|

जनकपुरधाम : धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगरीको रुपमा परिचित जनकपुर उपमहनगरपालिका प्रमुखमा निर्वाचित भएका लालिकशोर साहलाई अबीर माला लगाउनेहरुमा पुराना कांग्रेसी नेताहरु समेत थिए।

नेपाली कांग्रेसका उम्मेदवारले भन्दा दोब्बर मत ल्याएर निर्वाचित भएपछि लालकिशोरलाई बधाइ दिनेहरुमध्ये कतिपयले जय नेपाल भन्दै अभिभावदन गरे। जवाफमा उनले पनि अभ्यस्त ढंगमा जय नेपाल फर्काए। साह ती व्यक्ति हुन् जसले कांग्रेसबाटै राजनीति सुरु गरेर पहिलो संविधानसभा निर्वाचनका मितिसम्म कांग्रेसको कुशल संगठकका रुपमा काम गरे। यद्यपी उनी ०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसकै बागी उम्मेदवार बनेर जनकपुर नगर उपप्रमुख निर्वाचित भएका थिए।

‘मेरा पुराना कांग्रेसी साथीहरुले सहयोग गरेको कुरा नकार्न सक्दिन?’ विजयपछिको प्रफुल्लित मुद्रामा लालकिशोरले भने, ‘ फरक राजनीतिक धरातलको मान्छेहरुले पनि सहयोग गरेका छन् तर सबैभन्दा ठूलो सहयोग भनेको मधेस आन्दोलन अगुवाहरुको जसले आफ्नो अधिकारका लागि आफ्नो आहूति दिए, परिवर्तनको बाटोमा दिशानिर्देश गर्ने परिवर्तनकारीले नै आज मलाई पुनः २६ वर्षपछि पहिले भन्दा पनि आसिम माया र विश्वास दिए।’

जनकपुरका सबै वस्ती, टोल र चोक बजारहरुमा लालकिशोरलाई नचिन्ने कमै छन्। यसअघि पनि उनले सबैलाई अभिभावदन गरिरहेकै देखिन्छन् किनकी कांग्रेसको जब्बड जिल्ला धनुषामा राजपाले दोब्बर मतान्तरले विजयी हुनु कांग्रेसको लागि लज्जास्पद हो। त्यसो त जनकपुरको चरित्र नै राजनीतिक दललाई भन्दा व्यक्तिलाई विश्वास गर्ने प्रकृतिको छ। यसअघिका प्राय निर्वाचनहरुमा बागीले बाजी मार्नु यहाँको विशेषता नै बनेको छ। तर, यसपटक लालकिशोर र उपप्रमुखमा रिता मिश्र झाले कुनै दलका नाममा विजयको माला पहिरिए। उनलाई एउटा इतिहासको निरन्तरता भत्काउने मौका मिल्यो।

जितपछि नगरवासीलाई के भन्नुहुन्छ? भन्ने प्रश्नमा लालकिशोरले भने, ‘मैले भन्नुपर्ने कुराहरु निर्वाचन प्रचार प्रसारको क्रममा पटक–पटक उदघोष गरेको छु। मधेस एउटा आन्दोलनको भूमि अर्थात परिवर्तनको रणभूमि हो, पटक–पटक परिवर्तनको लागि महाभारतको सुरुवात यहीँबाट भएको छ, पहिलो, दोस्रो र तेस्रो मधेस आन्दोलनले जनकपुर जस्तो मिश्रित समाजमा थोरै भए पनि चोट पैदा गरेको छ। यही चोटलाई आयुर्वेदिक औषधी खुवाएर बिना साइडइफेक्ट उपचारमा सक्रिय रहन्छु।’

एक से एक लोकतान्त्रिक अगुवाहरु जन्माएको, हुर्काएको जनकपुरमा कांग्रेसले लज्जास्पद पराजय भोग्यो। धनुषामा १४ जना सांसद तथा कांग्रेसका वरिष्ठ नेताहरु विमलेन्द्र निधि देखि आनन्दप्रसाद ढंगाना र मन्त्रीहरु महेन्द्र यादव तथा रामकृष्ण यादवलाई समेत तीनछक पार्‍यो, यो जनकपुर नगरीले।

जनकपुरले ६० वर्षदेखि सधैं कांग्रेसको बागीलाई विश्वास गर्दै आइरहेको छ। २०४९ सालमा लालकिशोर पनि कांग्रेसको बागी उम्मेदवार हुँदा विजयी भएका थिए। विद्यार्थीकालदेखि नै कांग्रेस राजनीति सुरु गरेका लालकिशोरका कतिपय वाणीमा कांग्रेसी मुद्दाको प्रभाव झल्कन्छ। मधेस केन्द्रित राजनीति गर्ने दल राजपामा रहे पनि उनले सामाजिक सद्भाव र एकअर्का समुदायबीचको सांस्कृतिक सम्बन्ध आफ्नो प्राथमिकतामा रहने बताएका छन्।

चुनाव प्रचार–प्रसारको क्रममा पनि लालकिशोर साम्प्रदायिक र जातीय छनक दिने भाषा र शैलीमा प्रस्तुत भएनन्। त्यसैले पनि उनले आर्जन गरेको करिब २२ हजार मतको अर्थ सबैको मन जितेको प्रमाण हो। ‘मलाई के पहाडिया के मधेसी सबैले मत दिनुभयो, सबैलाई धन्यवाद भन्न चाहन्छु’ राजपाका प्रवक्ता समेत रहेका उनले भने, ‘अब मैले मेरो दलको मात्र होइन, सबै जनकपुरवासीको कुरा ध्यानमा राखेर काम गर्छु।’

जनकपुरलाई सांस्कृतिक रुपमा नमूना सहर बनाउने र मधेसका अधिकारहरुलाई केन्द्रमा स्थापित गर्न आफू सधैं सक्रिय रहने बाचा गरेका लालकिशोरका लागि अबका दिन कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ।

को हुन् लालकिशोर?

२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनकपुरमा नेपाली कांग्रेसका उपप्रमुखमा उम्मेदवार दिगम्बर राय टिकट दियो। लालकिशोरले बागी उम्मेदवारी दिए र विजयी भए।

महोत्तरीको जलेश्वरस्थित लचमु विद्यालयमा कक्षा ८ मा पढ्दापढ्दै राजनीतिमा लागेका लालकिशोर  प्रजातन्त्रका लागि कांग्रेसले गरेको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका थिए। अधिकार माग्दा पक्राउ परेपछि नेपालमा प्रजातन्त्र प्राप्त नभएको महसुस गर्दै उनी राजनीतिमा सक्रिय भए। सीमावर्ती क्षेत्र महोत्तरीको मटिहानी संस्कृत विद्यालयमा अध्ययनरत कामेश्वर कुशेश्वर आन्दोलनमा मारिएपछि झन् लालकिशोर अधिकारका लागि राजनिति मै लाग्नुपर्नेमा विश्वस्त भए।

सत्याग्रहमा २ वर्ष जेल बसेका लालकिशोरले २०३८ र २०४२ को आन्दोलनमा पटक–पटक गरी ५ वर्ष जेलमा बिताए। २०४२ सालमा जलेश्वर कारागारबाट प्रहरीले पदम लामा र लालकिशोरलाई हत्या गर्न बाहिर निकालेको लालकिशोर सम्झिन्छन्। 'पदम मरिए तर म जोगिएँ', उनले भने 'पदमको हत्या हुदा आफू पनि मरिने त्रास थियो। हातमा हतकडी लागेको बेला मृत्युको मुखबाट फर्किएँ।'

साहले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको राजनीति गर्दै जनकपुरको राराब क्याम्पसमा स्ववियू उप–सभापति समेत भए। साह पछिल्लो मधेस आन्दोलन हुँदा २०६२/०६३ मा नेपाली कांग्रेस परित्याग गरी सद्भावनामा प्रवेश गरेका थिए। प्रजातन्त्रको लडाइँसँगै मधेस आन्दोलनमा लागेको स्मरण सुनाउँदै लालकिशोरले भने  'पदमा बस्न होइन काम गर्न आएको छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.