संविधानसभा निर्वाचनदेखि स्थानीय तहसम्म माओवादी नै विजयी

|

  • मेगराज खड्का 

काठमाडौं : तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्‍त्र युद्धको उद्‍गम थलो रुकुम युद्ध अवधिभर यस पार्टीको आधारक्षेत्र बन्यो। जिल्ला पूरै माओवादीको कब्जामा थियो। अहिले माओवादी खुला राजनीतिमा छ।

भूमीगत हुँदा आधार क्षेत्र घोषणा गरेका थुप्रै एरियामा कांग्रेस,एमाले लगायतका पार्टीको वर्चश्व छ। तर रुकुममा माओवादीको पकड कायम छ। संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा सबै क्षेत्रमा जितेको माओवादीले यसपटक पहिलो चरणमा निर्वाचन भएका ६ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पद जित्यो।रुकुमको मुसिकोट नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका देविलाल गौतम विजयी भएक। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका महेन्द्र केसीलाई कडा प्रतिस्पर्धाबीच १७६ मतले पराजित गरेर गौतम प्रमुखमा विजयी भएका हुन्।

गौतमले ४ हजार ३ सय ५० मत प्राप्त गरे भने कांग्रेसका केसीले ४ हजार १ सय ७४ मत पाए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रेमकुमारी सुनार केसी ३ सय २१ मतान्तरले विजयी भइन् छन्। उनले ४ हजार ४ सय ७९ र उपप्रमुखमा पराजित बालकुमारी गिरीले ४ हजार १ सय ५८ मत प्राप्त गरिन्।

यस नगरपालिकामा प्रमुख र उपप्रमुख जित्न नसकेपनि कांग्रेसले माओवादीलाई कडा टक्कर दियो। १४ वडा मध्ये ९ वडामा माओवादी विजयी हुँदा कांग्रेसले ५ वडा जित्यो। वडा नम्बर १२ मा वडा कांग्रेसले वडा अध्यक्ष जितेपनि बाँकी सबै सदस्य माओवादी केन्द्रका विजयी भए। त्यस्तै वडा नम्बर १३ मा माओवादीका अध्यक्ष र १ सदस्य विजयी भए। कांग्रेसका ३ जना सदस्य विजयी भएका छन्। अन्य वडामा दुबै पार्टीका प्यानलै विजयी भए।

रुकुमको चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका विजयी बने। दुबै जनाले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे।

नगर प्रमुखमा शर्माले नेपाली कांग्रेसका बलबीर गोसाईलाई २ हजार २ सय १६ मतको भारी अन्तरले पराजित गरे। शर्माको ५ हजार ४ सय २० मत आएको छ भने गोसाईको ३ हजार २ सय ४ मत मात्रै आएको छ। उपप्रमुख जितेकी माओवादीकी राधा रोकाले कांग्रेसकी मनिषा भण्डारीलाई २ हजार २ सय ८५ मतले पछि पारिन्। रोकाले ५ हजार ३ सय २५ मत ल्याईन् भने भण्डारीले ३ हजार ४० मत मात्रै ल्याएकी छन्।

चौरजहारीमा नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका शेरबहादुर केसीले २ हजार २ सय ८२ मत ल्याए भने उपप्रमुखकी उम्मेदवार कल्याणी खड्काको पक्षमा २ हजार ४ सय १३ मत आएको छ। १४ वडा रहेको चौरजहारीमा नेकपा माओवादीले १०, नेपाली कांग्रेसले ३ र नेकपा एमालेले १ वडामा जित हासिल गरेका छन् । १४ हजार ९ सय १९ मतदाता रहेको चौरजहारी नगरपालिकामा ११ हजार ६ सय ८७ मत खसेको थियो।

रुकुमको आठविसकोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई २ हजार ३४ मतान्तरले पराजित गरेर केसी आठविसकोट नगरपालीकाको प्रमुखमा निर्वाचित भएका हुन्। माओवादीका केसीले ५ हजार ६ सय २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बटालाले ३ हजार ५ सय ९५ मत प्राप्त गरे। नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत पाएका छन्।

उपप्रमुखमा पनि नेकपा माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन्। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी अनिता बुढालाई २ हजार ४ सय ३१ मतान्तरले हराएर नेपाली उपप्रमुखमा विजयी भएकी हुन्। नेपालीले ५ हजार ६ सय १८ पाईन् भने कांग्रेबाट उम्मेदवार रहेकी बुढाको पक्षमा ३ हजार १ सय ८७ तथा एमालेकी अमृता शाहको पक्षमा २ हजार ७ सय ८५ मत खस्यो। आठविसकोटका कुल १४ वडा मध्ये ११ वडामा माओवादी केन्द्र, २ वडामा कांग्रेस र १ वडामा नेकपा एमाले विजयी भएको छ।

सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नरबहादुर पुन विजयी भएका छन्। कांग्रेसका गोरखप्रसाद चन्दलाई पराजित गर्दै पुन गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। ४ हजार ६ सय ५० मत ल्याएका पुनले चन्दलाई २ हजार ३६ मतान्तरले पराजित गरे। चन्दले २ हजार ६ सय १४ मत पाएका छन्।

उपाध्यक्षमा विजयी माओवादी केन्द्रकी इन्दिरा ओली नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी पुष्पा ओलीलाई पराजित गरिन्। इन्दिराको ४ हजार ६ सय ६१ मत छ भने पुष्पाको २ हजार ६ सय ३ मत छ। त्यस्तै नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार मनवीर घर्तीले ५ सय ५६ मत ल्याएका छन्।

एमालेबाट उपाध्यक्षकी उम्मेदवार बनेकी लक्ष्मी पुनको पक्षमा ५ सय ९९ मत खसेकोछ । उक्त गाउँपालिकाका ११ मध्य १० वडामा माओवादी केन्द्रकै प्यानल विजयी बनेको छ। १ देखि १० नम्वर वडामा माओवादीका उम्मेदवारले जितेका हुन् भने ११ नम्वर वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

बाँफिकोट गाउँपालिकामा माओवादी केन्द्रद्धारा कांग्रेस र एमालेको गठबन्धन पराजित भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन्। गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका धर्मबहादुर केसीले जितेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठालाई ७ सय ५१ मतले पराजित गर्दै केसी विजयी बनेका हुन्। केसीले ३ हजार ५ सय ६४ मत ल्याए भने वाँठाको पक्षमा २ हजार ८ सय १३ मत आएको छ।

बाँफिकोट गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै मनकला पुन विजयी भइन्। कांग्रेस एमालेको सयुंक्त प्यानलकी ब्युझना पुन देवकोटालाई १ हजार ४ सय ७७ मतको फराकिलो अन्तरले पछि पारी पुन विजयी बनेकी हुन्।

पुनको पक्षमा ३ हजार ५ सय ७९ मत आएको छ भने देवकोटाले २ हजार १ सय २ मत मात्र ल्याईन्। बाँफिकोट गाउँपालिकाको अध्यक्ष -उपाध्यक्ष सहित केही वडामा कांग्रेस एमालेले सयुंक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए। गाउँपालिका अध्यक्षमा कांग्रेसलाई एमालेले सहयोग गरेको थियो भने उपाध्यक्षमा एमालेलाई कांग्रेसले सहयोग गरेको थियो। माओवादी केन्द्रले बाँफिकोट गाउँपालिकाका १० वटै वडामा जितेको छ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्दका झक्कुप्रसाद घर्ती विजयी भए। नेपाली कांग्रेसका देववहादुर ओलीलाई १ हजार २ सय ९५ मतले पराजित गर्दै माओवादीका घर्ती विजयी भए।

घर्तीले ३ हजार ९ सय ५८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी ओलीले २ हजार ६ सय ६३ मत पाए। अध्यक्षका उम्मेदवार एमालेका गणेशबहादुर खड्काले ६ सय ५२ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा माओवादी केन्दकै निर्मला बिष्ट खड्का विजयी भईन्। निकटतम प्रतिद्धन्दी कांग्रेसकी देवि पुनलाई १ हजार ३ सय २८ मतान्तरले हराउँदै उनी विजयी भएकी हुन्।

निर्मलाले ३ हजार ९ सय ८० मत प्राप्त गरिन् भने देविले २ हजार ६ सय ७७ मत ल्याईन्। उपाध्यक्षमा एमालेकी उम्मेदवार कल्पना ओलीको पक्षमा ६ सय ७७ मत खसेको थियो। त्रिवेणीका १० वडा मध्ये माओवादी ८ र नेपाली कांग्रेस २ वडामा प्यानलसहित विजयी भए।

कुल ७३ वडा मध्ये ५८ मा माओवादी

विजयी पहिलो चरणमा निर्वाचन भएका जिल्लाका कुल ७३ वडा मध्ये माओवादी केन्द्र ५८ वडामा विजयी भएको छ। कांग्रेस १५ वडामा विजयी हुँदा एमाले २ वडामा मात्र विजयी भएको छ।

माओवादीले बाँफकोट गाउँपालिकाका सबै १० वटै वडा जितेको छ। त्यस्तै मुसिकोट नगरपालिकाका ९, चौरजहारी नगरपालिकाका १०, आठ-विसकोट नगरपालिकाका ११, सानीभेरी गाउँपालिकाका १० र त्रिवेणी गाउँपालिकाका-८ मा माओवादीका उम्मेदवार विजयी भएका छन्।

कांग्रेस मुसिकोटका ५, चौरजहारीका ३, त्रिवेणीका २, आठविसकोटका २ र सानीभेरीका १ वडा विजयी भएको छ। एमाले भने चौरजहारीको एउटा र आठविसकोट नगरपालिकाको एउटा वडामा मात्र विजयी भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.