|

वीरगञ्ज : स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनेर चिनिने पोखरिया नगरपालिकामा २ जना पूर्व सांसदलाई पछार्दै २८ वर्षीय युवक नगरप्रमुख पदमा विजयी भएका छन्। ०६२/०६३को मधेस आन्दोलनको बेला पोखरिया बजारमा टायर बालेर आन्दोलनको समर्थन गरेर राजनीतिमा उदाएका युवक दीपनारायण रौनियार नेपाली जनता दलबाट पोखरिया नगरपालिकाको प्रमुखमा विजयी भएका हुन्।

उनले नेपाली कांग्रेसका पूर्वसांसद तथा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार रामेश्वर रौनियार र नेकपा एमालेका पूर्वसांसद तथा चुनावताका एमाले परित्याग गरी संघीय सामाजवादी फोरम नेपालका तर्फबाट प्रमुखका उम्मेदवार बनेका प्रदुमन चौहानलाई पछि पार्दै विजयी भएका हुन्।

पूर्वगृहराज्यमन्त्री रिजवान अंसारीले नेतृत्व गरेको नेपाल संघीय सामाजवादी फोरमका उम्मेदवार रहेका रौनियारले चुनाव चिह्न नपाएपछि नेपाली जनता दलको पांग्रा चुनाव चिह्न लिएर चुनाव लडेका दीनारायण रौनियार मन्टु ३०२६ मत ल्याएर विजयी भएका हुन्। निकतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोेरम नेपालका पूर्वसभासद् पद्युम्न चौहान २७६७ ल्याएर चित्त बुझाए।

२ जना पुराना राजनितिज्ञको बीचमा ‘मन्टु’ कसरी सफलता पाए?

०६२÷०६३ को मधेश आन्दोलन पछि २०६४मा भएको संविधानसभाको चुनावमा एउटै गाउको २ जना सभासद भए। साविक पोखरिया गाविसबाट एमालेबाट प्रत्यक्षमा प्रदुमन चौहान सभासदमा निर्वाचित भए भने कांग्रेसबाट समानुपातिक तर्फबाट रामेश्वर रौनियार सभासदमा चुनिए। एउटै गाउबाट २ जना सभासद हुदा समेत क्षेत्र र नगरको विकास गर्न नसक्दा जनता दिक्क थिए। तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेता रहेका दिप नारायण रौनियार जहिले पनि विकासको कुरा गर्दर्थे।

भ्रष्टाचारको विरोधमा सधै लागिरहे। स्थानिय निकायमा भएको भ्रष्टाचार र सांसद विकास कोषबाट काम नभएपछि सभासदहरुको विरोध गर्थे। उनको अभियानमा युवाहरुको साथ थियो। स्थानिय निकायमा भएको भ्रष्टाचार र विकासका काम नभएपछि जनताहरु आक्रान्त थिए। मन्टुको कामप्रति विस्वश्त भएर यसपालि उनलाई मत दिएर जिताए।

पोखरिया नगरपालिका वडा नं.५ का छोटेलाल साहले भने यहाबाट २ जना सभासद भएपनि न गाविसको विकास भयो न कहिले जनताको समस्याका बारेमा संविधानसभा भवनमा बोलिदिए। आफनो नातागोता र कार्यकर्तालाई बजेट बाडे विकास भएन। यसपालि पोखरिया नगरपालिकाको विकासको लागि इमानदार र शिक्षित युवकलाई विश्वास गरेर यहाँका जनताले जिताएका छन ,आशा छ अब पोखरिया नगरपालिको विकास हुन्छ।

 मन्टुको राजनीतिमा प्रवेश

०६२/०६३को मधेस आन्दोलनको बेला मन्टु रौनियार जम्मा १८ वर्षको थिए। भर्खरै एसएलसी सकाएर उच्च श्क्षिाको लागि वीरगंज आएका थिए। वीरगंजको घण्टाघरमा मधेशी दलका नेताहरुले घण्टाघर चौकमा अधिकारको लागि गरेको भाषणबाट प्रभावित भएर उनी फेरी पोखरिया फर्केर आन्दोलनको नेतृत्व गर्थे जुन बेला पोखरियामा एमाले र कांग्रेसको गढ थियो।

मधेशी दलका कार्यकर्ता थिएन। उनी २०६९ सालसम्म फोरम नेपालमै रहेर काम गरे पछि पार्टीमा कुरा नमिलेपछि अशोक राईले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेर पार्टीका स्थानिय नेता राजकुमार यादवको नजिक भएर काम गरे।

पछि फोरम नेपालसंग एकता भएपछि संघिय सामाजबादी फोरम नेपालबाट विद्रोह गरेर रिजवान अंसारीले नेपाल संघिय सामाजबादी फोरम गठन गरेपछि मन्टुले त्यही पार्टीमा अहिले आबद्व छन। नेपाल संघिय सामाजबादी पार्टीले चुनाव चिह्न नपाएपछि नेपाली जनता दलका पांग्रा चुनाव चिन्ह लिएर पोखरिया नगरपालिकाको प्रमुखमा विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.