|

  • भूपाल थापा-

कपिलवस्तु: कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित त्रिशुली सामुदायिक वनभित्र एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। 

बलात्कारको आरोपमा दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरुसिंगेका सागर पोख्रेल तथा सुनिल अग्रहरी रहेका प्रहरीले जानकारी दिएको छ। 

सामूहिक बलात्कारमा परेकी वाणगंगा नगरपालिका– ४, गजेहडाकी १९ वर्षकी युवतीका अनुसार आफू साथीसँगै गोरुसिंगेस्थित अर्घाखाँची चोक किनारमा बसिरहेको बेला ती दुई जना केटाले आफ्ना साथीलाई कुटपिट गरी जंगलभित्र लगेर जबरजस्ती गरेका हुन्। 

उनले प्रहरी र सर्वसाधारण समक्ष सूर्य चिह्नको टिर्सट र अर्को रूख चिन्हको टिर्सट लगाएका दुई युवाले बलात्कार गरेको बताएकी इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ। 

मंगलबार दिउँसो करिब ३ बजे युवकलाई कुटपिट गरेर लखेटेको र युवतीलाई जबर्जस्ती सडकसँगै जोडिएको त्रिशुली सामुदायिक वनभित्र लगेको घटनाका प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्। 

ईलाका प्रहरी कार्यालय गोरुसिंगेले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको जनाएको छ। युवतीको मेडिकल जाँच भएको र बलात्कारको पुष्टि भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मीनबहादुर आलेले जानकारी दिएका छन्। 

बलात्कारमा संलग्न दुवैलाई म्याद थप गरी कारवाही अघि बढाइने बताइएको छ। 

निर्वाचनका बेला आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै एमाले तथा कांग्रेस नेता तथा कार्यकर्ताले प्रहरीलाई मुद्धा फितलो बनाउन व्यापक दवाब दिएको श्रोतको भनाइ छ । अनेरास्ववियुका इकाई सदस्यसमेत रहेका आरोपी सागर पोख्रेललाई छुटाउन यतिखेर एमालेको व्यापक दवाब आएको सुरक्षाकर्मीहरूले समेत स्वीकार गरेका छन्। ‘घटना मिलाउन इलाकामा दवाब आएको सुनिएको छ तर अनुसन्धानमा समस्या आउँदैन, नियमानुसार कारवाही गर्छौं’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए।

यता, एमाले तथा कांग्रेसका नेताहरूले भने बलात्कार आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरू नभएको दाबी गरेका छन्। निर्वाचनका बेला आफूहरूलाई बदनाम गराउने खेल भएको भन्दै प्रहरीलाई कुनै प्रकारको दवाब नदिएको एमाले, कांग्रेसका जिल्ला नेताहरूले बताएका छन्। 

पक्राउ परेका पोख्रेल म्यादी प्रहरीमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.