माननीय न्यायाधीशहरु
मतदाता अदालत,
नेपाल
महोदय,
आज म यथेष्ट प्रमाणसहित यो सम्मानित अदालत समक्ष वारेण्ट पुर्जीसहित धेरै दिनको लखेटाइ पश्चात् साविती बयान दिन उपस्थित भएको छु। राजनीति गर्ने सिलसिलामा मैले जानी जानी गरेका गम्भीर गल्ती देहायबमोजिम छन्।
१. मैले नेपाल र नेपालीको अहित हुने गरी कोही कसैसँग सन्धि सम्झौता गरिन।
२. मैले कुनै विदेशी नेता, विशेष दूत वा राजदूतसँग कुनै पद बार्गेनिङ गर्ने र खुल्ला मञ्च वा अरु मञ्चबाट चर्को राष्ट्रवादी भाषण गर्ने दोहोरो चरित्र कहिल्यै प्रदर्शन गरिन।
३. मैले कुनै वाद विशेष, गुट विशेष, क्षेत्र विशेष, लिङ्ग विशेष, जात विशेष, वर्ग विशेषको अन्ध पक्षपोषण गरिन।
४. मैले कुनै नेता रिझाउन उसले उर्त्र्सजन गरेको अपान वायुको 'वास्ना'को चर्चा गरिन। कुनै नेताको देवत्वकरण गरिन।
५. मैले कुनै धर्म, सम्प्रदाय र भाषाको आडमा आफ्नो राजनीतिको रोटी सेक्ने प्रयत्न गरिन।
६. मैले राजनीतिलाई कमाउ धन्दाको रुपमा बुझिन। राजनीति त्याग, वलिदान र जनसेवा हो भन्ने जीवन पर्यन्त बुझिरहने छु।
७. मैले डनहरु जम्मा गरेर, हुलहुज्जत गरेर आफ्नो राजनीतिक प्रभाव जमाउने प्रयत्न गरिन। भन्सारमा गुन्डा सेटिङ गरेर अकुत सम्पत्ति आर्जन गरिन। यसो गरेर समाज परिर्वतन हुन्छ भन्ने विश्वास जीवनभर नहुने प्रस्ट गर्न चाहन्छु।
८. करोडौं खर्च गरेर, पैसाले मत किनेर चुनाव जितेका सांसदले प्रधानमन्त्री वा मन्त्री जे भए पनि जनताको सेवा गर्न सक्दैन। उसको ध्यान त्यही पैसा बटुल्नमा केन्द्रित हुन्छ भन्ने अटुट विश्वास गरिरहें। जीवनभर यसमा कुनै फेरबदल नआउने ब्यहोरा समेत यो सम्मानित अदालतमा सविनय जाहेर गर्दछु।
९. मैले राजनीतिको नाउँमा निर्दोष जनता बोकेर गुडिरहेको गाडीमा सबै जनता स्वाहा हुने गरी आगो लगाइन। पढाउँदै गरेको शिक्षकको कक्षाबाट थुतेर अबोध विद्यार्थीको सामुन्ने हत्या गरिन। फरक मत राखेवापत पत्रकारलाई जिउँदै जलाइन, गाडिन। त्यस्तो काम गर्न कोही कसैलाई उकासिन।
१०. मैले राजनीतिक क्षेत्रका 'गणेश'हरुको कहिल्यै पूजा गरिन बरु कर्मवीर 'कुमार'हरुको पूजा, प्रशंसा र प्रोत्साहन गरिरहें।
११. मैले नेतालाई शासक र जनतालाई अवाञ्छित भीडको रुपमा कहिल्यै हेरिन। नेता सेवक र जनता मालिक बनाउने अभियानमा दिलचस्पी दिइरहें।
१२. मैले लोकतन्त्र, मानवअधिकार र सामाजिकविरुद्धमा कुनै गतिविधि गरिन।
१३. मैले राजकीय पदमा रहँदा कुनै किसिमको भ्रष्टाचार, कमिसन प्राप्ति वा अन्य कुनै किसिमको द्रव्यमोह देखाइन।
१४. मैले आफ्नो जीवन सधैं सरल, पारदर्शी र जनताले सजिलै पढ्न सक्ने बनाई रहें।
१५. राजनीति गर्ने क्रममा मैले मुखमा कालो पट्टी बाँधेर, बन्दुकको कुन्दा देखाएर र मध्यरातमा टेलिफोनमा धम्क्याएर चन्दा असुली गरिन।
१६. मैले कहिल्यै निषेधको राजनीति गरिन। फरकमतको सम्मान गरिरहें।
१७. मैले नातावाद कृपावादको पक्षपोषण गरिन। 'हाम्रा'लाईभन्दा 'राम्रा'लाई अघि बढाउन प्रयत्न गरिरहें।
१८. जनतालाई चुनावको बेला सम्झने र अर्को चुनावसम्म बिर्सने परम्परा मैले आत्मसात गर्न सकिन।
माथि पेश गरेको विवरण ठीक साँचो हो झुटो ठहरे प्रचलित कानूनबमोजिम सहुँला बुझाउँला।
जानी बुझी यति धेरै अक्षम्य गल्ती गर्ने व्यक्ति कुनै पनि हालतमा आगामी दिनमा नेपालको राजनीति गर्न योग्य हुदैन। त्यसकारण मलाई राजनीतिको लागि पूरै अयोग्य घोषणा गरी पाउँ। आजसम्म मैले राजनीति गर्ने सिलसिलामा उल्लिखित गल्ती गरेर देशलाई के कति हानी नोक्सानी भएको छ, सोको क्षतिपूर्ति मेरो जायजेथाबाट र त्यसले नपुगे मेरा शाखा सन्तानबाट भराराई पाउँ।
श्रीमानको जो आदेश।
नयाँ शक्ति पार्टिको नयाँ प्रचार फण्डा !
निर्मलजी नेताहरुले के के गर्छन भन्नेबारेमा अनुभवी हुनुहुन्छ । त्यसैले भरपूर सत्य उदभोद गरिदिनु भएको हुनसक्छ। उहॉको आत्मानुभूतिका लागि धन्यवाद। केवल एउटा अपवाद। उहॉले नासे बिगारेको हर्जाना शाखासन्तानलाई तिराउन भराउन पाइन्न।
तपाईंको ईमेल गोप्य राखिनेछ ।