वीरगञ्ज : आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले माग गरेको म्यादी प्रहरीमा मधेसी महिलाको आकर्षण बढेको छ। गृह मन्त्रालयले असोज २५ गतेदेखि ३० गतेसम्म म्यादी प्रहरीमा भर्नाको लागि आवेदन माग गरेको ४ दिनमै पर्सामा करिब १५ सय महिलाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयको भर्ना छनोट समितिले जनाएको छ।
हालसम्म साढे ५ हजारले आवेदन दिएकोमा १५ सय जना महिला रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए। केही बर्षअघिसम्म खेतीपाती र घरायसी काम मै सीमित रहेका मधेसी महिलाहरु म्यादी प्रहरीमा भर्ना हुनुले उनीहरु घरबाहिर कामको खोजीमा निस्कने प्रचलन सुरु भएको देखाएको छ।
दीपावली तथा छठ पर्व नजिकिए पनि पर्वलाई वेवास्ता गर्दै म्यादी प्रहरीमा आवेदन दिन युवकयुवतीहरु वीरगञ्ज धाएका छन्। बेरोजगार बस्नुभन्दा दुई महिना भए पनि काम सरकारका लागि काम गर्ने पर्सा मधुबनीकि बबिता तिवारीले बताइन्। जिल्ला प्रहरी कार्यालय पर्साले कात्तिक ३० गतेसम्ममा थप १ हजारभन्दा बढी महिलाहरुको आवेदन पर्नसक्ने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।