१४ किलो बरामद, कहाँ हरायो ८ किलो?

|

काठमाडौं : चिनियाँ व्यापारीसँग २२ किलो सुन बुझ्दा पेम्बा दोर्जे शेर्पाले सोचेका थिए होलान्, 'यी सुनका बिस्कुट काठमाडौंमा बिक्री र दक्षिणी नाका कटाए गोजीमा राम्रै गाँठ आउनेछ।' शेर्पा सुनका बिस्कुटलाई ट्रकमा लुकाएर रसुवाको केरुङ नाका हुँदै लागे काठमाडौंतिर।

शेर्पालाई २२ किलो सुन काठमाडौं भित्रयाउँदासम्म कसैले छेकेन। प्रहरी र सेनाका विभिन्न चेकपोष्ट सजिलै कटाएर विगत दुई वर्षयता बस्दै आएको काठमाडौं टोखा नगरपालिका वडा नम्बर १ सामाखुसीमा रहेको भाडाको कोठामा पुर्‍याए। आठ किलो सुन सम्पर्क व्यक्तिहरुमार्फत काठमाडौंकै विभिन्न स्थान, वीरगञ्ज र भारततिर पठाए भने बाँकी रहेका १४ किलो सुनलाई दुई भाग लगाए। उनले १२ किलो सुनलाई कलेजी रंगको झोलामा राखेर दराजमा 'सुरक्षित' राखे, बाँकी रहेको दुई किलो सुन दराजकै घर्रामा राखे।

शेर्पा ठेगान लगाएको आठ किलो सुन 'गन्तव्य'मा पुग्यो कि पुगेन भनेर सोधखोज गर्न र बाँकी सुनलाई पनि वितरण गर्ने तर्खर गर्न थाले। उनलाई थाहा भएन कि सुनसँगै सुनको 'गन्ध' पनि बाहिरिएको थियो। उक्त सुगन्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकृत र जवानहरुको नाकसम्म पुगिसकेको थियो। सुनको सुगन्ध पछ्याउँदै गएको सीआईबी बुधबार दिउँसो तीन बजेतिर शेर्पासम्म पुग्यो।

बिहीबार शेर्पाले 'सुरक्षित' रुपमा दराजमा राखेको सुन सीआईबीको केन्द्रीय कार्यालयमा पुगिसक्यो भने उनी हाल सीआईबीको हिरासतमा राखिएका छन्।

सीआईबीको हिरासतमा पुगेका २६ वर्षीय शेर्पाले २२ किलो सुन कहाँ कहाँ पुगेको छ र को को संलग्न छन् भन्ने सबै खुलस्त पारे। उनले दिएको सूचनाको आधारमा थप एक किलो सुन धनुषाबाट बरामद भयो। शेर्पाले नै दिएको सूचनाका आधारमा भक्तपुरका ३८ वर्षीय दिपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रवीन खत्री, काठमाडौं बानेश्वरका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, र धनुषाका ३८ वर्षीय दीपककुमार शाह पनि पक्राउ परे। उनीहरु सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

सुन लगायत ६ सय अमेरिकी डलर र १ हजार १९९ चिनियाँ युनान र तस्करीमा संलग्नहरुबाट बरामद भएका मोबाइल, पासपोर्ट, विभिन्न बैंकका एटीएम कार्ड, विभिन्न सामान सहित विभिन्न सामान बरामद भएका छन्। त्यस्तै तस्करीमा प्रयोग गरिएको एक फक्सवागन गाडी र एक स्कुटर पनि बरामद गरिएको छ।

कहाँ गयो ८ किलो सुन?

चीनबाट शेर्पाले काठमाडौं भित्र्याएको २२ किलो सुनमध्ये आठ किलो सुन सीआईबीले बरामद गर्न सकेको छैन। सीआईबीका निर्देशक प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीका अनुसार २ किलो सुन भारत पुगिसकेको सूचना छ भने बाँकी छ किलो सुन काठमाडौंकै विभिन्न ठाउँमा रहेको छ। 'भारत पुगेको बाहेक केही सुन काठमाडौंमै खपत गरेको आशंकामा अनुसन्धान गरिरहेका छौं,' डीआईजी कार्कीले भने, 'समयमा अनुसन्धान र पक्राउ गर्न सकिएन भने कि दक्षिणी नाका कटिसकेको हुन्छ कि गहनामा परिणत भइसकेको हुन्छ।' कार्कीले सुन तस्करहरुको सञ्जाल सक्रिय रहेको बताए। उनले भने, 'सुन नियमित आयात भइरहेको छ र यो सञ्जाल चलायमान छ।'

कार्कीले यो सुन तस्करी काण्डको सम्बन्ध गत पुस महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ३३ किलो सुन तस्करहरुसँग नभएको बताए। उनले यो तस्करका अभियुक्तहरुलाई संगठित अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धानका लागि हिरासतमा लिइएको छ।

सुन तस्करबाट छोटो समयमा धेरै पैसा कमाउने आश पालेकाहरु लाग्ने गरेको प्रहरीको भनाइ छ। त्यस्तै मध्येका थिए पेम्बा दोर्जे शेर्पा लगायतका व्यक्ति।

२२ किलो सुनको मूल्य करिब सात करोड नेपाली रुपैयाँ पर्छ। त्यति धेरै पैसाको सुन हातमा पर्दा पेम्बा दोर्जे शेर्पाले साँचेको सपना अब साकार नहुने भएको छ। उनलाई संगठित अपराधमको मुद्दा लागेको छ। र, प्रमाण प्रहरीको हातमा छ उनी हिरासतमा। संगठित अपराधमा शेर्पा लगायतलाई कम्तीमा ८ वर्ष र बढीमा १५ वर्षको जेल सजायँ हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.