|
प्रतीकात्मक तस्विर

पाल्पा : सदरमुकाम तानसेन नगरपालिका–१४ अर्गलीका दलित समुदायले उत्पादन गरेको दूध डेरीमा बिक्री हुँदैन। दलितले ल्याएको दुध छोइने र खान नहुने भन्दै कथित उपल्लो जातीले अस्वीकार गरेपछि डेरीमा दुध खरिद गर्न नमानेको स्थानीय दलित समुदायको गुनासो छ। 

अर्गलीको रनुवाकी लक्ष्मी विकले आफुले दूध ल्याउँछु भनेर डेरीमा गएर सोध्दा तिमिहरुको लागि यो डेरी नभएको भन्दै छुट्टै डेरी सञ्चालन गर्न जवाफ दिएको बताइन्। सोही ठाउँकी गीता बोमरेलले आफूले पनि दूध ल्याउँछु भनेर सोधेको र विभिन्न बहानामा नल्याउन भनेको गुनासो गरिन्। ‘चार माना दूध दिने लैनो भैँसी छ अलिकति भए पनि बिक्री गर्न पाए घरखर्च चल्थ्यो, उनले भनिन्, ‘नजिकको डेरीले लिन मान्दैन, महि मथेर फाल्ने गरेकी छु।’

करिब ६ वर्ष पहिले अर्गलीमा स्थापना भएको और्व दूध उत्पादक समूहले अर्गली बजारमा सञ्चालन गरेको डेरीमा दलित समुदायले उत्पादन गरेको दुध लिइँदैन । दलितले छोएको खान हुँदैन भन्ने पुरानो सोंच अझैपनि कायम रहेकोले आफूहरु मर्कामा परेको उनिहरुको गुनासो छ । दलितको दूध मिसाए गैरदलितले नखाने भनेपछि यो अवस्था आएको हो।

डेरी सञ्चालक समितिका अध्यक्ष राधाकृष्ण भट्टराईले दलितले ल्याएको दूध मिसाए स्थानीयले नखाने भनेको कारण उनीहरूको उत्पादन नलिएको स्वीकार गरे। दूध बिक्री नभए व्यापार घाटामा जाने भन्दै अरु सदस्यले नमानेको उनले बताए।  ‘दूध बिक्दैन, व्यापार घाटामा जान्छ’, उनले भने, ‘अनि घरमा भएका लैना गाईभैँसी कहाँ लैजाने?’ यद्यपि दूध मिसाउने वा नमिसाउने भन्ने विषयमा छलफल गरिरहेको र आगामी साधारणसभाले यसको टुंगो लगाउने उनले बताए।

दलित अधिकारका लागि साझा अभियान पाल्पाका सचिव रतनकुमार विकले दलित भएकै कारण डेरीले दूध नलिनु सामाजिक अपराध भएको बताए। दलित भएकोले समाजमा व्यवसाय गर्न नपाउनु अमानवीय भन्दै उनले विभेद गर्नेलाई कारबाहीको माग गरे।
 
तानसेन नगरपालिका–१४ का वडाध्यक्ष कमल रानाले जातीयताकै कारण दुध लिन्नौ भन्न नमिल्ने बताए। समाजमा यो परम्परा अन्त्य गर्न समय लाग्ने भन्दै समस्या समाधानका लागि पहल गरिरहेको बताए। डेरी सबैको साझा बनाए वडाबाट बजेट विनियोजन गर्ने पनि उनको भनाइ छ। अर्गलीमा संकलन भएको दूध दैनिक तानसेनमा बजारमा बिक्री हुने गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.