|

झापाः भारततर्फ निकासी हुने सुपारीको निकासी ठप्प हुँदा सुपारीको अवैध निकासी बढेको व्यवसायीहरूले गुनासो गरेका छन्।

नेपालमै सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाका सुपारी व्यवसायीहरूले करिब तीन वर्षदेखि निकासी ठप्प हुँदा सुपारीको चोरी निकासी बढेको बताएका हुन्। मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा भएको नेपाल सुपारी प्रशोधन तथा निर्यायत व्यवसायी संघको पाँचौँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै व्यवसायीहरूले चाँडो समस्याको समाधान गरी सुपारी भारततर्फ निकासी हुनुपर्ने माग गरेका छन्। 

सुपारी उत्पादक संस्थाहरूको विवादका कारण झापामा उत्पादन हुने ठूलो परिमाणको सुपारी अहिले अलपत्र परेको छ।

सुपारी निर्यात गर्ने अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ पाउने विषयलाई लिएर विवाद भएका कारण किसानले उत्पादन गरेको ठूलो परिमाणको सुपारी अलपत्र परेको बताइएको छ। 

नेपालमै उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र एकलौटी ढंगले वितरण गरेको भन्दै विवाद सर्वोच्च अदालतसम्म पुगेपछि विगत दुई वर्षयता झापामा उत्पादित सुपारी भारत निकासी ठप्प हुँदा कृषक तथा व्यवसायी मारमा परेका छन्।

तीन वर्षअघिसम्म नेपाल सुपारी खेती विकास संस्थाले झापामा उत्पादित सुपारीको उत्पत्तिको प्रमाणपत्र पाउँदै आएको थियो। तर झापाका केही व्यापारीहरूले सुपारी खेतीसम्बन्धी अर्को संस्था गठन गरी उत्पत्तिको प्रमाणपत्र आफूहरूले पनि पाउनुपर्ने माग राख्र्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सुपारी निकासी ठप्प भएको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष शेखरनाथ अधिकारी बताए। 

पहिला किसानले उत्पादन गरेको सुपारी भारत निर्यात नभएको र त्यतिबेला पनि आफूहरूले धेरै संघर्ष गरेर निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र पाएको उनले बताए। भारत निकासी गर्न व्यवसायीहरूलाई अनुमति दिएको तर केही व्यक्तिहरूले संस्था दर्ता गर्ने र अदालतमा मुद्दा हालेको उनले गुनासो गरे। ‘मुद्दा विचाराधीन रहेका कारण अहिले सुपारी भारततर्फ निकासी हुन सकेको छैन’, उनले भने।

उनका अनुसार नेपालमा १४ मेट्रिक टन सुपारी उत्पादन हुन्छ। त्यसमध्ये पनि झापामा मात्र करिव १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ। जिल्लाको बुद्धशान्ति, अर्जुनधारा, मेचीनगरलगायतका ठाउँमा सुपारी उत्पादन हुने गरेको छ।

यस्तै, तीन वर्षदेखि सुपारीको निकासी ठप्प हुँदा चोरी निकासी बढेको मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सुपारी व्यवसायी ध्रुव खनालले बताए। ‘अहिले जताततै सुपारीका चर्चा छ, झापा भारतको खुला सीमा भएको जिल्ला हो’, उनले भने, ‘त्यसकारण अहिले सुपारीको तस्करी मौलाएको छ, यसलाई नियन्त्रण गर्न पनि सुपारीको निकासी सुचारु गर्नुपर्छ।’

उनले जिल्लाबाट दैनिकजसो खुला सीमाको फाइदा उठाउँदै सुपारी तस्करी भइरहेको बताए। ‘लामो समयदेखि सुपारी निर्यात नहुँदा तस्करी बढेको छ। अहिले त अवैधानिक तरिकाले सुपारी तस्करी गर्नेको संख्या बढेको छ’, उनले भने, ‘यसमा सबैले ध्यान दिन जरुरी छ।’ उनले सुपारी निर्यात ठप्प हुँदा राज्यको करोडौँ राजश्व गुमेको बताए। उनले उत्पत्तिको प्रमाणपत्रको विवाद चाँडै समाधान गर्नुपर्ने बताए। 

यस्तै झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष गोविन्द पौडेलले सुपारी निकासी नहुँदा किसान मर्कामा परेको बताए। ‘सुपारी निर्यात गर्ने संस्थाहरूका कारण किसान मार्कामा परेका छन्’, उनले भने, ‘उनीहरूको विवादले किसानको सुपारी बिक्री नभएकाले धेरै समस्यामा परेका छन्।’ स्थानीय बजारमा सुपारी बेच्दा धेरै घाटा हुने उनी बताउँछन्। सुपारी भारत लान नपाउँदा किसानलाई धेरै घाटा परेको र गोदाममा सुपारी थन्किएको उनको भनाइ छ। 

अहिले सुख्खा सुपारी बजार मूल्य प्रति केजी ३१० रुपैयाँ रहेको छ। किसानले उत्पादन गरेको सुपारी तीन वर्षदेखि प्रशोधन केन्द्रहरूको गोदाममै थन्किएको बताइएको छ।

‘समस्या समाधानमा पहल गर्छौँ’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले आफूहरू सरकारसँग सहकार्य गरेर सुपारीको निकासीमा देखिएको समस्या समाधान गर्न लागिपरेको बताए। ‘सुपारी निकासी नहुँदा व्यवसायीलाई मात्रै होइन, किसानलाई झनै धेरै समस्या भएको छ’, उनले भने, ‘अनि राज्यको पनि राजश्व गुमेको छ। समस्या समाधान गर्न वाणिज्य महासंघ लागिपर्नेछ।’ 

उनले नेपालबाट निकासी भएका सामग्रीमा भारततर्फ धेरै दुःख दिने भन्दै यस्तो हुन नदिन सरकारलाई दवाब दिने पनि बताए। उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण हुँदै छ, त्यस बेलामा उहाँले भारतले नेपाली व्यवसायीलाई अनावश्यक दुःख दिन बन्द गर्नुपर्ने कुरा उठाउनुपर्छ।’

महासंघका एक नम्बर प्रदेश अध्यक्ष नरेन्द्र खड्काले सिंगापुरबाट आउने सुपारीलाई निरुत्साहित गर्न सरकार लागिपर्नुपर्ने बताए। ‘सिंगापुरे ब्राण्डको सुपारीले नेपाली किसानलाई सखाप बनाएको छ’, उनले भने, ‘केही तस्करहरूले भने नेपाली सुपारी भन्दै निकासी गरिरहेका छन्, यसलाई निरुत्साहित गर्न सक्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.