|

काठमाडौं : काठमाडौंको टेबहाल घर भएका दीपकरत्न बज्राचार्य (३५) ले यस वर्षको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि जिते।

'साथीहरुको लहलहै' मा प्रतियोगितामा फोटो पठाएका उनी सर्वोत्कृष्ट अवार्ड पाएको खबरले मख्ख छन्। उनलाई प्रतियोगिताको आयोजक पीजे क्लबबाट एक लाख रुपैयाँ पाउनेछन्। फोटो पत्रकारिताको दुनियाँमा खास नाम नसुनिएका बज्राचार्यले नेपालमा प्रतिष्ठित मानिने अवार्ड जितेपछि उनी को हुन् भन्ने चासो सबैमाझ छ।  

भूकम्पमा भत्किरहेको घरको दृश्य क्याप्चर गरेका बज्राचार्य शोखले फोटो खिच्छन्। तर उनी पेशाले पुजारी हुन्। न्युरोडस्थित संकटा मन्दिरको पुजारी बज्राचार्य मानिसहरुको ग्रहशान्ति समेत गर्ने गर्छन्।

नेपाल फोटो प्रतियोगिता २०७३ को अवार्ड जितेका बज्राचार्यलाई थाहाखबरका विकास लम्सालले सोधेका थिए- तपाईँको फोटोले अवार्ड जितेछ कसरी खिच्नुभएको थियो? अनि पुरस्कारबापत एक लाख जित्नुभएछ, के गर्नुहुन्छ? पढ्नुस् उनको जवाफ-

२०७२ बैशाख १२ गते पूजाको सिलसिलामा स्वयम्भू गएको थिएँ। भान्जा र म फोटो खिच्दै थियौं। एक्कासी भूकम्प गयो। एउटा हातले भान्जालाई समाउँदै अर्को हातले फोटो खिच्दै हिँडे। मसँग भएको 'क्यानोन सेभेन डि' क्यामराबाट फोटो खिचेको हुँ।

फोटोग्राफी मेरो रुची हो। ल्यान्डस्केप फोटोहरु खिच्न मन लाग्छ। फोटो खिच्नकै लागि म वर्षमा एक पटक ट्रेकिङमा पनि जाने गरेको छु। यसभन्दा अघि पनि फोटो धेरै खिचेको थिएँ तर प्रतियोगितामा भाग लिएको थिइनँ। यो पटक साथीहरुले पठाउन कर गरेपछि फोटो पठाएको थिएँ। सबै विधामा फोटो पठाएको भएपनि न्युज विधामा पुरस्कार पाएछु।

पुरस्कारमा पाउने एक लाख रुपैयाँ फोटोग्राफीकै लागि प्रयोग गर्ने विचार गरेको छु। मेरो लेन्स राम्रो छैन, सायद लेन्स किन्छु होला।

फोटो साभारः mysansar.com

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.