|

वीरगञ्ज : नेपाल–भारत मुख्य नाका वीरगञ्जबाट पूजाका सामग्री तथा तिहारको मसला आयातमा झण्डै दोब्बर वृद्धि भएको छ। गत वर्षको दसैंतिहारभन्दा यसवर्ष दोब्बर परिमाणमा पूजा तथा त्यससँग सम्बन्धित सामग्री आयात भएको हो।

गतवर्ष साउन, भदौ र आसोजमा भित्रिएको भन्दा यसवर्ष सोही अवधिमा १.८ प्रतिशतका दरले वृद्धि देखिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। गतवर्ष यसअवधिमा ३२ करोड २ लाख ६८ हजार मूल्य बराबरको पूजा तथा मसला भित्रिएको थियो। चालू आर्थिक वर्षको असोज ३१ गतेसम्ममा ५८ करोड ६० लाख ४९ हजार मूल्य बराबरको सामग्री भित्रिएको छ।

गत वर्षभन्दा यसवर्ष आयातमा वृद्धि हुने सामग्रीहरूमा काजु, बदाम, ओखर, पिस्ता, सुपारी, अञ्जिर, किसमिस, दालचिनी, ल्वाङ्ग छन् भने सयपत्री पूmल, छोहरा र सुकमेल गत वर्षभन्दा कम भित्रिएको छ। पूजाको सामान आयातमा वृद्धिसँगै राजस्व संकलनमा पनि दोब्बरले वृद्धि भएको छ। गत वर्षको सुरुको तीन महिनामा पूजाको सामान आयातबाट ७ करोड, २५ लाख, २५ हजार राजस्व सङ्कलन भएकोमा यस चालू आ.व.मा १४ करोड, ५४ हजार, ४७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी यादवले बताए ।

गतवर्ष सयपत्री फूल  ४३ लाख ४१ हजार बराबरको करिब १ लाख १४ हजार भित्रिएकोमा यस वर्ष १९ लाख, ८६ हजार मूल्य बराबरको ७३ हजार ८ पिस मात्रै फूल भित्रिएको छ। छोहरा गत वर्ष एक करोड ८६ हजारको भित्रिएको थियो भने यस वर्ष साढे ६३ लाखको मात्रै भित्रिएको छ।

त्यसैगरी सुकमेल गतवर्ष करिब डेढ करोडको भित्रिएकोमा यस वर्ष १ लाख ६१ हजारको मात्रै भित्रिएको भन्सार कार्यालयले जनाएको छ। सुकमेलको आयातमा भारी गिरावट आएको छ। यसले सुकमेल अन्य नाकाबाट वा तस्करीमार्फत् भित्रिइरहेको संकेत गरेको सूचना अधिकारी यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.