|

पर्वत : कालीगण्डकी नदीमा पानीको बहाव घटेसँगै जलयात्रा (र्‍याफ्टिङ) गर्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमन शुरु भएको छ। वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि कालीगण्डकीमा स्वदेशी र विदेशी पर्यटकहरु जलयात्रामा अाउन थालेका छन्।

कालीगण्डकी जलयात्राका लागि अहिले दैनिक दुईदेखि चार समूहसम्म जलयात्रीहरु आउने गरेका छन्। पर्यटकहरुले पर्वतको कुश्मा नगरपालिका– १ पाङस्थित मालढुंगा र नयाँ पुलदेखि स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनासम्म हुने जलयात्रा र पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा गरिने पदयात्रा 'प्याकेज' कार्यक्रममा पर्यटन व्यवसायी उत्साहित छन्।

लामो, समथर र कम बहाव भएको कारण छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदी विदेशीबाहेक धेरै आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गरेको स्विसा र्‍याफ्टिङ एण्ड ट्रेकिङ टुरिज्म कम्पनी पोखराका सञ्चालक देव रेग्मीले जानकारी दिए।

कालीगण्डकीमा गरिने जलयात्रालाई तीन दिनको प्याकेज बनाइएकाले जलयात्रा गर्नेहरुको चाप देख्ने गरिएको छ। जलयात्रामा आएका पर्यटकलाई कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, विभिन्न वनस्पति, जलचर र प्रदूषणरहित हावापानीले उनीहरुलाई लोभ्याउने गरेको छ। विभिन्न देशमा जलयात्रामा सहभागी भएका अष्ट्रेलियाली, इजरायली तथा अमेरिकी पर्यटकले अन्य देशको जलयात्रा भन्दा नेपालको र त्यसमा पनि कालीगण्डकी नदीको जलयात्रा विशेष रहने बताउने गरेका छन्।

पछिल्लो समय कालीगण्डकी नदीमा जलयात्रा गर्नेहरुको चाप बढे पनि धौलागिरी अञचलमा नै जलयात्रा र पदयात्रा गराउने व्यवसायी नभएका कारण पोखराका पर्यटन व्यवसायीहरुले नै जलयात्रीहरुलाई यस क्षेत्रमा ल्याउने गरेका छन्।

कालीगण्डकीलाई जलयात्राको केन्द्रबिन्दु बनाउन  विभिन्न ठाउँमा रहेका ठूला ढुंगा हटाउनुपर्ने, रातमा बस्ने ठाउँहरुमा विषेश भौतिक संरचना निर्माण गर्नुपर्ने लगायतका अन्य पूर्वाधारहरुको विकास गर्नु आवश्यक रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.