|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबारको संसद्‍ बैठकमा नेपालका प्रमुख राजनीतिक घटनाक्रम सम्झिए। उनले सरकार र संवैधानिक निकायहरू स्वतन्त्र र निष्पक्ष नहुँदा प्राप्त उपलब्धि खोसिएको स्मरण गर्दै लोकतन्त्रसँग खेलबाड गरिए विद्रोह हुन सक्ने चेतावनी दिए। 

सम्बोधनका क्रममा ओलीले प्रहरी प्रमुख बढुवा, राप्रपा विभाजन र भरतपुरमा मतपत्र च्यातिएको विषय उठाउँदै राज्यका निकायहरू स्वतन्त्र नभएको टिप्पणी गरे। 'सरकारदेखि निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म 'काली कुत्तिम महाउत्तिम' भएको छ', ओलीले भने।

'काली कुत्तिम महाउत्तिम' उक्तिको व्याख्यामा अध्यक्ष ओलीले एउटा कथा सुनाए। एकजनाले कालो कुत्ता (कुकुर) खायो भन्ने कुरा महाराजसम्म पुगेपछि उनले उक्त व्यक्तिलाई खोजेर कारबाही गर्न लगाए। 'खोज्दै जाँदा कालो कुत्ता युवराजले खाएको भेटियो। उक्त कुरा मिलाउन पुरेत नै चाहियो। पुरेतले भने- काली कुत्तिम महाउत्तिम, शास्त्रमा यही भनिएको छ', संसद्‍ बैठकमा ओलीले सुनाए। 

पुरेतले शास्त्रमा नभएको कुरा भनेजस्तै सत्तारुढ गठबन्धनले भरतपुरमा मतपत्र च्यातिनु ठीक नभए पनि आफ्ना कार्यकर्ताले गरेका कारण सही ठहर्‍याइएको ओलीको आरोप छ। ओलीले प्रहरी बढुवा गर्दा चाकडी नगरेकै कारण सम्बन्धित अधिकारीलाई राज्यले नै खेदेको आरोप लगाए। डिआइजी नवराज सिलवाललाई बढुवा गर्दा अन्याय गरेको संकेत गर्दै उनले भने, 'पहिले एक दुई नम्बरमा परेको छ भनेको मान्छे १२ जनाभित्र पनि नपर्ने, चाकडी पुगेन भन्दैमा राज्यले नै खेद्‍ने?' उनले प्रश्‍न गरे।

त्यस्तै ,राप्रपा विभाजनको विषयमा समेत अदालत स्वतन्त्र नदेखिएको ओलीको संकेत छ। 'पार्टी विभाजन भयो वा भएन भन्ने कुरा होइन,निर्वाचन आयोगले सनाखत पुगेन, समयमै सनाखत आएन भन्दा सर्वोच्च अदालतले सनाखत पुगिसकेको छ, रोक्नु पर्दैन भन्ने' ओलीले भने।

उनले सर्वोच्चले समेत शक्ति पृथकीकरणको सिद्धान्तअनुसार काम नगरेको टिप्पणी गरे। लोकतान्त्रिक मूल्यमान्यता विपरीतका काम गर्दा विद्रोह जन्मिने बताउँदै ओलीले भने, 'क्षणिक लाभका लागि लोकतान्त्रिक मूल्य मान्यता बिर्सनुभएन, यसै १७ साल आएको होइन, ५२ साल यसै आएन, ५९ यसै आएन, ६२/६३ यसै आएन' ओलीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.