|

चितवन : भरतपुर महानगरपालिकाको मतगणना उत्तरार्धतिर पुग्दा चुनावी महाभिडन्त झन् रोचक बन्दै गएको छ। बराबरी जस्तो देखिने फुटबलको अन्तिम पाँच मिनेटको जस्तो रोमाञ्चकता चितवनमा छ। देशको ध्यान केन्द्रित भइरहेको छ। महानगरपालिकाको प्रमुखमा जसले जिते पनि मतान्तर ५ सयदेखि एक हजारको मात्र रहने अनुमान गर्न थालिएको छ।

यो समाचार तयार पार्दा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली १५ सय ४९  मतले अगाडि छन्। तर एमालेको पकड मानिएको १६ नम्बर वडामा आशातित मत नआएपछि अन्य क्षेत्र कांग्रेसको पकड मानिएकाले एमाले समर्थकहरु उत्साहित हुन सकेका छैनन्। मतान्तर धेरै भएकाले एमालेसँग जित्ने आशा भने बाँकी नै छ।

मतगणना हुन बाँकी रहेको क्षेत्रमा एमाले उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले जित्ने दुई पार्टीको दावी छ। दुवै पक्षको आआफ्नो दावी र विश्लेषणले पनि अहिले महाभिडन्त रोचक बनेको छ। यसमा दुबै उम्मेदवारको आशा भने कांग्रेसकै भोट हो। उसको मत कता ढल्किन्छ त्यसैमा जित र हारको आधार खडा हुन्छ।

यो थाहा पाउन वडा नम्बर १७ र २३ को मत गणनाको नतिजा कुर्नुपर्छ। तर एकजना विष्लेषक रमाकान्त सापकोटा पल्लाभारी देवीकै देख्छन्। उनको मत विगतदेखिको ट्रेन्डको मुल्यांकन हो। तर अहिलेको मतको टेन्ड फरक छ।

मतगणना सुरु भएको  बजार क्षेत्रमा कांग्रेसको मत एमालेले धेरै पाएको थियो। पश्चिम क्षेत्रमा भने एमालेले कांग्रेसको कम मत पायो। जसको फाइदा रेणुले ३८ सय ३६ पुगेको मतान्तर १५ नम्बर वडा गन्दासम्म १२३५ मा झारिन्। अहिले एमालेले क्रमश मतान्तर बढाउँदै १५४९ मतले लिड  छ। १६ वडा गनिसक्दा मतान्तर दुई हजार पुग्ने एमालेको आशा छ।

दोस्रो संविधानसभा चुनावमा सुशील कोइराला निर्वाचित भएको भरतपुर पश्चिमको मतगणना भएको छैन। यो ठाउँको ५० प्रतिशत मतमात्र रेणुले पाएमा उनको जितको सम्भावना कम हुने र ६० प्रतिशत मत पाएमा जितको सम्भावना बढी आँकलन गरिएको थियो। यही क्षेत्र भरतपुर १६ को करिब ५२ देखि ५५ प्रतिशत मात्रै कांग्रेसको मत रेणुले पाएकी छन्।

यहाँ एमालेले मत धेरै पाएकाले पनि रेणुलाई जित्न सकस परेको हो। तैपनि ३२ सय मत गन्दा देवीलाई १५० मतमै रोक्न सफल हुनु रेणुका लागि ठूलो सफलता हो। यो वडामा एमालेको ५०० मत बढी ल्याउने आँकलन थियो। तर पछिल्ला एमालेका अनुमान फेल खाँदै गएका छन्।

वडा नम्बर २५ मा पनि एमालेले ३०० मतले जित्ने अनुमान गरिएकोमा परिणाम उल्टो आयो । वडा नम्बर २४ र १६ मा एमालेले आफ्नो पकड भन्दै आएको क्षेत्रमा समेत उसले खासै मत ल्याउन सकेन। २४ नम्बर वडामा १६४ मत बढी ल्यायो भने १६ को आधा भन्दा बढी गन्दा १५० मत मात्रै बढी ल्याएकाले एमालेहरु पनि निराश छन्।

१२ वडा गन्दा ३ हजार ८३६ को विशाल स्कोर (मत)  एमालेले ल्यायो। त्यति बेला आफू १ हजार ५०० ले जित्ने दावी उम्मेदवार देवी ज्ञवालीले नै गरेका थिए। सरसरती हेर्दा एमाले अगाडि देखिएपनि गणना बाँकी रहेको वडामा भिजेकाहरुले भने अब रेणुले अग्रता लिने दावी गर्छन्।

एमालेले ल्याएको फराकिलो अग्रता वडा नम्बर १३, १४, २५,२६ को मत मतगणना सकिंदा संयुक्त प्यानलकी रेणु दाहालले कम गरिन्। अब प्रत्येक वडामा रेणुले औसतमा २५० मत बढी ल्याउनुपर्ने देखिन्छ।

वडा नम्बर २३ मा एमालेले १ देखि २ सय बढी ल्याउने अनुमान गरेको छ। २२ मा रेणु अगाडि आउने एमालेकै भनाइ छ। यसमा कति अन्तर ल्याउँछ भन्नेमा भर पर्ने देखिन्छ। २२ ले रेणुको मत धेरै बढेमा जित्ने आधार बलियो हुन्छ। २२ मा मत रेणुले ल्याउन सकिनन् भने बाँकी वडामा ३/३ सय बढी मत रेणुले ल्याउँदा पनि एमाले बलियो नै हुने दावी उसको छ। एमालेले अबको वडा कांग्रेसको बलियो भएकाले धेरै भोट जाँदैन भन्ने अनुमान गरेको छ।

अहिलेसम्म गणना भएको मतको ट्रेन्ड पनि माओवादी बढी भएको ठाउँमा एमालेलाई पछि पारेको देखिन्छ भने कांग्रेसको बढी भोट भएको ठाउँमा एमाले कि त कडा प्रतिस्पर्धामा नभए एक, दुइ सय मत बढी ल्याएका छन्। एमालेले यही ट्रेण्डलाई जित्ने आधार बनाएको छ।

वडा नम्बर ६ र १५ मा मात्रै कांग्रेसले रेणुलाई राम्रै काँध थापेको थियो।  अरुमा त्यसरी सहयोग भएको देखिएको छैन। गणना हुन बाकी वडामा रेणुलाई कांग्रेसले काँध थाप्नैपर्छ। अर्थात कांग्रेसको ६० प्रतिशत मत रेणुले पाएको हुनुपर्छ। यो सम्भावना सही या गलत के हो भन्ने कुरा वडा नम्बर १७ को गणनापछि मात्र थाहा हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.