|
तस्विर– रामप्रसाद धिताल

काठमाडौं : वैदिक क्षेत्रका विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायनको ७७ वर्षको उमेरमा निधन भएको छ। पशुपतिनाथस्थित वागमती नदी किनारमा बिहीबार राति उनको निधन भएको छोरी प्रियंवदा काफ्लेले जानकारी दिइन्। श्वासप्रश्वास तथा पाचनप्रणालीसम्बन्धी सामान्य समस्याबाट पीडित कौण्डिन्न्यायन घरमै उपचाररत थिए।

वि.सं.१९९७ मा तनहुँमा जन्मिएका कौण्डिन्न्यायनले त्रिभुवन विश्वविद्यालयबाट वेदान्त तथा साहित्यमा आचार्य तथा संस्कृतमा एमए गरेका थिए। पछि उनले भारत पुगी अन्य दुई विषयमा स्नातकोत्तरका साथै सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वैदिक यज्ञ तथा वेदान्त विषयमा विद्यावारिधि गरेका थिए।

वैदिक शिक्षाशास्त्र विषयमा विद्यावाचस्पति (डीलिट्) उपाधिप्राप्त उनी संस्कृत ग्रन्थ काव्यप्रकाशको व्याख्या गर्ने एक मात्र नेपाली हुन्। कौण्डिन्न्यायन भाषा, आयुर्वेदलगायतका ज्ञाता थिए। नेपाली, संस्कृत र हिन्दी भाषामा उनका चालीसभन्दा बढी कृति प्रकाशित छन्। 

संस्कृत भाषामा काव्यप्रकाश विवृति, कौण्डिन्न्यायन शिक्षा, पाणिनीयशिक्षा, नारदीयशिक्षा, ब्रह्ममीमांसा सूत्र वेदभाषा निघण्डु, वैदिक मन्त्र संग्रहलगायत पुस्तक प्रकाशित छन्। यस्तै नेपाली भाषामा जिम्दो नेपाली भाषा, नेपाली वर्णोच्चारण शिक्षा, वृत्तनक्षत्रमाला, भानुभक्तकृत भाषारामायण छापिएका छन्। कौण्डिन्न्यायनले विभिन्न स्मृति, सूत्र र पुराण नेपाली तथा हिन्दी भाषामा व्याख्या पनि गरेका छन्।

उनले नेपाली भाषामा लेखेको ‘वैदिक धर्म मूल रूपमा' पुस्तक हिन्दु सनातन धर्मको  'इन्साइक्लोपेडिया' नै मानिन्छ। 'वेदांगज्योतिष' ग्रन्थ पनि पूर्वीय ज्याेतिषशास्त्रकाे महत्त्वपूर्ण कृति मानिएको छ।  ६ नै अंगको अध्ययन गरी वेद पढ्ने इच्छानुसार अध्ययन अनुसन्धानमा निरन्तर लागेका थिए। विशेषगरी गुरुमुख गरी शुद्धसँग वेद पढ्नुपर्ने मान्यताका पक्षधर उनी वेद र ब्राह्मणत्वको रक्षाका लागि निरन्तर वकालत गर्दै आएका थिए।

कौण्डिन्न्यायन वैदिक धर्मको रक्षाका लागि निडर भएर आफ्नो भनाइ खरो रूपमा राख्ने गर्थे। वैदिक संस्कार, संस्कृति तथा नेपाली भाषाको अध्ययन अनुसन्धान गर्न उनले निजी रूपमा 'स्वाद्ध्यायशाला' स्थापना गरेका थिए।

कौण्डिन्न्यायनकाे अन्त्येष्टि बिहीबार राति नै भएको छोरी प्रियंवदाले जानकारी दिइन्। उनका पत्नी, पाँच छोरा र दुई छोरी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.