|

काठमाडौं : राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा  नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन्। उनले भने,‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेसी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्‍यो भने देखाउन सक्छु।’

नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दापनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए। उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो।’

नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५५ देखि ५६ प्रतिशत स्थानमा विजयी हाँसिल गर्ने दाबी गरेका छन्। उनले भने,‘हुन त एमाले अध्यक्ष केपी ओलीले अब कांग्रेस पहिलो पार्टी बन्ने दिन गए भन्नुभयो, तर उहाँहरुलाई यो भन्ने छुट कम्तीमा अब दश दिनमात्रै बाँकी छ, १६ गते असार त परिणाम नै आउँछ नि, रिजल्ट हेरेपछि उहाँहरुको मुख बन्द हुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरे। उनले भने,‘लेखेर राख्नुहोस्, हामी अब हुने निर्वाचनमा ५१ प्रतिशत स्थानमा विजयी हाँसिल गर्छौं।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले चुनावमा कति प्रतिशत जित्ने या नजित्ने भन्ने कुरा ज्योतिषीले बताउने कुरा भएको भए पनि आफ्नो पार्टीले ४० प्रतिशतभन्दा बढी स्थानमा दोस्रो चरणको निर्वाचनमा विजयी हासिल गर्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.