|

काठमाडौं : गाईजात्रा पर्व शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म यो पर्व मनाइन्छ। 

ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यङ्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए। सोही आदेश अनुसार सुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ। 

गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरु गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ-आफ्नो नगर परिक्रमा गराउने र उनीहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने परम्परा रहेको छ।

बसन्तपुरमा पनि गाईजात्राको कार्यक्रम गरिएको छ। बसन्तपुरमा आयोजित गाईजात्राको कार्यक्रममा १ वर्षभित्र आफन्त गुमाएका परिवारका सदस्यहरूले गाई तथा बालबालिकालाई सिंगारेर बसन्तपुर पुगेका थिए। विभिन्न स्थानबाट बसन्तपुरमा भेला भएका मानिसहरूले आफ्ना दिवंगत सदस्यको तस्विर लिएर बसन्तपुर परिक्रमा गरेका थिए। यसरी गाईजात्रामा सहभागी भएर बसन्तपुरको परिक्रमा गर्नाले मृत आत्माले शान्ति पाउने विश्वास अनुरूप यसरी परिक्रमा गर्ने गरिएको हो। 

परिक्रमा गर्ने क्रममा नै गाई बनेर आएका बालबालिकाहरूलाई दान दिएका थिए। गाई बनेर आएका ती बालबालिकाहरूलाई पैसा, फलफूल, वस्त्रलगायतका सामग्री दिने गर्छन्। परिक्रमा सकिएपछि सबै आ-आफ्नो घरमा फर्किएका थिए।

हेरौं बसन्तपुरमा गाईजात्रा कार्यक्रमका फोटोहरू:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.