|

महेश्वर अधिकारी

    बारा : बाराको १२ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसक्दा मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले तीन स्थानीय तहको प्रमुख हात पारेको छ। राजपाले प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै हात पारेको छ।

    अध्यक्षमा भोलाप्रसाद गुप्ता २ हजार ४ सय ३८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका विनोदप्रसाद जैसवालले २ हजार १ सय १३ मत ल्याएका थिए।

    यस्तै, उपाध्यक्षमा गीता देवी २ हजार ५ सय ८२ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी पिंकीकुमारी साहले २ हजार २२ मत ल्याइन्। त्यसअघि, राजपाले देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएको थियो।

    राजपाका चन्दनकुमार सिंहले २३३० मतले विजयी भएका थिए। उनका निकतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम पार्टीका उदयप्रसाद यादवले १९४२ मत ल्याएका थिए। त्यस्तै, उपाध्यक्षमा रामपति देवी २१५३ मत ल्याई विजयी हुँदा संघीय समाजवादी फोरमकी चन्द्रकली देवी १८५५ मत ल्याएर दोस्रो भइन्।

    त्यस्तै, परवानीपुर गाउँपालिकामा राजपाले कब्जा जमाएको छ। अध्यक्षमा हरिनारायणप्रसाद साह कानु २६७८ मत ल्याएर अध्यक्षमा निर्वाचित भए भने उपाध्यक्षमा सावित्री देवी २४७१ मत ल्याएर विजयी भइन्। त्यस्तै पचरौता नगरपालिकामा राजपाकी इन्दु कुमारी उपाध्यक्षमा निर्वाचित भइन्। जहाँ अध्यक्षमा संघीय समाजवादी फोरमका रमेश कुमार यादव निर्वाचित भए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.