|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग चुनावका बेला एमालेले पैसा लिएको भन्ने आरोपको खण्डन गरेका छन्। एनआरएनएको नवनिर्वाचित कार्यसमितिको स्वागतमा गौशालामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्मेलनका क्रममा एमालेका नेताहरुको नाम जोडेर पैसा लिएको भन्दै आएको समाचारको खण्डन गरेका हुन्।

ओलीले नवनिर्वाचित अध्यक्ष भवन भट्टलाई भने, 'नेपालमा राम्रा मान्छे मात्रै छैनन्, यो एमालेको बदनाम गर्ने उद्येश्यका लागि चर्चा गरिएको हो। कसैलाई पैसा दिनुभएको छ भने फिर्ता माग्नुस्।' अध्यक्ष ओलीले यसपटक पार्टीले भवन भट्टलाई अध्यक्षमा समर्थन गरेको बताएका थिए।

उनले भने, 'नेपालमा एउटा परिवार दल छ। एनआरएनएमा परिवार हुनुहुँदैन भनेर भट्टलाई समर्थन गरेका हौँ। शेष घलेलाई दुईचोटी समर्थन गर्‍यौँ, तर यसपाली श्रीमतीलाई अगाडि सारेकोले समर्थन गर्ने अवस्था रहेन।'

गौतमबुद्धको जन्मथलोबारेको भ्रम चिर्न सुझाव

उनले एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई गौतमबुद्धको जन्मस्थलबारे छरिएको भ्रम चिर्न भूमिका खेल्न आग्रह गरे। विभिन्न देशका पाठ्यपुस्तकमा समेत गौतम बुद्धको जन्मस्थल भारतमा रहेको उल्लेख भएकोले त्यसलाई सच्याउन भूमिका खेल्नुपर्ने उनको सुझाव छ। 'गौतम बुद्ध भारतमा जन्मेको भनेर कतिपय देशमा पढाइन्छ, गौतम बुद्ध जन्मेका बेला भातर भन्ने देश नै थिएन,' ओलीले भने।

उनले त्यतिबेला भारत वर्ष रहेको तर त्यसलाई भारत देशका रुपमा बुझ्न नहुने बताए। उनले अघि भने, 'लुम्बिनी भन्ने ठाउँ कहिल्यै पनि भारतमा पर्दैनथ्यो, कपिलवस्तु तिलौराकोट नेपालमा थियो।'

'नेपाल बुद्धको जन्मथलो हो र बुद्धत्वको सुरुवाती थलो हो,' ओलीले भने, 'यो तथ्यलाई मोडेर विश्वभर गरिएको कुप्रचारलाई चिर्न काम गर्नुस्।'

उनले गैरआवासीय नेपाली संघले साझा संस्थाको रुपमा काम गर्नुपर्ने सुझाव दिए। त्यस्तै एनआरएनएले निर्माण, रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक र राज्यको आयस्रोत बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.