीति अवलम्वन गर्ने।

१८. जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीहरु सहितको “मिनी असन बजार” विभिन्न ठाउँहरुमा स्थापना गरी सञ्चालनका लागि अध्ययन गर्ने।

१९. भित्री शहरको हरेक ५०० मिटरमा र बाहिरी शहरमा आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारीकोे ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अघि बढाउने जसमा महिला, अपाङ्गता भएका, बृद्ध, बालकालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाब संकलन डेस्क, वैटिङ मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्रिः वाइफाइ, स्याक्स बार, मेन्ट्रक्सन प्याड को व्यवस्था गरिनेछ।

२०. धर्मपथस्थित पुरानो कामनपाको जग्गामा पूर्वस्वीकृत नक्सा अनुसार भवन निर्माण सुरु गर्ने।

२१. महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने।

२२. महानगरबाट सञ्चालित चःमति, मनोहरा लगायतका स्थानहरुमा अवरुद्ध ल्याण्डपुलिंगको कार्यलाई यथासिघ्र सम्पन्न गर्ने।

२३. “घरघरमा अचम्मको सियो र घरघरमा गज्जबको चुलो” कार्यक्रम सञ्चालन गर्ने।

२४.   मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने, विशेष प्रविधिको प्रयोग गरि धुलो र खाडलरहित सडक निर्माण गर्ने।

२५. “सही समय सही ठाम, नो ट्राफिक जाम” को अभियान सुरु गर्ने।

२६. सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने।

२७. हाल पेन्डिंगमा रहेको मुद्दाहरुलाई १०० दिनभित्र टुंग्याउने।

२८. प्रत्येक वडामा विषयगत दक्षता सहितको महानगर स्वयंसेवक घोषणा गरी परिचालन गर्ने।

२०. प्रत्येक घरमा अनिवार्य बर्षेपानी संकलनको अभियान सुरु गर्ने, संकलनबाट बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने।

३०. घर–घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्याङ्की जडानको अभियान सुरु गर्ने।

३१. चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा नेपाल सरकारसंग समन्वय गरी बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासङ्घका सहकार्यमा बृहद् प्रदर्शनी केन्द्रको निर्माणको पहल गर्ने।

३२. “भोकरहित जनता शोकरहित महानगर” का लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने।

३३. राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने।

३४. राजश्व अध्ययन वोर्ड बनाई अनुसन्धान अध्ययनको थालनी गर्ने।

३५. काठमाडौँ थाहा पाउने मोबाइल एप्स सुरु गर्ने।

३६. स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्ने।

३७. महानगरका विशेष स्थानमा भेहिकल फ्री जोन घोषणा गर्ने।

३८. “काठमाण्डौ महानगर झिलिक्क : घर घर टिलिक्क” अभियानको थालनी गर्ने।  सरकारी सार्वजनिक भवनमा रङ्गरोगन गर्ने र आम नागरिकलाई आब्हान गर्ने।

३९. धरहरा प्रिमिसेशको मास्टर प्लान बनाई कार्यान्वयन गर्ने।

४०. काष्ठमण्डप निर्माणमा महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा पुनर्निर्माण गर्ने।

४१. सम्पदा पुननिर्माण जनसहभागितामा जनसहभागितामा विल्ड ब्याक बेटर अवधारणा अनुसार कार्यान्वयन गर्ने।

४२. भूकम्पले नष्ट गरेको र असुरक्षित घरहरुको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने।

४३. नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बाग्मती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थालनी गर्ने.

४४. महानगर र गोकर्णेश्वरको समन्वय/सहकार्यमा “तारेभिर परियोजना” को प्रक्रिया अगाडि बढाउने।

४५. टोखा नगरपालिकासँग समन्वय÷सहकार्य गरी टोखाको संस्कृति सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर “वाटर फल पार्क” बनाउन प्रक्रिया अघि बढाउने।

४६. ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरुको “नयाँ ललितपत्तनम” नामको आर्ट एण्ड क्राप्ट निर्माण प्रक्रिया सुरु गर्ने।

४७. काठमाडौ भित्री शहरको दक्षिणी भेगको “क्वःने” को ऐतिहासिक क्लष्टरलाई आवश्यक प्रक्रिया पूरा गरी लाइभ म्युजियम डिक्लारेसन गर्ने ।

४८. पुरातात्विक मापदण्ड अनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने.

४९. ऐतिहासिक दरवार हाईस्कूल पुनस्र्थापनाका लागि सार्वजनिक वहस गरी कार्य सञ्चालन गर्ने।

५०. इन्टरनेसनल आर्ट र कल्चरल हबकोनिर्माण थालनी गर्ने।

५१. भद्रकाली मन्दिर र परिसरको विस्तृत परियोजनाको सर्वेक्षण गर्ने।

५२. पूर्व अध्ययन भई सकेको हनुमानढोकाको पूर्ववत् प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रुपमा परिमार्जन गरी निर्माण कार्य आरम्भ गर्ने।

५३. निश्चित समयतालिका अनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा शुरु गर्ने।

५४. कार पार्किङ मलको नीति बनाई कार्य प्रारम्भ गर्ने।

५५. “जन्जालमुक्त सडक सञ्जाल” कार्ययोजना प्रारम्भ गर्ने।

५६. निर्माणाधिन चक्रपथ विस्तारको कार्यलाई यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने।

५७. भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म वागमती किनार हुँदै केवल बसको सम्भाव्यता अध्ययन आरम्भ गर्ने।

५८. सम्पूर्ण ट्राफिक लाईटलाई मर्मत गरी सुचारु गर्ने।

५९. क्लिन द सिटी अभियानको प्रारम्भ धुँवाधुलो न्यूनिकरण गरी नो माक्स सिटीको अभियानबाट सञ्चालन गर्ने।

६०. पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारस्थित वालुवा खानीलाई व्यवस्थापन गरी “पाशुपत सरोवर” निर्माणका लागि पहल गर्ने।

६१.  काठमाण्डौलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्रीहरु व्यवस्थित रुपमा जम्मा गरेर राखे वापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने। कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने साथै किन्ने व्यवस्था समेत गर्ने।

६२.  शहरको सुन्दरता र दुर्घटना न्यूनिकरणको लागि अव्यवस्थित पोल तथा तारहरुको उचित व्यवस्थापनको लागि आवश्यक खाका तयार गर्ने।

६३.  ज्येष्ठ नागरिकहरुका लागि घर घरमा निःशुल्क सेवाको लागि महानगरपालिकाको स्वयंसेवकहरु परिचालन गर्ने।

६४. विपन्न, असहाय र विभिन्न कारणले विचल्लीमा परेका नागरिकहरुलाई उच्च प्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धार कार्य प्रारम्भ गर्ने।

६५. राज्यको लगानी वा विभिन्न संघ–संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तर वृद्धिका लागि अनुगमन गर्ने।

६६.  महानगरपालिका, सम्वन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा शहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्र नजिकै “शिशु स्याहार र बाल विकास केन्द्र” सुचारु गर्ने।

६७. महानगरलाई दुव्र्यशनमुक्त शहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाई कार्यारम्भ गर्ने।

६८. सेवानिवृत्त कर्मचारी, ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै वहाँहरुको ज्ञान, सीप अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लव, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र/व्यायाम/योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदिसहितको सुविधा सम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने।

६९. हेल्लो मेयर क्विक रेस्पोन्स  कार्यक्रम सञ्चालन गर्ने।

७०. महानगरका सरकारी र सार्वजनिक ठाउँहरुलाई बाउन्ड्री लेस गार्डेनका रुपमा विकास गर्ने।

७१.  घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिना भित्र प्रदान गर्ने।

७२. महानगरपालिका भवन निर्माण कार्य प्रारम्भ गर्ने।

७३.  नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने।

७४. प्रेम दिवस लगायत अन्य विभिन्न दिवसको अवसर पारी युवा जोडीहरुलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरु रोप्ने व्यवस्था मिलाउने।

७५. छाडा जीवजन्तु तथा फोहोर मैला लगायत समस्याहरु तत्काल समाधान गर्ने।

७६. घरबाट आएको कुहिने फोहोरको व्यवस्थापन गरी जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्ने। त्यसका लागि महानगरले प्राविधिक सिप र प्रविधिका लागि अनुदान दिने।

७७. महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने सम्पदा मार्गको पूर्व घोषित कार्यक्रममा  आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रर्दशक सहितको सुविधासम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने।

७८. काठमाडौ महानगर र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सटल वसको व्यवस्थासहितको सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति सङ्ग्रहसहितको युवा पार्क निर्माण गर्ने।

७९. तिनकुनेको जग्गाको समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरुवात गर्ने।

८०. अपांगमैत्री पार्क निर्माण कार्य आरम्भ गर्ने।

८१. “कौसी खेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती” को लागि आवश्यक वाकस, मल, प्लाष्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गर्ने। न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने।

८२. अव्यवस्थित र असुरक्षित भविष्यको कारण जीवनदेखि निराशाका कारण बढ्दै गैरहेको मानसिक समस्याहरुको रोकथाम र उपचारको लागि उचित प्रवन्ध गर्ने।

८३. हिंसापीडित महिलाहरुको तत्काल उद्धार र पुनव्र्यवस्थापन गर्ने।

८४. तरकारी, फलफूल र खाद्यान्नमा विषादी नियन्त्रणका लागि परिक्षण गर्ने व्यवस्था मिलाउने।

८५. राजधानी महानगरलाई देशका सबै नेपालीको साझा मैत्रीनगरको रुपमा विकास गर्न सातै प्रदेशको लागि  “प्रदेश भवन” निर्माणका लागि प्रक्रिया थालनी गर्ने।

८६. पुरानो वसपार्कमा प्रस्तावित काठमाण्डौ टावर निर्माण सम्वन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने।

८७. महानगरभित्रका सबै होलसेल मार्केटहरुलाई यातायात सुविधासहित व्यवस्थित गर्ने।

८८. गोंगबुँ बसपार्कको मास्टर प्लानको परिमार्जन सहित अघि बढाउने।

८९. स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरुको लगत संकलन गरी कार्ययोजना अघि बढाउने।

९०. परम्परागत शिल्पी तथा व्यवसायमा आवद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण गर्ने।

९१. मझौला तथा साना व्यवसाय शुरु गर्नेहरुलाई लगानीमैत्री बिनियमहरु बनाउन शुरु गर्ने।

९२. बागवजार स्थित भक्तपुर बस पार्कको नयाँ व्यवस्थापन गर्ने।

९३. होम एड्रेसिङ प्रणालीलाई व्यवस्थित गर्ने।

९४. डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागु गर्ने।

९५. भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधी तयार गर्ने।

९६. काठमाडौँ स्मार्ट सिटिजन कार्ड कार्यक्रम लागु गर्न कार्यदल गठन गरी यथाशिघ्र सुरु गर्ने।

९७. हाइड्रोजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्ने।

९८. स्मार्ट सिटीको पूर्वाधारको लागि चाहिने महानगर बोर्डब्याङ्क को स्थापना गरी प्रारम्भ गर्ने।

९९. पत्रकारहरुका लागि सम्पूर्ण सुविधासहितको व्यावसायिक सुविधासहित सञ्चार केन्द्रको कार्ययोजना सुरुवात गर्ने।

१००. चौबिस घण्टे “जीवन्त शहर” को योजनाको निर्माण गर्ने।

१०१. महानगर मातहतका हरेक कार्यालयहरुलाई आधुनिक, चुस्त, जनमैत्री र प्रविधि मैत्री कार्यालयको रुपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • १०१ दिन भित्रै यो काम सफल होस यहि मेरो सुभकामना छ।

  • niyam anushar nabane ka bhawan ko haak ma k garnu hunchaa ? yetha isthi ma rakhna niyam paribartan garnu huncha wa niyam ma liyera aaunu huncha...