|

उदयपुर : तिहारको मौका छोपी जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्षसहित ३० जना जुवाडे पक्राउ परेका छन्। उदयपुरको रौतामाई गाँउपालिका वडा नम्वर ८ का वडाध्यक्ष टेकबहादुर बलम्पाखी मगर गएराति जुवाको खालबाट पक्राउ परेका छन्। मगर नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। वडा अध्यक्ष मगर रहेको खालबाट ८६ हजार नगद र कौडासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए। त्यसक्रममा १० जना पक्राउ परेका छन्।

सो खालबाट पक्राउ पर्नेमा त्रियुगा नगरपाकिलाका ७ बस्ने जगत मगर, रौतामाई गाउँपालिका ७ का भीमबहादुर मगर, वडा नम्बर ८ का टंकबहबादुर मगर, त्रियुगा नगरपालिका १६ बस्ने उपेन्द्र मगर, रौतामाई गाउँपालिका ७ बस्ने धर्म तामाङ, सविन आले, नारायण राय, त्रियुगा नगरपाकिला १६ बस्ने देवबहादुर मगर, खड्गबहादुर मगर र  रौतामाई ७ बस्ने अनिल थापा परेका छन्।

यसैगरी प्रहरीको विशेष टोलीले त्रियुगा नगरपालिका ११ स्थित गाईघाट बजारबाट पनि अर्को एक टोलीलाई नियन्त्रणमा लिएको छ। तास खेलिरेहेको भन्ने सूचनामा चेकजाँच गर्दा २ लाख ७२ हजार ९ सय ८०, कौडा ३२ थान, तास ६ सय ८७ पिस, मोबाइल २१ थान, राष्ट्रिय वाणिज्य बैंकको एक बुक चेक बरामद् गरेको एसपी भट्टले बताए।

त्यसक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का जीवन पाण्डे, राम खड्का, किरण पाण्डे, वडा नम्बर ११ मा दिपेन राई, उदयकुमार कार्की, बिएन राई, रमेश बुढाथोकी, टामेन्द्र राई, डम्बर राई, भविन्द्र राई, राजु तुलाधर, चुडामणि राई, विन बस्नेत र सुमन्त कोइराला, वडा नम्बर २ का विश्व राई र सुनिल राई, वडा नम्बर ८ का हरि बस्नेत तथा वडानम्बर ५ का पृथ्वी राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

चाडबाड सुरु भएसँगै प्रहरीले निगरानी बढाएको छ। दसैंका तास खेलिरहेको अवस्थामा पक्राउ परेका केही व्यक्तिलाई प्रहरीले फेरि गल्ती नगर्ने शर्तमा छाडेको थियो। जुवा ऐन २०२० अनुसार जुवा खेलेमा पहिलो पटकलाई दुई सयसम्म जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि ३ महिनासम्म कैद तथा तेस्रो पटकमा १ वर्ष कैद हुने व्यवस्था छ।

पक्राउ पर्नेमा अधिकांश विभिन्न राजनीतिक पार्टीका कार्याकर्ता छन्। कार्यकर्ता नै पक्राउ परेपछि छुटाउनको लागि जिल्ला प्रहरी कार्यालयमा नेताहरुको बिहानैदेखि नेताहरुको भीड छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.