|

 

बालाई यतिबिघ्न कुराहरू
थाहा हुँदाहुँदै पनि 
योचाहिँ थाहा भएन कि 
बच्चाहरूले झूट बुझ्छन्।

त्यसैले त बाले सधैँ सफा झूट बोलिरहे। 

मलाई स्कुल ड्रेस किनेर ल्याएको दिन
मैले बाको कमिजमाथि प्रश्न गर्दा
बा भन्थे- 
'बाबू, यो कमिज फाटेको होइन नि!
यसका यति धेरै प्वालहरूबाट 
धेरै हावा छिर्छ र 
तिम्रो बालाई शीतल हुन्छ।' 

मेरालागि गोल्डस्टार जुत्ता ल्याइदिएपछि
बाले भने-
'तिम्रो बालाई 
पैतालामा काउकुती लाग्दा अति मजा लाग्छ 
त्यसैले त म सधैँ खाली खुट्टा हिँड्छु।' 

अगेनो चिसो भएको दिन बा भन्थे-
'कहिलेकाहीँ निराहार व्रत बस्यो भने 
भगवान खुसी हुनुहुन्छ
र हामी सबै निरोगी हुन्छौँ।' 

मलाई खाटमा सुताएपछि 
बा आफू भुइँमा सुत्थे र भन्थे-
'तिम्रो बालाई
खाटमा लचकदार डन्लपमा सुत्यो भने 
एकदम ढाड दुख्छ।'

मलाई साइकल किनेर ल्याएको दिन 
बाले भने-
'मैले वर्षौंदेखि चढ्दै आएको 
यो साइकल बिरामी परेको छ 
त्यसैले म पैदल हिँडेको बाबू।'

मेरालागि खानेकुराहरू ल्याएर 
बाले भने-
'गुँदपाक, रसवरी, मीठाईहरूले 
मलाई कत्ति पनि फाइदा गर्दैनन्।'

मैले छिमेकीको नयाँ घर देखाउँदा 
बा भन्थे-
'यो हामी बस्दै आइरहेको घरमा 
धेरै लच्छिन छ 
त्यसैले मैले अर्को घर नबनाएको।' 

बा मेरो पेट भोको देख्न सक्दैनथे
र साहुको खेत अधियाँ गर्थे 
तर रमाइलो झूट बोल्थे- 
'अरुको नै भए पनि 
जग्गा जमिन बाँझो छोड्यो भने 
अन्नमाता रिसाउँछिन् र हामीलाई श्राप दिन्छिन्।'

बालाई यतिबिघ्न कुराहरू
थाहा हुँदाहुँदै पनि 
योचाहिँ थाहा भएन कि 
बच्चाहरूले झूट बुझ्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.