|

लहान : स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको करिब महिना दिनपछि सिरहाका दुई स्थानीय तहमा पुनः मतगणनाको मागसहित उच्च अदालत जनकपुर राजबिराज इजलासमा रिट परेको छ। एक गाउँपालिकाको उपाध्यक्ष र एक नगरपालिकाको वडाध्यक्ष पदमा पुनः मतगणनाको माग सहित रिट परेको हो।

अर्नमा गाउँपालिकाको उपाध्यक्ष तथा गोलबजार नगरपालिका– २ का वडाध्यक्षको पुनः मतगणना गराउन माग गर्दै रिट दायर भएको हो। रिटमा जिल्ला निर्वाचन कार्यालय सिरहा, स्थानीय तह निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालय र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाइएको छ।

अदालतमा रिट परेको स्वीकार्दै जिल्ला निर्वाचन कार्यालय सिरहाकी निर्वाचन अधिकारी इन्दिरा यादवले दुवै मतगणनाको कागजातहरु अदालतमा बुझाउने जानकारी दिइन्। ‘सबै कागजात बुधबार अदालतमा बुझाउँदैछौं,’ निर्वाचन अधिकारी यादवले भनिन्।

अर्नमा गाउँपालिकाका निर्वाचन अधिकृत दिलिपराज पन्तले असोज २ गते मतदानपछि भएको मतगणनाको अन्तिम नतिजा घोषणा गर्ने बेलासम्म पनि कुनै दलले मतगणनाको विषयमा असहमति जाहेर नगरेपछि निर्वाचनमा सहभागी दलका प्रतिनिधिहरुको उपस्थितिमा कानुनी प्रक्रिया पु¥याएर नतिजा घोषणा गरिएको बताए।

‘मतगणना परिणामको विषयमा चित्त नबुझे अन्तिम नतिजा घोषणा भएको १५ दिनभित्र अदालत जान पाउने व्यवस्था छ,’ पन्तले भने, ‘अदालतले माग गरेका कागजातहरु जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउला, हामीले आफ्नो जिम्मेवारीमा भएका सबै कागजातहरु निर्वाचन कार्यालयमा बुझाइसकेका छौँ।’

उपाध्यक्षमा १ र वडाध्यक्षमा ३ मतको अन्तर

सिरहाको अर्नमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा १ र २ नं. वडाको वडाध्यक्षसहित प्यानल नै नेकपा माओवादी केन्द्रले जितेको छ। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरी निकटतम प्रतिद्वन्द्वीभन्दा २ सय २७ बढी मत ल्याएर विजयी भएका थिए। उपाध्यक्षमा भने माओवादीकै शिवसती मुखियाले एमालेकी रामकुमारी महतोलाई मात्र १ मतले पराजित गरेकी थिइन्।

त्यस्तै गोलबजार नगरपालिकाको २ नं. वडामा पनि माओवादी केन्द्र नै विजयी भएको छ। वडाध्यक्षबाहेक खुला, महिला र दलित महिला सदस्य पदमा १ सयभन्दा बढी मतको अन्तर भए पनि वडाध्यक्षमा माओवादीका लक्ष्मण साहु तेलीले एमालेका सुकदेव सिंहलाई मात्र ३ मतले पराजित गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.