थाहाखबर डटकमको दोस्रो वर्ष प्रवेश

|
२०७३ साल असार १५ गते आयोजित थाहाखबर डट कमको शुभारम्भ कार्यक्रम।

'हामी कसैका होइनौँ र कोही हाम्रो होइनः सत्य र ठीक हाम्रो, हामी सत्य र ठीकका' भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी एक वर्षअघि आधिकारिक रूपमा सार्वजनिक भएका थियौँ। एक वर्षको अवधिमा हामीले त्यही आदर्शलाई पछ्याउने प्रयत्न गर्‍यौँ।

यो अवधिमा हामीले तपाईं पाठक, विज्ञापनदाता, शुभेच्छुकहरूबाट अपेक्षित साथ, सहयोग र विश्वास पाएका छौँ। त्यो विश्वास हाम्रा लागि आगामी दिनमा काम गर्ने उत्साह र प्रेरणा बनेको छ।

नेपालमा अनलाइन पत्रकारिता अभ्यासको इतिहास करिब दुई दशकको छ। तथापि, अनलाइन पत्रकारिताले उल्लेख्य फड्को मारिरहेको छ। विज्ञान र प्रविधिको विकासको परिणाम आज संसार एउटा साँघुरो गाउँका रूपमा देखिएको छ। विश्वमा भए गरेका कुनै पनि घटना र सूचना सामग्री मानिसले संसारको अर्को कुनामा बसेर केही मिनेटमै थाहा पाउन सक्छ। 

पछिल्लो समय विकसित र बिस्तारित प्रविधिको प्रयोग पत्रकारितामा हुन थालेपछि नेपालमा पनि त्यसप्रति आकर्षण र त्यसको प्रयोग बढ्दै गएको छ। केही वर्षयता अनलाइन मिडियाको संचालन संस्थागत संरचना र स्वरूपमा हुन थालेपछि यसको विश्वसनीयता र प्रभाव पनि बढेको छ। अनलाइन पत्रकारितामा हाम्रो उपस्थिति पनि अनलाइन माध्यमको विकास, सूचना र समाचारको विश्वसनीयतामा वृद्धिका लागि भएको हो भन्नमा हामीलाई गर्व लाग्छ।

२०७२ असोजमा संविधानसभाबाट संविधान घोषणा भएयता त्यसको कार्यान्वयनको बाटोमा मुलुक छ। त्यसका लागि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएका छन्। अनलाइन पत्रकारिताको छोटो अनुभवका बीचमा हामीले हाम्रा पाठकसमक्ष चुनावी सूचना र समाचार यथासंभव छिटो, विश्वसनीय र सजिलोसँग पुर्‍याउने पर्यत्न गर्‍यौं। चुनावमा मतदाताले आफ्नो उम्मेदवारबारे जानकारी लिने, उनीहरुले पाएका मत सजिलोसँग थाहा पाउने र विजयी भएपछि जनप्रतिनिधिका योजनाहरु थाहा पाउने एउटै ठाउँ थाहाखबर बनेको छ। यसका पछाडिको उत्साह र उत्प्रेरणा निर्धक्कसाथ हामी भन्न सक्छौँ, तपाईं पाठकहरूको विश्वास र माया नै हो।

सत्यतथ्य, सन्तुलित र विश्वसनीय सूचनाको संप्रेषण जस्ता पत्रकारिताको आधारभूत आदर्श र मान्यतालाई हरसंभव पूरा गर्ने प्रयत्न गरेका छौँ। दायित्व निर्वाहका क्रममा हामीले पत्रकारिताका आधारभूत मूल्य, मान्यता र आदर्शलाई विशेष ध्यान दिँदै लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श अनि प्रेस र अभिव्यक्ति स्वतन्त्रताका सीमा र मान्यतालाई पनि उत्तिकै ध्यानमा राखेका छौँ। बोल्न, लेख्न, सुन्न र जान्न पाउने लगायत संविधानले ग्यारेन्टी गरेका नागरिकको मौलिक हक प्राप्तिको पक्षमा हामी निरन्तर पत्रकारिता मार्फत लागिरहनेछौं। 

थाहाखबर निष्पक्ष, सक्रियताको अभ्यास गर्दै छ। हामी निरपेक्ष रूपमा निष्पक्षताको नारा दिएर कसैको पक्षमा लेख्ने काम गर्नेछैनौँ। हामी मुलुकले अँगालेको संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकले अंगीकार गरेका र संविधान, कानुन र ऐनहरूले निर्दिष्ट गरेका विभिन्न मूल्य मान्यताका पक्षपाती हौँ। अल्पसंख्यक, सीमान्तकृत र राज्यको मूलधारबाट बाहिर रहेका वर्ग, समुदाय र क्षेत्रको संविधान प्रदत्त हकको ग्यारेन्टीका लागि हामी निरन्तर क्रियाशील रहन्छौं। तर हामी कुनै व्यक्तिविशेष, वादविशेष, जात, समुदाय, संप्रदायविशेषका पक्षपाती कहिल्यै होइनौँ र हुन सक्दैनौँ।

एक वर्षको यस अवधिमा हामीलाई माया गर्ने पाठक, लेखक, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, विभिन्न क्षेत्रका पेसाकर्मी, व्यवसायी, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति कृतज्ञ छौँ। आगामी दिनमा हाम्रा सामग्रीलाई अझ परिस्कृत गर्ने मात्र होइन, डिजिटल प्रविधिको विकासले दिएका संभावनाको खोजी गर्दै अझै सरल रुपमा सूचना सम्प्रेषण गर्ने जमर्कोमा लागिरहनेछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.