|

लहान :  संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ७२ वर्षीय राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिका– ३ को वडा सदस्यमा निर्वाचित भएका छन् । 

खसेको सदर मत एक हजार तीन सय ६८ मध्ये यादवले  आठ सय ७२ मत प्राप्त गरेका छन्। उक्त वडामा फोरमकै हरिनारायण यादव नौ सय १८ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्। भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा पर्ने उक्त वडामा फोरमबाट महिला सदस्य हिराकुमारी यादव नौ सय ११ र दलित महिला सदस्य रेखादेवी राम नौ सय १६ मत प्राप्त गरी विजयी भएकी छन्।

भगवानपुर गाउँपालिकामा फोरमबाट अध्यक्ष बेचनप्रसाद यादव, उपाध्यक्ष सीतादेवी यादवसहित १ र ३ मा वडाध्यक्ष जितेको छ र बाँकी रहेका २, ४ र ५ नं. को वडाध्यक्ष नेकपा एमालेको पोल्टामा गएको छ। 

जिसस प्रमुख बन्ने योजना 
तत्कालीन इनर्वा गाउँ पञ्चायतको अध्यक्ष, सिरहा जिल्ला विकास समिति सभापति हुँदै सिरहा क्षेत्र नं. २ को सांसद, विनाविभागीय मन्त्री भएका यादव पुनः एक पटक जिल्ला समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडासदस्य पदमा उठेको स्रोतको भनाइ छ। उनी डा. बाबुराम भट्टराईनेतृत्वको सरकारमा तत्कालीन  मधेशी जनअधिकार फोरमको कोटाबाट मन्त्री बनेका थिए।

सिरहाको कुल १७ स्थानीय तहमध्ये जिल्ला समन्वय समितिका लागि हुने निर्वाचनमा फोरमसँग तीन गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र एक नगरपालिकाको प्रमुखसहित ८ मत रहेको छ । 

जिल्लामा सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्रसँग चार नगरपालिकाका प्रमुख उपप्रमुख, एक गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र एक गाउँपालिकाको अध्यक्षसहित ११ मत रहेको छ भने दुई गाउँपालिका र दुई नगरपालिकामा जितेको एमालेसँग आठ मत रहेको छ।  कांग्रेससँग एक नगर र एक गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी चार मत रहेको छ।

जिल्ला समन्वय समितिको निर्वाचनमा फोरमले प्रमुख पदका लागि माओवादी केन्द्र वा एमालेसँग तालमेल गर्नै पर्ने बाध्यात्मक अवस्था छ।      

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.