|

नेपाल पूर्व, पश्चिम र दक्षिण तीनतिर भारत र उत्तर एकतिर चिनद्वारा घेरिएको छ। दुवै मुलुक जनसंख्याका धनी र महाशक्ति राष्ट्रका लागि तीव्र प्रतिस्पर्धी मुलुकहरू हुन्। 

केही दिनयता यी दुई राष्ट्रबीच अनायासै सम्बन्धमा चिसोपन देखापर्दै छ। एकअर्काका सम्बन्धहरूमा दरार पैदा हुँदै छ र एकअर्का मुलुक एकअर्काका संवेदनामा खेल्ने काम गरिरहेका छन्। दुवै राष्ट्रको सम्बन्धमा दरार बढ्दै जाने हो भने नेपाल दुई राष्ट्रबीचको गतिशील पुल बन्न नसके दुई ढुंगाबीचको तरुलझैँ किचिने अवस्था आई नपर्ला भन्न सकिन्न। यही आयामलाई केलाउने प्रयास यस आलेखमा गरिएको छ। 

बहुध्रुवीय विश्व दुई ध्रुवीय हुँदै 
सोभियत रुसको विघटनसँगै विश्व फेरि चिनियाँ र अमेरिकी गरी दुई ध्रुवमा विभाजित भयो। बिस्तारै यी दुई शक्ति आफ्ना साझेदारहरू खोज्दै हिँड्न थाले। यसै क्रममा हाम्रै छिमेकी भारत अमेरिकी कित्तामा पुग्यो भने अर्को छिमेकी चीन आफैँ एक धुरी निर्माण गर्दै छ। विगतमा रुसी र अमेरिकी दुई परका धुरी कायम छँदा कुनै पनि धुरीमा सामेल नभएर असंलग्न आन्दोलनको संस्थापक सदस्य भई दुवैलाई समदूरीमा राख्न सफल नेपालको आज क्षमता परीक्षण हुँदै छ। 

अमेरिकी र चिनियाँ धुरीका बीचमा नेपाल कता?
जब विश्व प्रष्ट रूपमा दुई ध्रुवमा विभाजित भइसकेको थिएन, नेपालको समर्थन भारतलाई थियो। विगत वर्षका सरकारहरूको औपचारिक निर्णय अन्तर्राष्ट्रिय मामलामा हामी भारतको पक्षमा उभिन्छौँ भन्ने लिखित प्रतिवद्धता छ। आजसम्म पनि नेपालको त्यो प्रतिवद्धता फेरिएको छैन। भारत र चीनबीचको तिक्तता बढदै गएको छ। यो सामान्य कूटनीतिक तिक्तताभन्दा पर पुगेको छ। दुई छिमेकी मुलुक युद्धको दिशामा लम्किँदा नेपाल भारतको पक्षमा उभिइराख्ने हो भने चीनले नेपाललाई माया गरिराख्ला? यसो भन्न सकिन्न। 

त्यसो हो भने नेपालले समदूरीको मान्यताको विकास गर्नुपर्दैन? त्यसो गर्ने हो भने विगतको भारतीय पक्षधरतामा परिवर्तन गर्नुपर्छ कि पर्दैन? यसबारेमा सरकार के सोच्दै छ? आजका दिनसम्म जनता बेखबर नै छन्। 

भारत र चिनियाँ चासोबारे 
विगतमा नेपालको चीन र भारतसँगको सम्बन्धको तुलना गर्दा भारततर्फ नै ढल्कियो। भारत आफैँले पनि नेपालप्रतिको माइक्रो म्यानेजमेण्ट गर्नमा कुनै कसर बाँकी राखेन। नेपालको संविधानको मामला होस् वा नेपाली समस्या, जुन कुनै कुरामा भारतले आफ्नो धारणा सार्वजनिक गर्ने र तदनुकूल गर्नका लागि दवाब दिने काम निरन्तर गर्दै आयो। 

भारतको दवाब नौलो थिएन। हिजोदेखिकै मामला थियो तर आज त चिनियाँ पक्ष पनि कान ठाडो र आँखा तीखो पार्न थालेको छ। जब भारत सरकारले नेपालविरुद्ध नाकाबन्दी लगायो, त्यति नै बेला चीनसँगको सम्वन्ध बिस्तारको अवसर नेपालले छोप्यो। अब भारत मात्रै हाम्रा लागि विकल्प रहेन भन्ने प्रष्ट सन्देश दिन कोसिस ग¥यो तर यति हँुदा पनि नेपाल अन्तर्राष्ट्रिय मामलामा भारतको पक्षमा उभिन्छ भन्ने मान्यतामा परिवर्तन गरेको छैन।

हिजो चीनको चासो शून्यप्रायः हुँदा यो बन्दोवस्तले खासै असर पारेको थिएन होला। तर आज चिनियाँ चासो बढ्दै जाने भारतीय एकाधिकारको विकल्पमा चिनियाद्वार पनि खोल्ने इच्छा जाहेर गर्ने र भारत र चीनबीचको तिक्तता युद्धको स्तरमा विकास हुँदा नेपाल भारतको पक्षमा उभिने हो भने नेपाल नेपालकै रूपमा सुरक्षित रहन कठिन हुनेछ।

भुटानको सीमामा चिनियाँ सेनाः भारतको टाउको दुखाइ
दोक्लाम सीमा विवाद यतिबेला गंभीर बनेर गएको छ। यो क्षेत्र भुटान र चीनबीचको सीमा विवादका रूपमा रहेको छ। चीनले सोही क्षेत्रका सडक निर्माण गर्न थालेपछि भारतले आपत्ति जनायो। चिनियाँ जनमुक्ति सेनाले भारतीय सीमामा सडक निर्माणको बहानामा उपस्थिति जनाउँदा भारतले चासो राख्नु स्वाभाविक हो। चीन–भुटान–सिक्किम सिमाना बंगलादेशसँगको सुमधुर सम्बन्धका लागि निकै महत्त्वका विषय हुन्। 

उता, पाकिस्तानसँगको सम्बन्ध भारतको टाउको दुखाइको विषय त छँदै छ। कतिपय मामलामा भारतले आपत्ति जनाउँदा चीनले यो भुटान र चीनको मामला हो, भारतले नाक घुसाउनुको कुनै मतलब छैन भनिरहँदा यतिबेला समस्या गहिरिएर गएको छ। नर्थथुलापास मामला भारत–चीनबीचको पुरानो घाउ कोट्याउने मामला हो। 

नेपाल लामो समय स्वतन्त्र रहेको र दुवै देशका बीचमा समदूरीमा रहने गरेको अवस्थामा एकाएक सत्ता स्वार्थका कारण नेपाल भारतको पक्षमा उभिने संझौतामा हस्ताक्षर गर्दा अब भारत र चीनबीचको सम्बन्ध चिसिँदा नेपाल मारमा पर्ने निश्चित छ। 

दलाई लामाप्रति भारतको संरक्षण चीनको टाउको दुखाइ
स्वतन्त्र तिव्वतका अभियन्ता दलाई लामा भारतमा निर्वासित जीवन बिताइरहेका छन्। यति मात्र होइन, उनले निर्वासनमा ‘गभरमेन्ट इन एक्साइल’ नै गठन गरेर बेलाबखतमा गतिविधि गर्ने र सोको सम्पूर्ण प्रवन्ध भारतले गरिदिने व्यवहार चीनका लागि सह्य हुने विषय होइन। नेपालको बाटो हुँदै तिव्वतीहरू दलाई लामालाई भेट्न अवैध रूपमा नेपाल प्रवेश गर्ने र नेपालको बाटो हुँदै भारत पुग्ने अनि चीनका विरुद्ध गतिविधि गर्ने गरेको प्रष्ट छ।

यस्तो अवस्थामा बेलाबखतमा नेपालका राजनीतिक दलका नेताहरूलाई पनि भारतीय पक्षमा छ भन्ने कुराको विश्वास दिलाउन भारत भ्रमण गराउने काम हुँदै आएको छ। यही क्रममा दलाई लामासँगको भेट गराएर चीनप्रति अविश्वास सिर्जना गराउने काम गरेर एकसाथ नेपाली नेताहरूको विश्वसनीयतामा प्रश्न उठाइदिने र चीनविरोधी कित्तामा हुत्याइदिनेसमेतको काम भारतले गर्ने गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने बेलामा भारत भ्रमण मात्रै गराएको होइन, दलाई लामा सहभागी हुने कार्यक्रममा सहभागी गराएर भारत निकट भएको प्रमाणित गर्ने र चीनविरोधी देखाउने काम एकै साथ भारतले गरेपछि मात्रै देउवालाई प्रधानमन्त्री बन्न मार्ग प्रशस्त भएको भन्ने चर्चा आज पनि नेपालमा हुने गरेको छ।

भारत–चीन द्वन्द्वमा अमेरिकी व्यापार
कतारका विरुद्ध अरब खाडीका मुलुकहरूलाई उचालेर कतारका विरुद्ध नाकाबन्दी गराउने अमेरिकाले कतारलाई करोडौँ डलरको हतियार बिक्री गरेको धेरै भएकै छैन। निकै ठूलो नाफाको व्यापार ठानिएको वोइङ खरिद गर्न छाडेर एयर बस खरिद गर्ने चिनियाँहरूको व्यवहारवाट क्रुद्ध बनेको अमेरिका आफ्नो पिछलग्गु बनेको भारतलाई चीनविरुद्धको युद्धमा सामेल गराउन पाए आफ्नो हतियार बिक्री हुने धुनमा अमेरिका छैन भन्न सकिने अवस्था पनि छैन। 

अमेरिका जेसुकै होस्, आफ्नो व्यापार बढाउन चाहन्छ। सन् २००८ देखियता देखापरेको आर्थिक मन्दीबाट आक्रान्त अमेरिकाको घाटापूर्ति गर्ने दाउमा छ। यसका लागि उसको हतियार बिक्री हुन जरुरी छ, जसका लागि संसारभर साना ठूला युद्ध हुनु अनिवार्य छ। अमेरिका युद्धमा पनि व्यापार देखिराखेको छ। उसको व्यापारिक स्वार्थ एसियामा केन्द्रित हुँदा भारत र चीनबीच युद्धको खतार पैदा भएको छ। 

निष्कर्षः अचानोमा नेपाल
विश्व महाशक्ति अमेरिकाको स्वार्थ यतिबेला भारत र चीनका बीचमा देखापरेको छ। भारत र चीनबीचको तिक्तता युद्धमा विकसित भए पनि, नभए पनि नेपाललाई प्रतिकूल प्रभाव पार्ने निश्चित छ। नेपाल लामो समय स्वतन्त्र रहेको र दुवै देशका बीचमा समदूरीमा रहने गरेको अवस्थामा एकाएक सत्ता स्वार्थका कारण नेपाल भारतको पक्षमा उभिने संझौतामा हस्ताक्षर गर्दा अब भारत र चीनबीचको सम्बन्ध चिसिँदा नेपाल मारमा पर्ने निश्चित छ। 

भारतसँगको उक्त सम्बन्ध यथावत रहन दिँदा कथंकदाचित युद्ध भइहालेमा चीनले नेपाललाई भारतकै दृष्टिमा हेर्दा नेपाल शत्रु राष्ट्रको सूचीमा गणना हुनेछ। स्थिति यति विकास भएको अवस्थामा भारतबाट उक्त समर्थन फिर्ता लिँदा भारतले दिने दुःख कल्पना पनि गर्न नसकिने अवस्थामा हुनेछ। दुवैलाई समदूरीमा राख्न त्यही स्तरको समझदारीसहितको नेतृत्वको खाँचो पर्नेछ। 

समकालीन नेपालमा सो भूमिका निर्वाह गर्ने नेतृत्वको चरम अभाव र संकट दुवै छ। संकटमा नेतृत्वको पहिचान हुनेछ। आशा गरौँ नेपाल यो संकटको घडीमा सो क्षमतायुक्त नेतृत्व विकास गर्न सक्षम हुनेछ। नेपाल सबै खाले खतराबाट मुक्त हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.