|

काठमाडौं : प्रधानन्यायाधीश नियुक्तिका लागि गत असार ५ गते संवैधानिक परिषदको बैठक बसेको थियो। न्यायपरिषदले हालका कार्यबाहक प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशको रोष्टरबारे बैठकमा छलफल भयो।

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यबाहक प्रधानन्यायाधीश पराजुलीको नाम प्रधानन्यायाधीशको रुपमा सिफारिस गरे। तर प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले उमेर विवाद भएका व्यक्तिमाथि थप अध्ययन गर्नुपर्ने भन्दै निर्वाचन पछि मात्रै संवैधानिक परिषदको बैठक राख्न माग गरेका थिए। ओलीको आग्रहपछि संवैधानिक परिषदको बैठक बिहीबार अपरान्ह ४ बजे सिंहदरबारमा बस्दैछ।

केपी ओलीले कहाँ पुर्‍याए अध्ययन ?

पराजुलीलाई प्रधान्यायाधीश हुनबाट रोक्न जेठ १८ गते अधिवक्ता विकास गिरीले पराजुलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। नागरिकता तथा शैक्षिक प्रमाणपत्र विवादित रहेकाले पराजुलीलाई न्यायाधीशमा सिफारिस नगर्न अन्तरिम आदेशको माग गर्दै गिरीले रिट दायर गरेका थिए। जेठ २५ गते न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त रिट खारेज गरिदिएपछि पराजुलीलाई प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला भयो।

जेठ २५ गते पराजुलीविरुद्ध परेको रिटको सुनुवाई भएपछि न्यायपरिषदको जेठ ३० गतेको बैठकले सर्वोच्चका कायमुकायम प्रधान्यायाधीश गोपालप्रसाद पराजुली सहितका ६ न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गर्‍यो।  बैठकले न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको थियो।

न्यायपरिषद्ले सर्वोच्चको फैसला र ऐनका आधारमा पराजुलीको जन्म मिति वि.सं. २०१० वैशाख १६ गतेलाई कायम गरी पराजुलीको उमेर विवाद टुंग्याएको थियो। यस्तै न्यायपरिषद्ले निवर्तमान प्रधान्‍यायाधीश सुशीला कार्कीले पराजुलीको जन्ममिति २००९ साल कायम गरेको निर्णयलाई अभिलेखबाट हटाउने निर्णय समेत गर्‍यो ।

असार ५ गतेको बैठकमा संवैधानिक परिषदका सदस्य ओलीले पराजुलीको उमेर विवादबारे अध्ययन गर्नुपर्ने माग गरेका थिए। उनले विवादनस्पद व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने विषयमा सहमति जनाउने वा नजनाउने भन्ने विषयमा पार्टीभित्रै संसदीय दलका उपनेता सुवास नेम्वाङसँग परामर्श गरेका थिए। यस्तै कानुनी पाटोमा पार्टी निकटका कानुन व्यवसायीसँग समेत परामर्श गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। 'उहाँले अनौपचारिक छलफल गरिरहनुभएको छ सिफारिसका सम्बन्धमा सहमति जनाउने वा असहमति राख्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुग्नुभएको छैन,' अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भने ।

प्रधानमन्त्री देउवाको हतारो

प्रधानमन्त्री शेरबहादुर देउवा भने पहिलो बैठकबाट नै प्रधानन्यायाधीश सिफारिस गर्ने  पक्षमा थिए। सर्वोच्च अदालत कायमुकायमका भरमा लामो अवधिसम्म चलाउन नहुने उनले बताएका थिए। पहिलो बैठकबाट पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गराउन नसके पनि बिहीबारको बैठकबाटै नै प्रधान्यायाधीश सिफारिस गर्नुपर्ने पक्षमा प्रधानमन्त्री रहेको देउवाका कानुनी सल्लाहकार केशव जोशीले बताए। 'प्रधानमन्त्री सर्वोच्चमा कायमुकायम नेतृत्व धेरै समय राख्ने पक्षमा हुनुहुन्न प्रधानन्यायाधीश सिफारिसकै लागि आजको बैठक राखिएको हो आज सिफारिस हुन्छ होला,' जोशीले थाहाखबरलाई जानकारी दिए ।

प्रधान्यायाधीश सिफारिसका लागि बिहीबार बैठक तोकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजै बिहान डडेलधुराबाट सवा १० बजे काठमाडौँ फर्किएका थिए । सभामुख ओनसरी घर्ती पनि रोल्पाबाट काठमाडौँ आउँदैछिन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.