|

२०६३ साल जेठ २३ गते चितवनको तत्कालीन कल्याणपुर गाविसको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले राखेको विद्युतीय धरापमा परी ४१ सर्वसाधारणले ज्यान गुमाए, कयौँ घाइते भए। बाँदरमुढे घटनाका नामले चर्चित यो घटनापछि पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी शीर्ष नेतृत्वले माफी मागेको थियो। यही माडीबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल प्रमुख निर्वाचित भएका छन्। ढकाल निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेमप्रसाद महतोसँग झिनो मतान्तरले माडी नगरपालिकाको प्रमुख बने। ढकालले महतोभन्दा ४३ मत बढी अर्थात ३ हजार ८७२ मत ल्याए। हिंसात्मक विद्रोहको पीडा बिर्सेर माडीले माओवादीलाई पाँच वर्षका लागि नगरको नेतृत्व दियो। नगर प्रमुखको जिम्मेवारी पाएका ६३ वर्षीय ढकालसँग माडीको विकासका लागि के छन् योजना? युद्धको घाउमा मह्लम लगाउने के छन् सूत्र? थाहा सञ्चार नेटवर्कका देवीराम देवकोटाले उनीसँग कुराकानी गरेका छन्।


तपाईँ जुन नगरपालिकाको प्रमुख निर्वाचित हुनुभयो, त्यहाँको बाँदरमुढेमा तत्कालीन माओवादीले थापेको विद्युतीय धरापमा निर्दोष नागरिक मारिएका थिए। माओवादीको शीर्ष नेतृत्वले नै क्षमा माग्नुपरेको थियो। तपाईँको पार्टीलाई त्यही घटनाको आधारमा आलोचना पनि गरिन्छ। त्यो घटना भएको ठाउँमा तपाईँलाई जित्न कसरी सम्भव भयो?

उक्त घटना हाम्रो भूलले घट्यो। धेरै मान्छेको ज्यान गयो। अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएको बेलामा त्यो ठाउँको लागि ६० लाख रुपैयाँ बजेट पनि छुट्याइयो। तर पार्टीलाई बदनाम गर्न केही मान्छेले बाँदरमुढेबारे नियतबस प्रचार गरे। जो उक्त घटनामा पीडित भए, मृतकका परिवार, घाइते र अपांगहरुलाई सम्बोधन गर्ने कुरामा पार्टी एकदमै गम्भीर छ। अहिलेको सरकारले घाइते, अपांग र मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ दिने भनेको छ। बाँदरमुढेमा घाइते भएका, अपांग भएका साथीहरुसँग मैले घरमै गएर कुराकानी गरेँ। कसैले डलरको खेती गरेर बाँदरमुढे घटनाबारे दुश्प्रचार गरेर डलर कमाउन त सक्षम होलान् तर तपाईँहरुको घाउमा मह्लमपट्टी लगाउने पक्षमा कोही छैनन्, त्यसैले अधिकारसम्पन्न स्थानीय तहको नेतृत्व गर्नका लागि मलाई भोट दिनुस्, हामीलाई भोट दिनुस्, माओवादी केन्द्रलाई भोट दिनुस् भनेँ। हामी त्यसलाई सम्बोधन गरेर तपाईँहरुको चहर्‍याइरहेको घाउमा मह्लमपट्टी लगाउने काम गर्छौँ भनेँ। मह्लमपट्टी लगाउने अवसर दिनुस्, गरेर देखाउँछु भनेँ। जनताले विश्वास गर्नुभयो। डलरको खेती गर्नेहरुले जनतालाई मह्लमपट्टीको काम गर्दैनन्, माओवादीले क्षमयाचना पनि गरेकोले काम गरेर देखाउँछन् भन्ने बुझेर जनताले भोट दिनुभयो।

बाँदरमुढे घटना भएको ठाउँमा नेपाल सरकारको नाममा तीन बिगाह जग्गा छ, त्यहाँ मृत्यु हुने मानिसहरु र इतिहासको सम्झना हुने गरी बाँदरमुढे स्मृति पार्क बनाउने पार्टीको निर्णय छ। यी कुराहरु राखिसकेपछि मलाई जनताहरुले विश्वास गर्नुभयो र, जिताउनुभयो। अब उहाँहरुलाई सम्बोधन गर्ने मेरो दायित्व हो।  

बाँदरमुढे घटनामा आफन्त गुमाएकाहरु छन्, घाइतेहरु छन्, तपाईँले कसरी मह्लम लगाउनुहुन्छ? 

मृत्यु भैसकेकाको लागि राज्यको तर्फबाट १० लाख दिने भनेर निर्णय भैसकेको छ। उहाँहरुको परिवार र जो घाइते तथा अपांगहरु हुनुहुन्छ, उहाँहरुको लागि दुई किसिमले सोचेको छु। एउटा, हामीले उहाँहरुलाई कहीँ रोजगार दिन सकिन्छ कि वा आर्थिक सहयोग गरेर रोजगार सिर्जना गर्न सकिन्छ कि वा केही पनि गर्न नसक्ने अवस्था रहेछ भने उहाँहरुलाई जीवन निर्वाहका लागि न्यूनतम कति लाग्छ, पठनपाठन के गर्ने, जो स्वयं घाइते वा अपांग छ, उसलाई कसरी सम्बोधन गर्ने भन्ने हिसाबले सोचिराखेको छु। कतिपय व्यक्ति अलिकित प्रोपगन्डा मच्चाउने तर साधारण जनतालाई सम्बोधन गर्ने नभई चलखेल गर्ने पनि देखेको छु। उहाँहरुसँग पनि बसेर उचित ढंगले सम्बोधन गर्न प्रयत्न गर्छु। हामीसँग निकटता हुन खोज्नुभएन भने पनि तल जो जो हुनुहुन्छ, उहाँहरुलाई बोलाएर कुनै न कुनै ढंगले सम्बोधन गरेर उहाँहरुको घाउमा मह्लमपट्टी लगाउने कुरा मैले सोचिरहेको छु। म त्यो गर्छु। 

तपाईँको विरोध गर्नेहरु पनि छन् नि? चुनौतीहरुलाई कसरी समाधान गर्नुहुन्छ?

विकास सबैको लागि आवश्यक हो। विकास ठाकुर ढकालको लागि वा माओवादी केन्द्रको लागि मात्र आवश्यक होइन। जस्तै माडीमा दक्षिण बेल्ट (पहाडी बेल्ट) मा खानेपानीको ठूलो समस्या छ। त्यहाँ एमालेका साथीहरु जानुभयो भने पनि पानीको व्यवस्था गर्छौँ भन्नुहुन्छ। कांग्रेसका साथीहरुले पनि भन्ने त्यही हो। राप्रपा गयो भने पनि हामी पिउने पानीको व्यवस्था गर्छौँ भन्ने हो। मैले पनि त्यही भनिरहेको छु। यो मेरो मात्र नारा होइन। यो साझा नारामा राजनीतिक हिसाबले मलाई असफल गराउने सोच्नुभयो भने म असफल हुन्न। असफल त जसले त्यो प्रयास गर्छ ऊ हुन्छ। बैठकमा, बजेटमा पिउने पानीलाई व्यवस्थित गरौँ भनेर राख्दा हुन्न भनेर मलाई असफल बनाउन खोज्नु भयो भने म जनताकहाँ गएर भन्छु कि मैले नगर परिषदमा राखेँ, आर्थिक वर्षको बजेटमा राखेँ, त्यो गर्दाखेरी पनि भएन। जस्तो म तुरुन्तै ८/१० दिन पछाडि नै विज्ञहरुको टोली र इन्जिनियरहरुलाई माडीको दक्षिण पहाडी भागमा पिउने पानीको कसरी व्यवस्थापन गर्न सक्छौँ भनेर सम्भाव्यता अध्ययन गर्दै छु। कोही सहभागी हुन्नौँ भन्नुभयो भने त उहाँहरु नै जनताबाट टाढा हुनुहुन्छ। मूलरुपमा परिवर्तनका पक्षधर पार्टीहरु एमाले र हामी नै यहाँ छौँ। र, त्यो दायित्वलाई पूरा गर्ने सवालमा एमालेका साथीहरु पनि गम्भीर हुनुहुन्छ, त्यो हिसाबले सोच्नुहुन्छ भन्ने मेरो विश्वास छ।

माथिल्लो बेल्टमा रिङखोला छ, त्यसले जग्गाहरु कटान गरेर २/५ बिघा जग्गा हुने मान्छे पनि अहिले सकुम्बासीको अवस्थामा छन्। त्यहाँ तटबन्धनको कुरा उठाएका छौँ। एमाले र कांग्रेसका साथीहरुले पनि उठाउनुभएको छ। माडी  पनि साझा समस्या हो। साझा समस्याका विषयमा दलका मानिसहरुको धारणा एउटै भैसकेपछि त्यहाँ राजनीतिक पूर्वाग्रह भएर कसैले रोक्ने कुरा हुँदैन। मैले व्यक्तिगत रुपमा वा पार्टीगत रुपमा मैले केही गर्न खोज्ने अवस्था रह्‍यो भने स्वभाविक रुपमा उहाँहरुले विरोध गर्नुपर्छ। त्यो नगरीकन हुँदैन। किनकि एउटा दलले पार्टीगत हिसाबकिताबले आफ्नो निश्चित स्वार्थको लागि गर्न खोजेको कुरामा त खबरदारी गर्ने कुरा एकदमै राम्रो हो। म त्यसका लागि धन्यवाद पनि दिन्छु। तर विकास निर्माणको सन्दर्भमा माडी साझा समस्या हो। माडीका जनताहरुको समस्या हो। त्यसको बारेमा हामीले सबै गम्भीर हुनुपर्छ। यसमा विमति हुन्छ वा मलाई असफल बनाउने गरी अवरोध हुन्छ भन्ने मैले सोचेकै छैन। 

त्यसबाहेक माडीको विकासका लागि के योजना छन्?

माडी एउटा अन्धकारमय ठाउँको रुपमा थियो। विकटताका हिसाबले, बत्तीका हिसाबले पनि अन्धकार। प्रशासनिक हिसाबले पनि उस्तै। राष्ट्रिय निकुञ्जका जनावरबाट पीडित थियो यो ठाउँ। यसरी माडीलाई चिन्दथे मान्छेहरु। माडी दुर्गम स्थान हो, पछाडि परेको ठाउँ हो भनेर जसरी चिन्दथे, त्यसलाई उल्ट्याएर मैले माडी हेर्न लायक नगरपालिका हो भनेर विकास गर्ने सोचिराखेको छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.