|

काठमाडौं : फर्जी प्रतिनिधि सहभागी भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थी समूहले मनोनयन दर्तामा अवरोध गर्न खोजेपछि नेपाल विद्यार्थी संघको महाधिवेशनस्थल कांग्रेस पार्टी कार्यालयमा झडप भएको छ।

सभापति शेरबहादुर देउवा पक्षले शनिबार एकाएक ३ सय जना फर्जी विद्यार्थी थपेको भन्दै रामचन्द्र पौडेल पक्षबाट सभापतिका उम्मेदवार मनोजमणि आचार्यको समूहले  महाधिवेशनस्थल बाहिर विरोध प्रदर्शन गरेपछि झडप भएको हो। महाधिवेशनका लागि पार्टीले गठन गरेको निर्देशक समितिका संयोजक प्रकाशशरण महतले शनिबार ३ सय फर्जी मतदाता थपेको उनीहरुले आरोप लगाएका छन्।  

महाधिवेशनमा मनोनयन दर्ताका लागि आइतबार बेलुका ६ बजेसम्मको समय तोकिएको थियो। तर आचार्य पक्षधर विद्यार्थीको समूहले भित्र प्रवेश गरेर अवरोध गर्न खोजेपछि रोक्दा झडप भएको प्रहरीले जनाएको छ। झडपका क्रममा ५ जना विद्यार्थी र केही प्रहरी घाइते भएका छन्। त्यस्तै झडपकै क्रममा एभिन्युज टेलिभिजनका फोटो पत्रकार किशोर चौधरीमाथि कुटपिट र क्यामेरा तोडफोड भएको छ। घाइतेहरुको ललितपुर सानेपाको स्टार अस्पतालमा उपचार भइरहेको छ।

झडपपछि आइतबारलाई निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको नेविसंघले जनाएको छ। मनोनयन दर्ताको समय सोमबार बिहान ८ देखि ११ बजेसम्मलाई तोकिएको छ। यसअघि रामचन्द्र पौडेल पक्षधर नेविसंघका विद्यार्थीहरुले फर्जी प्रतिनिधि राखिएको भन्दै निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको थियो।

हेर्नुस् फोटोहरु

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.