|

चितवन : बाढीले बगाएर घाइते भएको दुर्लभ एकसिंगे गैंडाको उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको छ। बाढीले बगाएर पूर्वी चितवनको कुमरोज सामुदायिक वनमा आइपुगेकोे घाइते गैंडाको आज अपरान्ह करिब ३ बजेको समयमा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिए। 

उनका अनुसार अघिल्लो हप्ता चितवनको राप्ती नदीमा आएको बाढीले अन्दाजी १६–१७ वर्षको भाले गैंडालाई बगाएर कुमरोजस्थित चितवन राष्ट्रिय निकुञ्जको जनकपुर पोष्ट नजिकै ल्याएको थियो।

बाढीका कारण गर्धन तथा खुट्टामा गम्भिर चोट लागेको उक्त गैंडाको पशु चिकित्सकको टोलीले उपचार गरिरहेको थियो। ‘हिजोसम्म घाँस खाँदै थियो आज अपरान्ह एक्कासी मृत्यु भयो, पाठकले भने,‘भित्री अंगमा गम्भिर चोट लागेकाले उपचार सफल हुन सकेन।’

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले गैंडालाई बाढीले राप्ती नदीको स्परमा ठोक्याउँदै ल्याएकाले भित्री अंगमा गम्भिर चोट लाग्दा बचाउन नसकेको बताए। 

उनले कुमरोजका स्थानीय र निकुञ्ज अधिकारीहरुको निगरानीमा गैंडाको उपचार चल्दै गर्दा आज मृत्यु भएको बताए। बाढीले बगाएर चितवनमा यसपटक २ वटा गैंडाको मृत्यु भइसकेको छ। 

यसअघि बाढी आएकै दिनको भोलिपल्ट निकुञ्जको पश्चिम क्षेत्र अन्तर्गत अमल्टारीमा एउटा गैंडाको मृत्यु भएको थियो। मृग प्रजातिका ६ वटा जनावर पनि बाढीमा बगेर मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.