भन्छन्- अनशनपछि मोटाउन थालेँ

|

काठमाडौं : स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै यस अघि १० पटकसम्म आमरण अनशन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. गोविन्द केसी फेरि अनशन बस्‍दैछन्। प्रदेश नम्बर ५ को दाङस्थित घोराहीबाट शनिबार एघारौँ अनशन सुरु गर्ने तयारी उनको छ।

सदा झैँ यसपटक पनि उनले 'विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने' माग राखेका छन्। पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउन माग गर्दै अनशन बसेका उनले यसपटक प्रधानन्यायाधीश सुशीला कार्की माथि संसदमा विचाराधीन महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेका छन्।

थोरैमा ६ दिन र बढीमा २२ दिनसम्म आमरण अनशनको रेकर्ड बनाएका उनी आफ्ना माग पूरा नभएसम्म सम्झौता गर्दैनन्। यति लामो समयसम्म उनी बिना पानी र बिना खाना कसरी बस्छन्? जबकि चिकित्सकहरुका अनुसार मानव शरीरलाई एक दिनमा कम्तिमा तीन पटक खाने कुरा चाहिन्छ।

डा . केसी यति लामो समयसम्म अनशन बस्दा उनलाई कस्तो अनुभव हुन्छ? उनी अनशन बस्नु अगाडि कस्ता तयारी गर्छन्? थाहाखबरले उनीसँग जिज्ञासा राखेको छ। २०६९ असार २१ गते पहिलोपटक अनशन बस्नुअघि ११ महिना तयारी गरेको डा. केसीले बताए। 'पहिलोपल्ट अनशनका लागि तयार गर्न  मलाई झन्डै ११ महिना लाग्यो। मानसिक र शारीरिक रुपमा फिट भइसकेपछि अनशन सुरु गरे', केसीले भने, 'पहिलोपल्ट अनशन बस्दा धेरै लामो तयारी गरे पनि त्यसपछि भने बानी पर्‍यो। पछिपछि खासै तयारी गर्नु परेन।' 

के खान्छन् केसी?

केसी अनशन बस्नुअघि र अनशन बसेको बेलाको सन्तुलन मिलाउन केही पूर्व तयारीहरु गर्छन्। जस्तो उनी शरीरमा रगतको मात्रा, सुगर र प्रेसर परीक्षण गर्छन्। केही दिनअघिदेखि नै उनी खानेकुरा छाड्छन्। '१० पटकसम्म अनशन बसेकोले मलाई बानी परिसक्यो। शरीरमा रगतको मात्रा, सुगर र प्रेसर चेक गर्छु। अनशन बस्ने केही दिन अगाडिदेखि नै खाना खान छोड्छु', उनी भन्छन्, 'एक्कासी खाना छोड्दा शरीरमा छिटो असर गर्ने हुँदा केही दिन अगाडिदेखि खाना खान छोडेर ग्रिन सलाद र दही खान्छु।'

अनशन बस्ने दिन भने उनी कोक पिउँछन्। उनले कोक पिउनुको कारण हो, कोकमा हुने ग्लुकोजको मात्रा। कोकमा धेरै ग्लुकोज हुने हुँदा यसले शरीरमा केही दिनसम्म चिनीको मात्रा कम हुन नदिने उनी बताउँछन्। 'कोक मेरो मनपर्ने पेय पदार्थ हो। अहिले दिनमा तीन वटासम्म कोक खान्छु', उनी भन्छन्, 'मःमः पनि मेरो प्रिय खाने कुरा हो, अनशन बस्‍नु केही घन्टा अगाडि म भेज मःमः खान्छु।' 

के भोक लाग्दैन उनलाई?

स्वभाविक प्रश्न उठ्छ- एक दुई छाक खान नपाउँदा खप्‍न नसकिने भोक डा. केसीले कसरी थाम्छन्? 'अनशन बस्दा मलाई कहिलै भोकको अनुभव हुँदैन। धेरै दिन खानेकुरा नखाएर शरीर मरेतुल्य भए पनि मलाई अझसम्म अनशनको समयमा भोकको अनुभव भएको छैन', उनी भन्छन्। अन्य बेला भने केसीले खानेकुरा एकै पटक नभई बेला बेलामा खाइरहने आफ्नो बानी रहेको बताए। 

अनशनपछि मोटाए केसी

अनशन बस्दा भोकको अनुभव नभए पनि अनशनपछि भने असाध्यै भोक लाग्‍ने गरेको उनी बताउँछन्। 'लामो अनशनको कारणले होला, अनशनपछि धेरै भोक लाग्छ', उनी भन्छन्, 'खानेकुरा धेरै खाएर होला। अनशन बस्न थालेदेखि मोटाउन थालेको छु।' 

अनशन तोड्दा जुस खाए पछि पनि उनी आफूलाई मन पर्ने कोक खाने गरेको बताउँछन्। 'अनशन तोड्दा जुस खुवाउँछन्, त्यसपछि म कोक नै खान्छु', उनी भन्छन्। 

सधैँ काठमाडौंमा अनशन बस्ने गरेका डा. केसीले यसपटक अनशनका लागि किन राजधानीबाहिरको ठाउँ किन रोजे?

'सरकारले हरेक प्रदेशमा मेडिकल कलेज खोल्ने सम्झौता गरेको छ। त्यो सम्झौताअनुसार स्वास्थ्यमन्त्री गगन थापाले आफ्नै कार्यकालमा दाङबाट मेडिकल कलेज स्थापना थाल्ने प्रतिबद्धता जनाउनुभएको थियो। पूरा भएन, त्यसैले सांकेतिक दवाब दिन दाङ रोजिएको हो', उनका एक सहयोगीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.